ओलीमा हिटलर प्रवृत्ति रहेको माधव नेपालको दाबी

ओलीमा हिटलर प्रवृत्ति रहेको माधव नेपालको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति रहेको टिप्पणी गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ,काठमाडौं शाखाले आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा बधाई कार्यक्रममा बोल्ने क्रममा नेपालले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ सङ्केत गर्दै उहाँको शैली हिटलरी भएको बताउनुभएको हो । उहाँको भनाई छ ‘जसले प्रधानमन्त्री बनाउन भर्याङ चढाए,उसैलाई लात हानेर सडकमा पुर्याए ।’

प्रधानमन्त्री ओलीले केही खास मान्छेलाई किनेर भजनमण्डली बनाएको आरोपसमेत उहाँले लगाउनु भएको छ । नेपालले भन्नुभयो ‘खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजनमण्डली बनाएर त्यसको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन कुप्रचार हुन पुग्दछ र कुप्रचारको अन्त्यमा पतन हुन्छ । हिटलरले पनि यस्तै कोसिस गरेको थियो ।’

नेता नेपालले राम्रो भूमिका निर्वाह गर्दागर्दै पनि आफ्नो समर्थनमा नदेखिएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको समेत बताउनुभयो ।

त्यसैगरी आफ्नो आदेश पालना नहुँदा प्रधानमन्त्री तथा एमाले अध्यक्षले पार्टी नै भत्काउने कोसिस गरे पनि नेपाली जनतामा त्यसको सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृत्तिको हार हुने उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू