जसो गरे नि ओली एक कदम अगाडि

जसो गरे नि ओली एक कदम अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा प्रयोग गरेको थ्यौरीलाई परिमार्जनसहित लागू गरेपछि राजनीतिक निर्णयमा अरुभन्दा एक कदम अगाडि देखिनुभएको छ । आज दिउँसो १ बजेदेखि लागू हुने गरी सकाइएको संसदको हिउँदे अधिवेशन अन्त्यको अन्तर्य त्यसैको परिणाम भएको बताइन्छ ।

विगतमा प्रचण्डले पूर्वको हल्ला गरेर पश्चिमको र पश्चिमको भनेर पूर्वको प्रहरी चौकीमा आक्रमण गरेझैँ यसपटक प्रधानमन्त्री ओलीले सबैलाई एमसिसी र सर्वदलीय बैठकको गुमराहमा राखी आज संसद अधिवेशन अन्त्यको सिफारिश गर्नुभएको हो ।

अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज (एमसीसी) प्रस्ताव पारित गर्ने सन्दर्भ उल्लेख गरेर सर्वदलीय बैठक बोलाइएको पर्सिपल्ट संसद अधिवेशन अन्त्य गरिएको हो । यसबाट प्रधानमन्त्रीले अन्य राजनीतिक दल र तिनका नेताभन्दा आफू एक कदम अगाडि रहेको सन्देश दिनुभएको बताउन थालिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने सुईंको पाएपछि आज अकस्मात अधिवेशन अन्त्यको सिफारिश गर्नुभएको हो । तर,२५ प्रतिशत सांसदले विषय खुलाएर विशेष अधिवेशन माग गरेमा १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । अविश्वास प्रस्ताव दर्ताको लागि अब विशेष अधिवेशनसमेत माग गर्नुपर्ने भएको छ ।

अर्कोतर्फ बैशाखको अन्तिमसम्ममा वर्षे अधिवेशन समेत बोलाउनुपर्ने हुन्छ । संविधानतः जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको लागि कम्तिमा दुई साताअघि बैठक बोलाउने गरिएको छ । त्यसअघि बैशाखभरिमा आगामी बर्षको नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने हुन्छ ।

टिप्पणीहरू