नारीको जीवन, किन सधैँ दोमन

नारीको जीवन, किन सधैँ दोमन

नेपालीमा एउटा उखान छ, गुन्द्रुक पकाउनु पर्दैन साली फकाउनु पर्दैन । तिनै भेनाका कारण बर्बादी भोगिरहेकी नारी हुँ । युवती बेचिनका लागि मुम्बई र दिल्लीको कोठीमै पु¥याइनु नपर्दाे रहेछ । आफ्नै घरबाट, आफन्त भनाउँदाबाटै बेचिँदा रहेछन्, नगदी र हातहातीमै । हो, म पनि बेचिएँ आफ्नै भेनाबाट । भिनाजु, मेरा दिदीका लागि आस्था, भरोसा, विश्वास र प्रेमको पात्र होला तर मेरा लागि ऊ घृणा गर्न पनि नालायक पात्र हो । पात्र एउटै हो तर त्यही पात्र कसैको नजरमा असल ठहरिन्छ, कसैको नजरमा खराब ।

तिनै भेनाका रहरहरू पूरा गर्ने नाममा म फुल्न नपाउँदै कोपिलामै चँुडिएँ र भएँ घर न घाटकी । जगतको जग भर नै भरको हुनुपर्ने थियो तर उल्टो छ यहाँ, भरको होइन डरको संसार निर्माण भएको छ । आफ्नो बनेर छुरा हान्नेहरूको के कुरा गर्नु ? मान्छेको भरोसा मान्छेप्रति नै छैन यहाँ । जोमाथि आँखा चिम्लेर विश्वास ग¥यो, उसैले जब खेल्यो मेरो भविष्यमाथि त्यही दिनदेखि ऊ मेरो नजरबाट कहिल्यै नउठ्ने गरी गिरेको छ । भुइँमा चिप्लेर लडे त उठ्न सक्छ, उठेर वामे सर्दै हिँड्न पनि सक्दो हो मान्छे तर जब खस्छ नि नजरबाट कहिल्यै उठ्न सक्दैन रहेछ ।

आमाको कोखबाट जन्मिए तीन दिदी बहिनी । म कान्छी, म पछि छन् दुई भाइ । जेठी दिदीको शरीर हेर्नलायक थिएन । शरीरभरि दुबी (एक किसिमको सेतो दाग) आएको थियो । बुवा–आमा भन्नुहुन्थ्यो कसले लैजाला यसलाई ? शिक्षा दीक्षाभन्दा बढी उहाँहरूको चिन्ता विवाहवारीकै । जसोतसो दिदीको विवाह भयो । तर, घर जम्न सकेन । बिरालाले बच्चा पाएझैँ चार वर्षमा तीन वटा सन्तान जन्मे । नुवाकोटको मूलाबारी भन्ने ठाउँमा दिएको थियो दिदीलाई । यस क्षेत्रका अधिकांश युवा रोजगारीका लागि भासिने ठाउँ भनेकै भारतको गढुवाल । विवाहपछि परदेश गएका भिनाजु सम्पर्कविहीनझैं भए । बीच बीचमा परदेश जाने र घर फिर्ने गरिरहेको भिनाजु १० वर्ष भयो सम्पर्कविहीन भएको ।

रोजगारीको सिलसिलामा गढुवाल गएको भिनाजुको खबर अत्तोपत्तो के छ ? केही जानकारी छैन । धेरै टाढा होइन, नलगाऊँ र नुवाकोटको मुलावारी । दिदी सायदै माइती आउँथी । विवाहपछि बच्चाको लालन, पालन, घर व्यवहारका कारण ऊ थिचिएकी थिई, त्यहीमाथि भेना सम्पर्कविहीन हुँदा पीडाबाट गुज्रिएकी । केही विशेष चाडपर्व तिज, भाइटीका, आमाको मुख हेर्ने औंसी यस्तै चाडपर्वमा हो दिदीसँग भेटिने तर आउन नपाई घर फर्कनै हतारिन्थी । यी चाडपर्वबाहेक समयमा सायदै दिदीले माइतीमा खुट्टा टेकी । स्कुल बिदा भएको छेको पारेर समय काट्न पुग्थें उस्कोमा । गहभरी आँशु पार्थी । दुःखको पहाड ओकल्थी । उसको गुनासो हुन्थ्यो, बुवाआमाकै कारण आफू नराम्रो केटाको फन्दामा परेको र दुःख भोग्नुपरेको । मन त्यसै त्यसै हुँडलिन्थ्यो, कुँडिन्थ्यो । दिदीको दर्दका कहानी सुन्दासुन्दै आँखा टिलपिल हुन्थ्यो । दुबै सँुकसुकाउँथ्यौं र दिदी सल्लाह दिन्थी, तँ त पढेकी, राम्री पनि औधी छस्, जहाँ पायो त्यहीँ हाम नफालेस् ।

घर फर्कंदा दिदीको सकसले मन भारी हुन्थ्यो । ९ कक्षा पढ्दा पढ्दै माइली दिदीको पनि विवाह भयो । नुवाकोटको चौघडा भन्ने ठाउँमा । उनीहरूको आर्थिक स्थिति हाम्रोभन्दा धेरै राम्रो थियो । चौघडा अन्न उब्जनी हुने ठाउँ । हाम्रोतिरझैं वर्षभरि हाड घोटेर तीन महिना मात्र खान धौधौ हुने ठाउँ थिएन । तर, ठाउँ हेरेर दुःखको आयतन पनि फरक हुँदो रहेछ । माइली दिदीको भागमा दुःखका पहाड नै पहाड । सासू ससुरा रिझाउनु, नन्द, आमाजु अनि देवरको मन र मान मनितो राख्नु । श्रीमान्को चित्त बुझाउनु । हामी एउटै आमाको सन्तान, एउटै लबटो तानेर हुर्किएका तर स्वभाव फरक थियो । जेठी र माइलीको स्वभावमा आकाश–जमिनझैं अन्तर थियो । जेठी मनको पीडा मनमै लुकाएर राख्थी, माइली दिदीको मुख बढी र हात कम चल्थ्यो ।

छोरीचेलीको जात अर्काेको घर गरिखाने । सासूलाई मुख चलाएको भन्दै भिनाजुले निल डाम हुनेगरी पिटेपछि ऊ भागेर माइत आई । जिउभरि नै नीलडाम थियो । दुई÷चार दिनपछि त ज्वाइँ आफै लिन आइहाल्लान् भन्दै आमा बुबा बस्नुभयो । तर, कोही नआएपछि दिदीलाई सम्झाउनुभयो छोरी, घर बिग्रियो भने त सबै नासिन्छ । घर गरेर, रिझाएर खान सिक् । अर्ति दिनुभएको थियो बुवाआमाले ‘जीवनमा भनेर ठूलो होइन सहेर सानो हुन सिक् । तिहार, तिजजस्ता पर्वमा भेट हुन्थ्यो ऊसँग । श्रीमान्बाट पाउने प्रताडना सुनाउँदै भन्कानिन्थी दिदी । भन्थी, छैटौं दिनमा ललाटमा भावीले यस्तै लेखिदियो, कसलाई दोष दिऊँ ?जेठी दिदीले झैं माइली दिदीले पनि नभनेको होइन तँ त कान्छी छोरी, लाडप्यारमा हुर्किएकी, पढ्दै छेस् मती नबिगार । तिनताक म नौमा पढ्दै थिएँ । उमेर १८ वर्ष । लक्ष्य थियो पढेर केही गर्ने । तर हाय, जिन्दगी कहाँको भासमा पुगेर जाकिएँ, उठ्नै नसक्ने गरी ।

काकाको दुई छोरी, दुई छोरा । कान्छी काठमाडौंको धनाढ्यसँग विवाह गरेका कारण भिनाजुले केही समस्या थिएन । जेठी दिदी पनि उस्तै पीडाको पहाड झेलिरहेकी थिई । जीवनमा एक मुठी सास अड्याउन के मात्र गरेनन् ? कहिले कामको सिलसिलामा दिल्लीतिर भासिए, कहिले मलेसिया पुगे । फर्केर आए र काठमाडौंको वनस्थलीमा भट्टी चलाए । त्यहाँबाट सिफ्ट भएर ललितपुरस्थित बीएन्डबी हस्पिटलमा क्यान्टिन चलाउँथे । नाम विश्वास ढकाल तर मान्छे उनीजतिको अविश्वासी सायदै दुनियाँमा कोही होला ।

वर्षमा एक पटक दसँैमा ससुराली आउँथे । आएको समयमा माया गर्थे । के थाहा त्यो मायाभित्र यति ठूलो स्वार्थ लुकेको छ भन्ने ? दसैंमा मात्र झुल्कने भेना यस पटक पुसमै आए । पुसको ठिही थियो । कोरोना कहरपछि भर्खरै सामान्य गतिमा फर्कंदै थियो दैनिकी । त्यही समयको एक साँझ भेनासहित एक जना अधबंैशे ससुरालीको आँगनमा झुल्किए । म पढाइमै अल्झिरहेको थिएँ । बुवाआमासँग के कुराकानी भयो कुन्नि बेलुका आठै बजे उनीहरू हिँड्ने तयारी गर्दै थिए । मैले भिनाजुलाई बस्न भनँे । उनले भोलि बिहान आउँछु साली नानी भन्दै गाला मुसारेर बाहिर निस्किए । बेलुका सुत्ने बेलामा आमाले भन्नुभयो, त्यो केटासँग तँलाई टीकाटाला गराइदिन्छौँ भोलि बिहान हामी । बुझ्दै गएँ नुवाकोटको थान्सिङमा घर रहेछ उसको । त्यो क्षेत्रकै धनीमानी तर पहिलाको श्रीमतीले छाडेर गएकी ।

बुवाआमा त दुःख र अभावमा हुर्किएका । बिहान खाए बेलुका के खाऊँ ? यही अभावले हामीलाई डस्न कहिल्यै छाडेको थिएन । जति शरीर घोटे पनि न जग्गा बढ्न सकेको थियो न त उब्जनी नै ! बरु खाने मुख बढिरहेका थिए । गरिब थियौं तर संस्कारमा थियौं, कहिल्यै बुवाआमालाई मुख फर्काएनाँै । सोच्थ्याँै, हाम्रै हितका लागि त बुवाआमाले सबै गरिरहनुभएको छ । जीवनमा एक पटक गरिने विवाह पनि उही स्वस्थानी कथाको शिव भट्ट ब्राह्मण र गोमा ब्राह्मणीको झैँ भयो । हाय विधाता ! कहाँकी म १८ वर्षकी, कहाँको ५० नाघेको बुबा उमेरको केटो । बुवाआमाको इच्छा पूरा गरिदिने नाममा आफ्नो इच्छा शहीद भयो ।

मेरो जीवन घरको न घाटको भयो । दिदीहरूको जस्तो मलाई सम्पत्तिको केही कमी छैन । दुःख छैन । तैपनि, खै मन एक रत्ति खुशी छैन । भौतिक सुखले मात्रै केही लछार्दाे रहेनछ । सम्पत्तिमा मात्रै खुशी कहाँ मिल्दो रहेछ र ? आत्मिक सुख एक रति छैन । म दुखी अरु कारणले होइन आफ्नै भिनाजु भनाउँदाको कारणले छु । जसले आफ्नो ऋण तिर्ने नाममा मलाई बलिको बोका बनाए । अहिले म जोसँग छु उनैले भनेका रहेछन् मलाई राम्री केटी मिलाइदिनेलाई पाँच लाख बराबरको जग्गा दिन्छु । वरको लागि वधू खोजिदिने काम भिनाजुले पाए । मेरो सोझा बुवाआमालाई प्रयोग गरेर मलाई फसाए । मेरो घरवार बिगारेर आफ्नो घर बनाए, ऋण त तिरे । तर यो दुखी चेलीको आँशुले उनलाई पोलिरहनेछ ।

मेरो बुवाआमाले पुजेर र विश्वास गरेर दिएको व्यक्तिले मेरो जीवन उजाड बनाइदिए । मेरो दिदीको आस्था, विश्वास र प्रेम ऊ मेरो लागि भने घृणाको पात्र बनिरहेको छ ।

– अञ्जना आचार्य

टिप्पणीहरू