प्रधानमन्त्री ओली माधव नेपालहरूको पद खोस्ने योजनामा

प्रधानमन्त्री ओली माधव नेपालहरूको पद खोस्ने योजनामा

राष्ट्रिय सभाको सांसदबाट मुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादलको ठाउँमा निर्वाचन गराउन निर्वाचन आयोगले जेठको पहिलो साताको मिति प्रस्ताव गरेको छ । ३५ दिनभित्र निर्वाचन गराउनैपर्ने बाध्यताको कारण यो मिति तोकिएको बताइन्छ ।

तर,प्रतिनिधिसभामा रिक्त स्थानको निम्ति भने उपनिर्वाचन गराउने तत्काल योजना छैन । अहिलेको अवस्थामा टोपबहादुर र लेखराजहरुको निम्ति उपचुनाव गराउँदा ती ठाउँमा हराउन सारा विपक्षी खनिनेमा प्रधानमन्त्री विश्वस्त हुनुुहुन्छ । पहिले उपनिर्वाचन गराएर पछि मध्यावधिमा जाने कुरो पनि भएन । उपनिर्वाचनमा हार स्वतः हुने भएकाले गतिलो सन्देश नजाने निश्कर्षका साथ उपनिर्वाचनको विषयमा मौन बसिएको स्रोतको दाबी छ ।

अहिलेको तयारी भनेको माधव नेपालहरूको सांसद पद खोस्ने मात्रै हो । प्रधानमन्त्री निकटस्थहरूका अनुसार राष्ट्रिय सभाको चुनावमा बादलको पराजय निश्चित छ । त्यहि मेसोमा अध्यादेश ल्याएर भए पनि वरिष्ठ नेता माधव नेपालसहित केही नेताको सांसद पद खोस्ने तयारी गरिएको बताइन्छ ताकि उहाँलाई हटाउन फ्लोर क्रस हुन नपाओस् । हिजो बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकले गरेको पुनःस्पष्टीकरणको मेसो त्यसैको प्रक्रिया रहेको स्रोतको दाबी छ ।

कर्णाली प्रदेशमा भएको सांसदहरूको फ्लोर क्रसपछि अवस्था झन् जटिल बनेको निश्कर्षका साथ प्रधानमन्त्रीले न रहे बाँस,न बजे बाँसुरीको सिद्धान्तमा माधव नेपालहरूलाई सांसदबाटै निश्कासन गर्न लाग्नुभएको हो । त्यसो हुँदा संसदमा अर्को पक्षबाट पनि वैकल्पिक सरकार बन्न नसक्ने अवस्था उत्पन्न हुनेछ । त्यसपछि जति गरे पनि अविश्वास प्रस्ताव पारित हुँदैन । आवश्यकताअनुसार प्रधानमन्त्रीलाई जतिबेला पनि चुनावमा जान बाटो खुल्ने भएकाले टण्टै साफ गर्ने गरी मार्ग प्रशस्त गरिएको बताइन्छ ।

त्यसो गरेपछि मुलुकभरका अरुलाई पनि प्रदेशतिर तर्साउन सकिने बालुवाटारको निचोड छ ।
यता,निर्वाचन आयोगले पनि एमालेको आन्तरिक मामिला हो भनेर नबोल्ने रणनीति बनाएको छ । पहिलेको अवस्थामा समेत मतलब नगरेको आयोगले अहिले सरकारबाहेक अरुलाई देख्नै छाडेको बताइन्छ ।

टिप्पणीहरू