नर्स र पत्रकारलाई पनि लान थाल्यो कोरोनाले

नर्स र पत्रकारलाई पनि लान थाल्यो कोरोनाले

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी बढ्दो छ । हाम्रै छिमेकमा यसको प्रभाव डरलाग्दो रुपमा देखिएको छ। खुला सीमाना र अव्यवस्थित आवागमनका कारण त्यहाँ सल्किएको कोरोनाको काल बिस्तारै नेपाल पसिरहेको छ ।

नेपालमा पछिल्लो समय दैनिक सयौंको संख्यामा संक्रमित थपिन थालेका छन् भने मृत्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ । केही दिनयता मात्र हजारौँ संक्रमित थपिएका छन् । करिब एक साताको अवधिमा मात्र दर्जनौँले ज्यान गुमाउनु परेको छ ।

“स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको छ । “

गतवर्ष लकडाउन हुँदा शुरुमा एक जना पनि संक्रमित भेटिएका थिएनन् । तैपनि विस्तारै संक्रमण बढ्दै गयो र एकैदिन दर्जनौंको संख्यामा मृत्यु र हजारौँको संख्यामा संक्रमित हुने अवस्थासम्म पुग्यो । अहिले कोरोनाको दोस्रो लहर शुरु भैसक्दा न लकडाउन गरिएको छ न स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा गम्भीरता देखिएको छ । त्यसैले यहि अवस्था रहिरहे भारतमा सल्केको कोरोनाको कालले नेपाललाई पनि खाने निश्चित छ।

डरलाग्दो कुरा त,स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको छ । यसले खतराको घन्टीमात्र बजाएको छैन भयावह अवस्थाकोसमेत संकेत गरेको छ । यसपटकको नयाँ भेरियन्सबाट युवा र बालबालिका बढी प्रभावित भएको मन्त्रालयले बताइसकेको छ । यहि उमेर समूहका मानिस बढी सक्रिय हुने र घर बाहिर निस्कने हुँदा पहिलेको तुलनामा संक्रमण छिटो बिस्तार हुने मन्त्रालयको भनाइ छ।

आजमात्र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । आज कोरोनाकै कारण एक स्टाफ नर्सले ज्यान गुमाएकी छन् । भर्खरै बिहा गरेकी अनिशा ओली नाम गरेकी ती युवतीलाई कोरोनाले जीवनको पूर्वार्धमै लिएर गयो । उनकी भर्खर जन्मेकी छोरी टुहुरी भएकी छन् ।

त्यस्तै,एक पत्रकारमा पनि कोरोना संक्रमण देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएकोमा उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भर्खरै ३७ वर्ष पुगेका उनलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । उनका दुई स-साना नानी छन् ।

लगातार संक्रमितको संख्या बढिरहेका बेला आज एकैदिन १२ सय ८१ जनामा संक्रमण देखिएको छ । आज कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाउनु परेको छ । अहिले नै अधिकांश अस्पतालमा आइसीयु बेड भरिभराउ भैसकेका छन् । यहि अवस्था मात्र रहे पनि केही दिनमै आइसीयु र भेन्टिलेटरको अभाव हुने प्रष्ट छ ।

आँखै अगाडि आएको यो भयावह अवस्थाबाट बच्ने एकमात्र उपाय भनेको स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नै हो । तर, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गराउने कुरामा न सरकार जिम्मेवार देखिएको छ न सर्वसाधारण नै गम्भीर बनेका छन् । दैनिक रुपमा मृतकको संख्या बढिरहँदा पनि भीडभाड घटेको छैन । मास्क लगाउने, सेनिटाईजरको प्रयोग गर्ने,हात धुने जस्ता स्वास्थ्यका सामान्य मापदण्डको पालना पनि भैरहेको छैन । आफ्नै दैलोमा कोरोना आइसक्दा पनि हाम्रो आचरण र जीवनशैली फेरिएन भने जुनसुकै बेला संक्रमणको शिकार हुने हामी नै हो ।

बिभिन्न नाममा गरिने कार्यक्रम र आन्दोलनले कोरोनाको दोस्रो लहरलाई स्वागत गरेको कटुयथार्थ हो । तर,अहिले पनि हामी त्यहि बाटोमा छौँ । आफ्नै नजिकको मान्छेमा संक्रमण देखिंदा पनि सतर्कता अपनाएको देखिंदैन । यो खतराको संकेत हो । यसप्रति सरकार र आमनागरिक बराबर जिम्मेवार बन्नुपर्छ । सरकारले नीतिगत निर्णय गर्ने र त्यसको पालनामा कडाइ गर्नुपर्छ भने सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्छ । अन्यथा आँगनमा आइपुगेको कोरोनाको काल कुनैपनि बेला हाम्रो दैलोमा छिर्न सक्छ । सावधान! खेलाँची नगरौं ।

टिप्पणीहरू