दिनेको मन पग्लिनुमा अरुको के दोष ?

दिनेको मन पग्लिनुमा अरुको के दोष ?

प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिने हात ईश्वर पोखरेल तीन वर्षदेखि प्रत्यक्ष जोडिएका छन् विभूषण वितरण गर्ने समितिमा । उनले दिएका विभूषण बदनाम हुँदै छ, बहिष्कार गर्नेहरू बढ्दैछन् ।

०६७ सालमा २६९, ०६९ सालमा १६४, ०७० सालमा १८९ जनालाई वितरण गरिएको तक्मा अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेलको काँधमा आएसँगै ह्वात्तै बढाइएको छ । जस्तो : ०७५ सालमा ५१८, ०७६ सालमा ६३३ लाई दिइएको थियो । ०७७ सालमा आएर ५९४ लाई बाँडिँदै छ । जबकि गृहले मापदण्ड बनाएर २ सयभन्दा बढीलाई तक्मा नदिने नीति अख्तियार गरेको थियो ।

एक साताको बीचमा झण्डै २१ करोड खर्चेर १२२७ जनालाई मानपदवी, अलंकार र विभूषण बाँड्न लागिएको हो । राष्ट्रपतिले ६ सय ३३ लाई गत शुक्रबार तथा पाँच सय ९४ जनालाई नयाँ वर्षका दिन विभूषित गर्ने कार्यक्रम छ ।

केहीअघि गोरखापत्रमा प्रधानमन्त्री ओलीको गुणगानको लामो लेख छपाएबापत सुनसरीका साहित्यकार बद्रीविशाल पोखरेल सुप्रवल जनसेवा श्री (तृतीय) बाट विभूषित हुँदै छन् । सरकारका ६ सचिव विभूषित हुनेको सूचीमा छन् जसमध्ये एक हुन्, सूर्य गौतम । यसअघि नै २ लाख राशिको सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कार थापेका उनी श्रीमती इन्दिरा ढकालको कपी आफैंले जाँचेर उत्तीर्ण गराएपछि निजामती वृत्तमा बदनाम छन् । गौतम सार्वजनिक खरिद अनुगमन कार्यालयमा हुँदा ओम्नी ग्रुपलाई कालोसूचीबाट हटाइदिएबापत उपप्रधानमन्त्री ईश्वर पोखरेलले गुन तिर्न लागेको चर्चा छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दुईवटा पदक थाप्दै छन्, सुप्रवल जनसेवा श्री (तृतीय) र समाजसेवा रत्न । डा.अञ्जान शाक्य, दुवसु क्षेत्री, अख्तियारका आयुक्त किशोर सिलवाल, एचआइडिसियलको छवि धुमिल पार्ने छविराज पोखरेलले समेत पदक थाप्दै छन् । सहसचिव राजेश्वर ज्ञवाली पदक पाउनेको सूचीमा छन् । अर्का सहसचिव मुकुन्द निरौला पनि यही सूचीमा छन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको सिफारिसमा मारवाडी व्यापारी तुल्सीराम अग्रवाल, हिरालाल केडिया, शंकरलाल अग्रवाल, अरबिन्द अग्रवालले विभूषण थाप्दै छन् । गुरु भट्टराईकै शैलीमा प्रधानमन्त्रीको जयजयकार गर्ने र प्रचण्डहरूको खेदो खनेबापत २ नम्बर प्रदेशका प्रमुख पद राजेश अहिराज पनि विभूषित हुनेको सूचीमा छन् ।

विभूषण समितिका सदस्य सचिव गृहसचिव महेश्वर न्यौपानेले चाहिँ साढुभाइलाई तक्मा दिने व्यवस्था मिलाएका छन् । तक्मा पाउनेको सूचीमा २२ जना गृहकै छन् ।

यता, तक्मा र विभूषणमा मनपरी बढेसँगै बहिष्कार गर्नेहरूको संख्या बढ्दै छ । अस्ति बाँडिएको तक्माबाट चुच्चे नक्सा गायब बनाइएको भन्दै सोमबार सञ्चारकर्मी लक्ष्मी पुनले गृहको आभूषण शाखामा पुगेर तक्मा फिर्ताका लागि निवेदन चढाएकी छन् ।

यसअघि पशुपति शर्मा, महजोडी, शिव गाउँले, झलक सुवेदीझैं वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठ, नीलकण्ठ उप्रेतीलगायत झण्डै तीन सयले तक्मा बहिष्कार गरिसकेका छन् ।

टिप्पणीहरू