अब पालो ‘इमाले’ को

अब पालो ‘इमाले’ को

-कौशल चेम्जोङ

यसबेला नेपाल कम्युनिष्ट पार्टी एमालेमा देखिएको दुईधारबीच संगठन निर्माणदेखि सरकार ‘हल्लाउने र थेग्ने’ प्रतिस्पर्धा चलिरहेको छ । चौकचौराहमा एमाले कार्यकर्ताहरु एकक्षणमा भद्र एकैक्षणमा उग्र देखिन्छन् । यिनको चियागफ सुन्ने हो भने त एकैछिनमा सरकार बनाउँछन एकैछिनमा सरकार ढाल्छन् । मानौं यिनको शक्तिको बारेमा शेषनागका हजार जिब्राले पनि वयान गर्न सक्दैन् । यस्ता कथित एमालेले कहिले पनि ‘शरीरको शोभा टाउको’ भनेर बुझेनन् । ओली र नेपाल खुल्याएको ठान्नेहरुले एमालेलाई जनताको बिचबाटै बिस्तारै खुइल्याउँदै गएको हेक्का राख्न भने भुलेका छन । त्यसैले त होला, एकताको नाममा भँडुवा गतिविधि गर्न उद्यत छन् । जनताको बहुदलिय जनवादको नाममा ओली र नेपाललाई देवत्वकरण गर्न तयार छन् । तर एमालेलाई सिंगो राख्न तयार छैनन् । एक कदम अघि दुई कदम पछिको सिद्धान्त पढे पनि अवलम्वन भने गरेका छैनन् ।

दुई धारबीचको एकताको बटम लाइन (क) २०७५ जेठ २ गते अघिको एमालेको सांगठनिक अवस्थामा कायम हुनु पर्ने । (ख) नयाँ परिस्थिति अनुकुल २०७७ फागुन २८ का निर्णय तथा दसौं, एघारौं र बाह्रौ बैठकका निर्णयहरु फिर्ता लिनुपर्ने । तर परिस्थिति यस्तो बनेको छैन । अध्यक्ष ओलीले असल अभिभावकको भूमिका निर्वाह गर्न कञ्जुस्याइँ गरे । फलत् एमालेजनमा निराशा छाएको छ । एकपछि अर्को निर्णयहरु जसले पार्टी एकतालाई भन्दा विभाजनलाई बल पुग्ने गर्छ अध्यक्ष ओलीबाट लादिए । देशभर समानान्तर कमिटीहरु बन्न थाले । निर्वाचित कमिटीहरुलाई धोती लाउँदै वडासम्म ‘बा का छोराछोरी’ सल्बलाउन थाले । भातृ संगठनहरुमा पनि त्यस्तै फुट आयो । राजनेता बन्छन् भन्ने ठूलो आस थियो त्यसमा तुषारापात भयो, ओली गुटमा सिमित भए ।

उनले आफ्नै सन्तानहरुलाई कसैलाई लाखा कसैलाई पाखा पारे । त्यसैको सिको गर्दै माधवकुमार नेपालले पनि समानान्तर कमिटी निर्माण गरे । एमाले दलभित्रै प्रतिपक्ष बन्न पुगे । यो नेपालहरुको लागि ‘मरता न क्या करता’ को अवस्था बन्यो । अध्यक्ष ओलीको वैशाख ६ को निर्णय केही लचिलो देखिए पनि एमालेलाई एकतावद्ध गर्न भने पर्याप्त देखिन्न । किनभने उनकै निर्णय मान्नुपर्ने बाध्यता चतुर्याइपूर्वक अन्यमाथि लादेका छन् । अबका केही दिनमा माधवकुमार नेपालसहित धेरैजनाको सांसद पद खुस्काएर अकण्टकरुपमा सर्वेसर्वा हुने दाउमा अध्यक्ष ओली देखिन्छन् । यसले माधवकुमार नेपालको निर्वाचन आयोगबाट पाउनसक्ने राहत पनि ‘कर्ण हेजु काण्ड’ जस्तै हुने देखिन्छ ।

किनभने ओलीको आक्रामक रणनीति र कार्यान्वयन गर्ने क्षमताका सामु नेपालहरु निरिह सावित हुनुका साथै रक्षात्मक स्थितिमा छन् । नेपालहरुले कुनै योजना बनाउन नपाउँदै ओलीले नयाँ फन्डा खडा गर्छन् र नेपालहरु यस्तै यस्तै फन्डामा अल्झेर अन्डा बिगार्न थाल्छन् । यसैको शृङ्खलामा सरकार ढाल्न नसक्ने अवस्था सिर्जना गर्न केही थान संघीय सांसदको पद क्वार्लाप पार्ने दाउमा छन् । अबका केही दिनपछि एमालेका नेपालपक्षका सांसदहरु केही जना खुस्के भने कुनै आश्चर्य हुने छैन । सरकार ढाल्न आवश्यक संख्याको ‘पद रिक्त’ गरेपछि ओली झनै शक्तिशाली हुनेछन् ।

त्यसबेला अन्य ‘अडिएका सांसद’ र ‘केन्द्रीय सदस्यहरु’ आयाराम र गयाराम हुनेछन् । एकीकृत कम्युनिष्ट पार्टीको सपना झनै एकादेशको कथा हुने छन् । नेपाल ‘नहला’ र ओली ‘दहला’ सावित हुँदै गएका छन् । बोल्नेको पीठो र बोल्न नसक्नेको चामल नबिकेको अवस्था हो । किनभने यतिखेर एमालेमा कार्यकर्ताभन्दा बढी जागिरे, कमिशनखोर, दलाल र भ्रष्टहरुको बोली ‘क्या बात’ हुने गरेको छ । फलतः एमाले कार्यकर्ता नामधारी यी ‘हनुमान र बाँदर’ सेनाहरुले एमालेको विभाजनलाई अकाट्य जस्तै बनाउँदै छन् । एकार्कालाई पछार्दा सगरमाथाको शिखर टेकेझैं फेसबुकलगायतका सञ्जालमा बडाइँ गर्छन् । ‘शाही पछार्ने अनि शंकर लतार्ने’ अभ्यासले यो कुरा पुष्टि भइसकेको छ ।

त्यसैले एमाले हौं भन्नेले यतिबेला दास मानसिकतालाई त्याग्दै विद्रोह पो गर्ने हो कि ? दलालहरुको त के कुरा गर्नु ? जतातिरबाट दुनो सोझिन्छ त्यहिँ लाग्ने हो । मलाई सम्झना छ, जनकपुरमा सम्पन्न महाधिवेशनमा रिर्पोटिङ गर्दा एमालेबाहेक बिमाले, सिमाले, डिमाले पनि देखेको थिए । तर अहिले त ‘इ’ माले पनि देखिन्छन कि नाइँ । एउटा पत्रकार सदैव रिर्पोटर भएर नदुखेको टाउको कन्याउँदोछु ।

टिप्पणीहरू