नेपालको जीतमा कुशल बने नायक

नेपालको जीतमा कुशल बने नायक

नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिजअन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले नै हराएको थियो ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर १२.१ ओभरमा पूरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले लगातार दोश्रो खेलमा शतकीय ओपनिङ साझेदारी गरे । १०२ रनको साझेदारी गरेपछि आसिफ १२औं ओभरमा भिरनदिप सिंहबाट क्याच आउट भएका हुन् । आउट हुनुअघि आसिफले २९ बलमा ४ चौका र १ छक्का मद्दतले ४२ रन बनाए थिए ।

त्यसपछि कुशल र दिपेन्द्र ऐरीले नेपाललाई जीतसम्म पुर्याए । लगातार दोश्रो अर्धशतक बनाएका कुशलले अविजित ६१ रन बनाए जुन क्रममा ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । विजयी रन प्रहार गरेका दिपेन्द्रले ३ बलमा १ चौका मद्दतले ६ रन बनाए ।

कुशलले बनाएको अर्धशतक टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको पहिलो लगातार अर्धशतक हो । लगातार दुई खेलमा नेपाली ब्याट्सम्यानले यसअघि अर्धशतक बनाउन सकेका थिएनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो । मलेसियाका लागि सयद अजिजले सर्वाधिक २७ रन, शर्भिन मुनिएन्डीले २० तथा शफिक शरिफले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा करन केसीले सर्वाधिक ३ विकेट (३–०–१७–३), सन्दिप लामिछानेले २ विकेट (३.५–०–२५–२) तथा सोमपाल कामि (३–०–१३–१), दिपेन्द्र ऐरी (१–०–७–१) , शाहब आलम (३–०–२०–१) र कुशल मल्ल (२–०–१५–१) ले समान १ विकेट लिए ।

प्रतियोगितामा लगातार दुई खेल जितेको नेपालले तेश्रो खेल भोलि नेदरल्याण्डसंग खेल्ने तालिका रहेको छ ।

टिप्पणीहरू