सभामुखलाई सोत्तर पार्छ त आज सर्वोच्चले ?

सभामुखलाई सोत्तर पार्छ त आज सर्वोच्चले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै आज सर्वोच्च अदालतमा उहाँसम्बन्धी द्वन्द्वकालिन तीन वटा मुद्दाको पेशी चढेको छ ।

अनौपचारिक रुपमा प्रधानमन्त्रीले सभामुखलाई हटाउनैपर्ने आशयको धारणा राखेसँगै आएको मुद्दाको पेशीले बाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न गएको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशीले मंगलबार बिहानैदेखि मुलुकको राजनीति तातेको छ ।

द्वन्द्वकालको मुद्दासँग जोडिएको पेशी अहिले सर्वोच्च अदालतमा एकाएक चढेको हो । सापकोटा सञ्चार मन्त्री हुँदा १० वर्षअघिको काभ्रेमा अर्जुन लामाको हत्यासम्बन्धी मुद्दा यतिखेर बल्झिएको छ । स्रोत भन्छ- ‘सभामुखको टाउकोमा तरबार झुण्डाउँदै अदालतमा आज एकमुष्ट पेशी चढाइएको छ ।’

राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल र कनकमणि दिक्षितसहितले हालेको रिट निवेदनको पेशी आजै चढ्नुलाई पनि अर्थपूर्ण ढंगले हेरिएको छ । एकातिर सभामुखको भूमिकालाई लिएर प्रधानमन्त्रीले चर्को आलोचना गर्नु,अर्कोतिर संसद अधिवेशन अन्त्य गरिएको भोलिपल्ट पेशी चढ्नुलाई व्यवस्थापिका प्रमुखलाई खुस्काउनै खोजिएको रुपमा बुझ्न थालिएको छ ।

एमसीसीलगायतका विषयमा दोषी ठहर गरेर एकातिर प्रधानमन्त्रीले सभामुख हटाउन खोज्नुएको सन्देश प्रवाह भएको छ । अर्कोतिर अदालतमा सभामुखविरुद्ध एक दशकअघिका मुद्दा एकमुष्ठ पेशी चढ्नुुले गतिलो संकेत नगरेको बताइन्छ ।

हालैमात्र नेकपाको नामसम्बन्धी विवादमा अढाइ वर्षअघि परेको ऋषि कट्टेलको मुद्दालाई यसैगरी क्रुसियल पिरियडमा छिनोफानो गरिएको थियो । माओवादी र एमालेको विवाद जोडिएर बाहिर आएको बेला सर्वोच्च अदालतले अकस्मात फैसला सुनाएपछि मुलुकको राजनीति कतातर्फ डोरिएको छ भन्ने सबैले अनुमान गरिरहेका छन् । अझ त्यसमा पनि अदालतले कट्टेलले नमागेको माग दाबी पूरा गरिदिएको थियो ।

अहिले सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला सर्वोच्च अदालतमा चढेको एकमुष्ठ पेशीले सबैलाई झस्काइदिएको छ ।

टिप्पणीहरू