नेताको भर पर्दा रामेछापका काँग्रेसजनको रुवावासी

नेताको भर पर्दा रामेछापका काँग्रेसजनको रुवावासी

नेपाली काँग्रेस, रामेछाप–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा जग्गा दलाली काण्ड र जिल्लाका अधिकांश नेता ठगिएको रहस्य पटाक्षेप भएको छ ।

चैत २८ गते समितिले मध्य बानेश्वरकाे म्याकडाेनाल्ड क्याफेमा आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमन्त्री मीनेन्द्र रिजालको सामुन्ने नेताहरू मिलेर रामेछापका अधिकांश काँग्रेसी ठगिएको घटना सार्वजनिक भएपछि स्थिति तनावग्रस्त भएको बताइन्छ । ठगिनेमा कतिपय स्थानीय तहका जनप्रतिनिधिसमेत छन् ।

रामेछापबाट काँग्रेस महाधिवेशन प्रतिनिधि छानिएका भरत चौंलागाई,जीतबहादुर मगर र विनिता खड्का ठगी काण्डमा मुछिएका छन् । घर जग्गाको कारोबार गर्ने गरी काठमाडौंमा वन प्लस वन कम्पनी खडा गरिएको थियो । प्रत्येक घडेरीको लागि न्यूनतम १० लाख रुपैयाँको दरले पेश्की उठाइएको पीडितहरु बताउँछन् ।

काठमाडौंको बूढानीलकण्ठमा जग्गा प्लटिङको नाममा नेपाली काँग्रेस रामेछापका नेता,कार्यकर्तासँग ठूलो रकम उठाइएको १९ महिना भइसकेको छ । यो बीचमा उनीहरुले न पैसा फिर्ता पाएका छन्,न जग्गा । ब्याज मात्रै होइन साँवा नै भुस हुने अवस्थामा पुगेपछि ठगीको रहस्य बाहिरिएको हो ।

वान प्लस वानको नाममा उनीहरुले रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापा मगरसँग १२ लाख ५० हजार,रामेछाप उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीसँग २५ लाख रुपैयाँ लिएका थिए । उमाकुण्ड गाउँपालिकाका अरु तीन जनासँग पनि रकम उठाएको बुझिएको छ । उनै उर्मिलाका देवर देवराज बस्नेतसँग १२ लाख ५० हजार रुपैयाँ लिएको बताइन्छ ।

नेपाली काँग्रेसको १३औं महाधिवेशनमा निर्वाचन अधिकृतको रुपमा काम गरेका सीताराम केसीसँग भने उक्त समूहले ७० लाखभन्दा बढी लिएको बताइन्छ । सबैभन्दा बढी गगन थापा मगरसँग १ करोड १५ लाख रुपैयाँ लिएको पीडितहरु बताउँछन् ।

ती सबै रकम बुझ्ने पहिले कम्पनीको अध्यक्ष भनिएकी शोभाकुमारी श्रेष्ठ हुन् । अहिले पैसा फिर्ता गर्ने नाममा केहिलाई मौज्दात नभएको चेक दिने राजनकुमार श्रेष्ठ देखिएका छन् । उनले दिएको चेक बैंकले बाउन्स गरेको एक पीडितले बताए । चाबहिल घर भनिएका शोभा र राजनलाई बैना गर्ने रामेछापका कसैले पनि चिनेका छैनन् । पहिले फोनमा कुरा गर्ने श्रेष्ठहरुले अहिले आफूहरुको फोन उठाउन छाडेको एक जना पीडितले बताएका छन् ।

त्यस्तै,अधिकांश बैनाको कागजमा साक्षी बस्ने भरत चौंलागाईं र जीतबहादुर मगर हुन् । उनीहरूले प्रत्यक्ष रुपमा रकम नलिए पनि जग्गा खरिदको निम्ति बैनाको कागजमा साक्षी बसेर आफूहरुलाई ढुक्क बनाएको पीडितको गुनासो छ । यसबाट उनीहरुको समेत कुनै न कुनै रुपमा संलग्नता भएको काँग्रेसीहरुले आशंका गरेका छन् । मगरलाई यसअघिको चुनावमा रामेछाप प्रदेश ‘ख’ बाट नेपाली काँग्रेसले सांसदमा उठाएको थियो । भलै उनले चुनाव जित्न सकेनन् ।

यसअघि पार्टी महामन्त्री शशांक कोइराला प्रमुख अतिथि भएको एउटा कार्यक्रममा पनि नेविसंघका पूर्व महामन्त्री गजेन्द्र कार्कीले काँग्रेसको नाममा ठगी धन्दा चलाउनेहरूद्वारा आयोजित कार्यक्रम बहिष्कार गर्नुपर्ने बताएका थिए ।

रामेछापका कार्कीले कोइरालालाई महामन्त्री तहको नेता प्रमुख अतिथि बन्नुअघि आयोजकहरुको पृष्ठभूमि बुझ्नुपर्ने भनेर सुझाएका थिए । त्यसपछि शशांकले ठगीमा संलग्न काँग्रेसी नेताहरुले आमन्त्रण गरेको कार्यक्रमलाई भाउ दिन छाडेको बताइन्छ ।

कोइरालापछि मगर र चौलागाईंहरुको ध्यान वरिष्ठ नेता रामचन्द्र पौडेलतर्फ सोझिएको थियो । त्यहि कुरो कानमा परेपछि पौडेल पनि रामेछापका ती काँग्रेसीले आयोजना गरेको कार्यक्रममा जान छाडेका हुन् ।

अहिले उनीहरु सबैलाई विश्वास दिलाउन पूर्वमन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाकहाँ धाउन थालेको स्रोतको दाबी छ ।

टिप्पणीहरू