बालुवाटारले ‘उत्कृष्ट पत्रकार’ को विवरण बुझ्दै

बालुवाटारले ‘उत्कृष्ट पत्रकार’ को विवरण बुझ्दै

पुरस्कार र मान पदवीमा चल्ने हानाथाप कस्ता–कस्ता हुन्छन्, एकचोटि हेरौँ त ! भर्खरै राष्ट्रपति भवनमा गत वर्ष घोषित विभिन्न विभूषण, मान–पदवी र सम्मान थाप्नेहरूको लर्को लाग्यो । अहिले अख्तियार प्रमुख रहेका प्रेम राई गृहसचिव हुँदा विभूषण, मान–पदवी र पुरस्कारसम्बन्धी एउटा मापदण्ड बनेको थियो । यस्ता मापदण्ड वा कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारीको पदोन्नती त हुन्छ । तर, कार्यसम्पादन मूल्यांकन नै कति वैज्ञानिक र न्यायोचित भयो भन्ने प्रश्न उठिरहन्छ ।

यसचोटि वितरण भएका सरकारी पदवीमाथि पनि यस्तै प्रश्न खडा गरिएका छन् । पदवी दिइनुको अर्थ हो, काम गर्ने मान्छेको कदर गर्नु । मान–पदवीले भीडलाई काम गर्ने मान्छेलाई संस्थागत र सामाजिक रुपमा पनि राम्रो प्रभाव पार्छ । त्यसको सट्टा भनसुन र चाकडीका भरमा दिइयो भने अनुप्रेरणा, निराशा, काममा शिथिलता आउने हुन्छ नै । तर, यसचोटि पनि पात्र चयनमा व्यक्तिहरूका रोजाई हावी हुँदा पदवी थाप्न पुगेकाहरू अप्ठ्यारो अवस्थामा पुगे । झन्, कोभिडको बहाना मिलेपछि दिने र लिने दुबैका मुखमा मास्क देखियो ।

पहिला–पहिला निजामतीसहितका सरकारी सेवामा राज्यद्वारा दिइने मान–सम्मान र पदवीको अलग्गै अंक जोडिन्थ्यो र त्यसले वृत्ति विकासमा भूमिका खेल्थ्यो । तर, निजामती सेवा ऐनबाट ती नम्बर अहिले झिकिएका छन् । कारण हो, चाकडीबाज हावी हुने र काम गर्न योग्य र सक्षम व्यक्तिहरू त्यही कारण प्रताडित भइरहने । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न प्रधानमन्त्रीकी मुख्य चिकित्सक डा.दिव्या सिंह शाहसहित विदेशी चिकित्सकसम्मको भीड लाग्यो । उनीहरूले पूरा गरेको एउटै योग्यता थियो, प्रधानमन्त्रीको उपचार गर्नु । छन त त्यहाँ डा.भगवान कोइरालाजस्ता पदवी पाउनलायक चिकित्सक पनि थिए । तर, एउटा लायकको मान्छे देखाएर नालायकहरूलाई शीतल निवासमा लाइन लगाइएको भनी कर्मचारीहरू चर्चा गर्दै थिए ।

सचिवहरू यामकुमारी खतिवडा, मणिराम ओझा पनि पदवी लिन गए । प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशिराज दाहाल, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, गंगालाल अस्पतालका पूर्वप्रमुख डा.ज्योतेन्द्रमोहन शर्मा, अर्थ सचिव शिशिरकुमार ढुंगाना, पूर्वसचिव लालशंकर घिमिरे, व्यापारी भवानी राणा, राजेशकाजी श्रेष्ठ, अधिकारकर्मी बन्दना राणासहित पदवीयोग्य केही नगण्य व्यक्ति त्यहाँ देखिन्थे । तीबाहेक करिव ४ सयमा नामै लिन र गर्व गर्न सकिने खासै थिएनन् । सुवास नेम्वाङको सिफारिसमा पूर्वसचिव माधव रेग्मी पदवी थाप्न पुगेको भनी एकथरि कर्मचारी चर्चा गर्दै थिए । उनी नेकपा विभाजन बदर गरी साविकका दल ब्यँुताउने फैसला गरेर प्रधानमन्त्रीलाई गुन लगाएका न्यायाधीश कुमार रेग्मीका दाजु हुन् ।

अर्कातिर राष्ट्रिय पत्रकारिता र वरिष्ठ पत्रकार पुरस्कार ०७६ र ०७७ का नाम कतिबेला बालुवाटारबाट आउला र काम टुंग्याउँला भनेर छनौट समितिका पदाधिकारी बसिरहेका छन् । प्रेस काउन्सिलका कावा अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष, वरिष्ठ पत्रकार तीर्थ कोइराला, मन्त्रीका सञ्चार सल्लाहकार राजेन्द्र मानन्धरसहितको समिति बनाइएको छ । बालुवाटारले नाम स्क्रिनिङ गरिनभ्याएको कारण छनौट समिति अनिर्णयको बन्दी भएको बताइन्छ ।

भर्खरै निवर्तमान भएका पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संगीता खड्का र धर्मेन्द्र कर्णको नाम टिपाएका छन् तर बालुवाटारबाट आउनुपर्ने नाम नआइदिँदा त्यो पनि निर्णय भइसकेको छैन । केही प्रस्तावित नाम समितिसँग छ । त्यो निर्णय गर्न पनि बालुवाटारको मौनता बाधक बनिरहेको छ । प्रस्तावित नाम हुन्, हर्ष सुब्बा (सुनसरी), रघु मैनाली (झापा), अग्निशिखा (काठमाडौं–मरणोपरान्त), विजय चालिसे (काठमाडौं), दीपेन्द्र श्रेष्ठ (कास्की), जगदीश शर्मा (पर्सा) लगायत । बालुवाटारबाट भर्खरै पत्रकार महासंघमा केन्द्रीय सदस्य जितेका एकमात्र सरकारी उम्मेदवार केसी लामिछाने (पर्सा), शीतल साह (धनुषा), शान्ति गुरुङ (कास्की) को नाम तयार पारिएको चर्चा छ ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा वैशाखमै वितरण गरिने ती पुरस्कारमध्ये राष्ट्रिय पुरस्कार पाउनेले एक–एक लाख, वरिष्ठ पत्रकारिता पुरस्कार पाउनेले दुई–दुई लाख हात पार्छन् । यसपटक दुई वर्षको पुरस्कार एकैचोटि दिनुपर्ने कारण राष्ट्रियमा ६–६ जना र वरिष्ठमा दुई–दुई जना गरी जम्मा १६ पत्रकार छनौट हुनुपर्ने हो ।

टिप्पणीहरू