गणेश बस्नेतले बालुवाटारमा जाऊँ भन्न आएकै हो « janaaastha.com
२ जेष्ठ २०७८, आईतवार

गणेश बस्नेतले बालुवाटारमा जाऊँ भन्न आएकै हो



– शम्भु श्रेष्ठ, पूर्वअध्यक्ष प्रेस चौतारी नेपाल तथा प्रधानसम्पादक, दृष्टि साप्ताहिक

दलनिकट पत्रकार संगठनमध्ये प्रेस चौतारी आपसी गृहकलहमा फस्दा पत्रकार महासंघको निर्वाचन परिणाम कांग्रेसनिकट प्रेस युनियनको पोल्टामा गएको छ । प्रेस चौतारीका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठहरूको जोडबल थियो, हामी नफुटौं । माओवादीनिकट प्रेस संगठनलाई एकताबद्ध गराई यसपटक मिलेर पार्टीलाई एउटा सन्देश दिऔं तर बालुवाटारनिकट हस्तीहरूलाई यस्तो प्रस्ताव पाच्य भएन । मदन भण्डारीजस्ता विद्वत्को संगतमा हुर्किएका उनले उहाँ दिवंगत भएपछि केपी ओलीको सान्निध्यमा रहेर अघोषित मुखपत्रको रुपमा दृष्टि साप्ताहिक चलाए । जीवनमा झण्डै २५ वसन्त ओलीलाई साथ दिएका उनी अहिले ओली कम्युनिष्ट सिद्धान्तबाट च्यूत भएको, उनमा व्यक्तिपूजा मोह बढेको, घात, प्रतिघात र व्यवहारबाट आजित भएर बाटो मोड्न विवश भएको सुनाउँछन् ।

० हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको मत परिणामलाई कसरी लिनुहुन्छ ?
– १३ हजार ८ सय मतदाता रहेकोमा ११ हजार ४ सय ४ खसेको छ । पत्रकारजस्तो राष्ट्रको चौथो अंगको निर्वाचनमा ५ सय मत बदर हुनु गम्भीर विषय हो । संगठनमा कस्ता–कस्ता मान्छे आबद्ध छन् ? ती पत्रकार हुन् वा गैरपत्रकार ? भन्ने विषय बदर मतले समेत स्पष्ट पार्छ । यसपटक प्रतिगमनविरोधी पत्रकारहरूको मोर्चा बन्यो । त्यसको अगुवाइ प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (माधव नेपाल) पक्षले गरे । यही समूहले लगभग सम्पूर्ण सिटमा विजय हासिल ग¥यो । प्रतिगमनको कित्तामा उभिएकाहरूलाई मत परिणामले गतिलो झापड दिएको छ ।

० नतिजा अपेक्षित थियो वा अनपेक्षित ?
– प्रतिगमनविरुद्ध उभिएको प्रेस चौतारी र प्रतिगमनको रक्षामा उभिएको प्रेस चौतारी । दुई खेमामा विभाजन हुँदा प्रेस चौतारीले ठूलो अवसर गुमाएको छ । महासंघमा ५ हजार हाराहारी प्रेस चौतारीका सदस्य छन्, त्यही हाराहारीमा प्रेस युनियनसहित प्रेस सेन्टर र अन्य समूहका झण्डै तीन हजार सदस्य छन् । प्रेस चौतारी एकै ठाउँमा उभिएको भए पत्रकार महासंघ वामपन्थीको कब्जामा पर्ने थियो । विभाजनले गर्दा यो अवसर प्रेस चौतारीले गुमायो । एकले अर्काेलाई सिध्याउने खेलमा लागेका कारण उपलब्धि हासिल गर्न चौतारी असफल भयो । प्रेस चौतारीले दुईपटक महासंघको अध्यक्ष जितेको इतिहास छ । अघिल्लोचोटि एक्लै उठ्दा पनि ५० प्रतिशतभन्दा बढी जिल्ला र केन्द्रमा झण्डै दस जना जितेकै हो । यद्यपि, कांग्रेस, माओवादीले पेल्दापेल्दै केन्द्रमा माधव नेपाल पक्षधरले जति सिट पाएको थियो, ती सबै जित्नुलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

० तपाईंले महासंघमा शुद्धीकरणको कुरा उठाउनुभयो । त्यो प्रयास कहाँबाट, कसरी गर्ने ?
– विगतमा पाँच सदस्य बराबर एक पार्षद चुनेर पठाइन्थ्यो र तिनले केन्द्रीय पदाधिकारी मनोनयन गर्थे । यसपटक जिल्ला–जिल्ला, एशोसिएट, प्रतिष्ठानमा हरेक पत्रकारले मतदान गर्न पाउने अधिकार सुनिश्चित गरियो । तर, जिल्ला जिल्लामा चुनाव जित्ने नाममा जसरी गैरपत्रकारलाई सदस्यता वितरण गरियो त्यसले गर्दा महासंघ भोलिका दिनमा गैरपत्रकारको हातमा पर्ने हो कि ? भन्ने चिन्ता छ । जिल्लामा सदस्यता वितरण गर्दादेखि नै पत्रकारितामा काम गरेको, योग्यता, अनुभव, क्षमता, क्रियाशीलता सबै कुरालाई मापदण्ड बनाएर शुद्धीकरण गर्दै आएको भए गैरपत्रकारको प्रवेश रोक्न सकिन्थ्यो । यसैकारण ५ सय मत बदर भयो । यो अन्तर्राष्ट्रिय रूपमा बेइज्जती हो ।

० सरकारपक्षीय प्रेस चौतारीको यो हविगत हुनुमा को दोषी त ?
– फागुन ५ गते प्रेस चौतारीले पत्रकार महासंघमा कस्तो भूमिका खेल्ने ? भन्ने विषयमा साथीहरूबीच छलफल भएको थियो । जमघटमा बालकृष्ण चापागाईं, गगन बिष्ट, किशोर श्रेष्ठ, कौशल चेम्जोङ, मलगायत साथीहरू थियौं । हाम्रो जोड थियो संगठन विभाजित छ, देशभरका साथीहरूको आधा बल हुँदाहुँदै पनि सबै गुमाउनु राम्रो होइन । प्रेस चौतारी फुटेको परिस्थितिमा जोड्न के गर्ने त ? भन्ने प्रश्न उठ्दा किशोर श्रेष्ठले प्रस्ताव गर्नुभयो, हामी फुट्नुहुन्न । प्रेस चौतारी एक ठाउँमा उभिने, त्यो हुँदा आधा बल हामीसँग हुन्छ । त्यसपछि वाम गठबन्धन गरेर चुनाव लड्ने, स्वतन्त्र, साना पार्टी समेटेर चुनाव लड्न सक्यौं भने यसपालि परिणाम राम्रो आउँछ भन्ने निष्कर्ष निस्कियौं । सोही निष्कर्षको आधारमा शम्भु श्रेष्ठलाई उम्मेदवार उठाऔं, सबैले मान्छन् भनेर किशोरजीले प्रस्ताव गर्नुभयो । त्यो प्रस्ताव लिएर साथीहरू गणेश बस्नेत, सूर्य थापासँग छलफल गर्न जानुभयो । उहाँहरूले शम्भु श्रेष्ठको नाम स्वीकार्य हुँदैन, प्रधानमन्त्रीले पनि मान्नुहुन्न भनेर फिर्ता पठाइदिनुभयो । यसरी प्रेस चौतारीलाई एक ठाउँमा ल्याऔं भन्ने कुरा अघि बढ्नै सकेन । उनीहरूले प्रेस चौतारीलाई एकै ठाउँमा ल्याउने प्रस्ताव अस्वीकार गरिसकेपछि प्रतिगामी कदमका विरोधीहरू एक ठाउँमा उभियौं । वामपन्थी एक हुँदा झण्डै आठ हजार मतका साथ हामीले जित्थ्यौं । वामपन्थीहरू एक ठाउँ उभिनुपर्छ भन्ने कुरालाई गणेश बस्नेतहरूले अस्वीकार गरेका कारण उनीहरूले पराजय व्यहोर्नुप¥यो । सिंगो प्यानल जिरोमा झ¥यो । केपी ओलीको झापा जिल्ला, सञ्चारमन्त्रीकै गृहजिल्ला, गोकुल बाँस्कोटाको जिल्लामा सरकारपक्षीय चौतारी हा¥यो । सिंगो वामपन्थी आन्दोलनलाई जोगाउने । त्यसको पहल पत्रकारको चुनावबाट गरौं भन्ने हाम्रो प्रयास थियो । अहिले पत्रकार महासंघ हामीले जित्न सकेको भए फुटेर गएका वामपन्थीलाई मनले जोड्ने काम गथ्र्याे ।

० तपाईंहरूको उद्देश्य पवित्र थियो भने पत्रकारको चुनावमा तपाईंलाई ओली पक्षले किन देखिसहेन त ?
– पत्रकारको काम भनेको स्वच्छ आलोचना गर्नु हो । सत्तामा पुगिसकेपछि जतिसुकै लोकतान्त्रिक मान्छे भए पनि यसको अत्याचारलाई त्यसलाई नियन्त्रणमा लिनु स्वतन्त्र प्रेसकै काम हो । राजा ज्ञानेन्द्रकोविरुद्ध प्रेस नै फ्रन्ट लाइनमा लडेका हुन् । ज्ञानेन्द्रलाई घुँडा टेकाउने काम पनि प्रेसले नै गरेको हो, त्यसको साक्षी हामी नै हौं । हरेक पटकको आन्दोलनमा पत्रकार फ्रन्टमा आउने र उनीहरूको गलत कदमको आलोचना गर्ने भएको कारण सत्तालाई कहिल्यै पत्रकार मन पर्दैन । त्यसमाथि म प्रेस चौतारीको संस्थापक अध्यक्ष, ओली प्रधानमन्त्री भएपछि सरकारले गरेको कामलाई दुनियाँले खराब भनिरहेका छन्, मैले पनि सही भन्न सकिनँ । दृष्टि साप्ताहिक हिजोका दिनमा पार्टीको मुखपत्र हो । व्यक्ति होइन, नीति र पद्धति समात्नुपर्छ भन्ने दृष्टिको सिद्धान्त पनि हो । ओली प्रधानमन्त्री भएपछि सरकारले जति पनि नचाहिने काम गर्दा हामीले आलोचना ग¥यौं । स्वाभाविक हो त्यसपछि दूरी बढ्ने नै भयो । ओलीले मलाई मन नपराएका हुन सक्छन् वा उनका वरपर हुनेहरूले गलत ब्रिफिङ गरेका हुन सक्छन् ।

० महासंघ निर्वाचनको मुखैमा गणेश बस्नेत प्रधानमन्त्रीको दूत बनेर तपाईंकहाँ आएको, प्रधानमन्त्रीले तपाईंलाई बालुवाटारमा बोलाउनुभएको भन्ने हल्ला पनि चल्यो । वास्तविकता के हो ?
– निर्वाचन हुनु दुई दिनअघि गणेश बस्नेत मकहाँ आएको थियो । देशैभर बर्बाद हुने भयो । तपार्इंको कुरा मैले मानेकै थिएँ । सूर्य थापाहरूले मानेनन् । तपाईंको कुरामा टेक्नै सकिएन । वामपन्थी एकै ठाउँमा हुनुपर्छ भनेर किशोर दाइले ल्याएको प्रस्ताव पनि एकदमै ठीक थियो । त्यो सिद्धान्तमा मात्र टेकेको भए राम्रै हुन्थ्यो तर सूर्य थापा शुरुमै पूर्वाग्रही भए । प्रधानमन्त्रीले सल्लाह गर्न बालुवाटार बोलाउनुभएको छ, जाऔं भन्ने उनको प्रस्ताव थियो । मैले इन्कार गरेँ । कारण देशैभर साथीहरू विभाजित भई आ–आफ्नो लाइन क्लियर गरेर हिँडिसकेको स्थिति थियो । दुईवटा चौतारी मिल्दा जित्ने बल हुन्थ्यो, दुईवटै आपसमा लड्दा आ–आफैं सिद्धिने बाटोमा गइसकेका थियौं । परिणाम आ–आफू लड्ने, आफैँलाई सिध्याउने आउँथ्यो– थाहा भएकै कुरा हो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई भेटेर केही हुँदैन भनेर फिर्ता पठाइदिएको हो । उनले सञ्चारमन्त्री र प्रधानमन्त्रीको जिल्लामा सम्म त मिलाउनुप¥यो भनेका थिए । सैद्धान्तिक रूपमा बिग्रिसकेको कुरा व्यक्तिगत रूपमा मिलाउन सकिँदैन भनेर फिर्ता पठाइदिएको हँु । परिणाम प्रेस चौतारीको पक्षमा आएन तैपनि खुशी के मा छ भने, प्रतिगमनविरुद्ध जुन मोर्चा बनेको थियो त्यसले जताततै विजय हासिल ग¥यो ।

० जसरी पत्रकारको निर्वाचनमा वामपन्थी फुट्दा कांग्रेसले नसोचेको लाभ लियो । यही परिणाम स्थानीय, प्रदेश र केन्द्रको चुनावमा आउला ?
– हिजो माओवादी र एमाले नमिलेको भए दुई तिहाइ हुँदै हुँदैनथ्यो । झण्डै २५ ठाउँमा एमालेले हाथ्र्याे । अब त झन् स्वतः यसको असर स्थानीय, प्रदेश र संघमा पर्छ । एमाले फुटेको छ । एकता गर्न आएको माओवादी अर्काेतिर फर्किएको छ । भोलिको चुनावमा वामपन्थी र लोकतान्त्रिक गठबन्धन हुने हो भने झापामै केपी ओलीले हार्छन् ।

० महासंघको निर्वाचनमा पराजय व्यहोरेपछि सरकारी उम्मेदवारहरूले कत्तिको गाली गरेका छन् तपाईंहरुलाई ?
– चुनावमा जानु भनेकै हार स्विकार्नु हो । यो लोकतान्त्रिक विधि हो । गाली गलौजमा उत्रने, फेसबुकमा तथानाम लेख्ने गैरपेशागत चरित्र हो ।

० तपार्इं र ओलीबीचको सम्बन्ध र साथ कहिलेदेखि, कति पुरानो हो ?
– हाम्रो सहयात्रा मदन भण्डारी दिवंगत भएपछि हो । त्यतिबेलासम्म दृष्टि मदन भण्डारीको पकडमा थियो । सिधै उहाँले हेर्नुहुन्थ्यो । उहाँ दिवंगत भएपछि ओलीसँग जोडिएँ कारण माधव नेपालसँग उति निकटता थिएन । माधव नेपालहरूसँग रघु पन्त थिए । उनीहरूले दृष्टि छाडेर बुधबार पत्रिका निकाले । त्यसपछि पार्टीभित्र आन्तरिक द्वन्द्व र गुटबन्दी शुरु भएको हो । माधव नेपाल गुटको प्रतिनिधित्व बुधबारले गथ्र्याे, सम्पादक थिए रघु पन्त, सूर्य थापाहरू । ओली गुटमा हामी जोडियौं । झण्डै २५ वर्षसँग उनीसँगै रहेँ ।

० यो सम्बन्धमा किन ब्रेक लाग्यो ? अहिले किन दूरी बढ्यो ?
– मेरो नेचर नीति प्रधान हुनुपर्छ भन्ने हो तर पार्टी कस्तो भइदियो भने नेतालाई देउता मान्ने । यो गलत अभ्यास पार्टीमा यसरी स्थापित हुँदै गयो कि जसले नेतालाई प्रधान मान्दै गए उनीहरू माथि–माथि चढ्दै गए । जो नीतिलाई प्रधान मान्छ ऊ पछाडि पर्न थाल्यो । यति ठूलो पार्टी आज पतनको डिलमा पुग्नुको पछाडि पार्टीमा विधि, पद्धति, सिद्धान्त केही पनि नरहनु हो । एमालेभित्र यति धेरै बुद्धिजीवी, विज्ञहरू छन् तर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार कोही नभेटेर मारवाडी व्यापारीलाई राखिएको छ । हिजो कम्युनिष्ट पार्टीमा लाग्दा कम्युनिष्ट पार्टीको सदस्यता लिन धेरै फलामे ढोका पार गर्नुपथ्र्याे तर आज भएभरका राजश्वमारा व्यापारीलाई पार्टीमा हुलिएको छ । कम्युनिष्ट पार्टीलाई कसरी ध्वस्त पार्न खोज्दै छन् ओलीले ? यसरी नेतृत्वमा वैचारिक विचलन आयो ? भन्ने घटनाक्रमले देखाइरहेको छ । यसरी कम्युनिष्ट पार्टी सुदृढ बन्दैन । त्यही कारण ओलीसँग नीतिगत रूपमै विमति रह्यो ।

० संविधानसभामा प्रत्यक्षतर्फ पाल्पा ३ बाट उम्मेदवार सिफारिस भएर पछि नाम काटिएपछि तपार्इं ओलीसँग बिच्कनुभएको चर्चा चल्छ ? के हो वास्तविकता ?
– पाल्पाबाट नाम सिफारिस भएर आयो । ओलीले त्यहाँ गएर चुनाव लड्ने हैन । समानुपातिकमा म यतैबाट नाम हाल्दिन्छु भन्नुभयो । समानुपातिकमा नाम सिफारिस पनि भयो । चुनाव परिणाममा मेरो नाम रहेन । पछि सोध्दा माधव नेपालले तपार्इंको नाम काटिदिनुभयो भन्ने जवाफ आयो । मैले माधव नेपाललाई सोध्दा किन तपार्इंको नाम काट्छु मैले ? भनेर उल्टै जंगिनुभयो ।

० अब ओलीको लाइन के हुन्छ ?
– पदमा दुई–चार महिनाको चुरीफुरी होला तर राजनीति र नैतिकतामा ओली सकिए । ५ पुसमा ओलीले आत्महत्या गरेकै दिनदेखि उनको राजनीतिदेखि सबै कुरा समाप्त भयो । बालुवाटार बसुन्जेल धिपधिप बत्ती बल्ने हो, त्यहाँबाट बालकोट गएपछि ‘बा’हरुको घेराबन्दीबाहेक अरुबाट एक्लो हो । उहाँले पार्टी चलाउनुहुन्न, बनाउनु पनि हुन्न । उहाँले कहिल्यै पार्टी बनाउनुभएको पनि होइन, सदैव गुटमा रमाएको मान्छे । घटनाक्रमले उहाँ गैरकम्युनिष्ट र अलोकतान्त्रिक मान्छे भन्ने पुष्टि हुँदै गएको छ । जनताले यी चिज नजिकबाट हेरिरहेका छन् । जनता उल्लु र बेबकुफ छैनन् ।

० पत्रकारलाई राजनीतिक दलले मादल बनाएर खरी छउन्जेल बजाउँछन् खरी सकिएपछि मिल्काउँछन् भन्ने गरिन्छ । खबरकर्मीहरू दलको मादल बन्नु हुने कि नहुने ?
– बिना विचारको पत्रकारिता हुँदैन । नेपालका पत्रकार लोकतान्त्रिक आन्दोलनसँग मिसिएका छन् । चाहे कम्युनिष्ट हुन् वा कांग्रेस । तीस वर्ष पञ्चायती व्यवस्थाविरुद्ध पत्रिका नै पार्टी, विचार र सूचना प्रवाहको माध्यम थियो । धेरै अखबार बन्द भए । पत्रकार जेल गए । पत्रकारले हरेक मोर्चामा पार्टीलाई साथ दिए तर लोकतन्त्र स्थापनापछि पार्टीले तिनको उचित मूल्यांकन गर्न सकेनन् । हाम्रो पार्टी मात्र होइन, अन्य पार्टीमा पनि पत्रकारलाई युज एन्ड थ्रो गर्ने चलन छ । जबकि पत्रकारले पार्टी अध्यक्षले भन्दा बढी काम गरिरहेको हुन्छ । सूचना प्रवाहको क्षेत्रमा २४ सै घण्टा खटिरहेको हुन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो
कोरोनाका कारण वरिष्ठ चिकित्सक आचार्यको निधन
राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर
यो चाँहि किन पर्दैन महोदय ?