अर्को पाँच वर्ष चलाउने प्रधानमन्त्रीको आशय

अर्को पाँच वर्ष चलाउने प्रधानमन्त्रीको आशय

गत साता माउण्टेन टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्को कार्यकाल पनि सत्ता चलाउने आशय प्रकट गर्नुभएको छ । ‘तपाईंले कुर्सी छाडेर जाँदा नेपाल कहाँ रहन्छ ?’ भनेर सोधिएको जिज्ञासामा उहाँले ‘कुन कार्यकाल ?’ भनेर उल्टै प्रश्नकर्तालाई सोध्नुभएको थियो । उहाँको कुन कार्यकाल भनेर सोधिएको प्रतिप्रश्नले पुनः अर्को ५ वर्ष पनि प्रधानमन्त्री बन्ने इच्छा र चाहना रहेको प्रष्ट भएको बताइएको छ ।
पछिल्लो तीन वर्षमा मुलुकमा केही पनि काम नभएको हल्ला गर्नेहरूमा दुई चार जना नेता, मिसन लिएर हिँडेका पत्रकार र राजनीतिक उद्देश्यबाट परिचालित नागरिक समाज भएको उहाँको अरोप छ ।

केपी सरकारले काम गर्दै गरेन भन्नेहरूलाई उहाँले जवाफ दिनुभएको छ ‘यो हुँदै होइन,सारा काम भएको छ,के भएको छैन ?’ उहाँले फेहरिस्त सुनाउँदै भन्नुभएको छ ‘चुच्चे नक्सादेखि सगरमाथाको उचाई नापियो, चीनसँग पारवहनको बाटो खोलियो,उता पेट्रोलियम पाइप लाइन पनि बनाइयो ।’

तर गुडाउन ल्याइएको रेल छोपेर राखिएको सन्दर्भमा भने उहाँले ‘छिट्टै चल्ने’ बताउनुभएको छ । रोजगारी, आर्थिक बृद्धिको लागि उत्पादनमूलक काम हुनुपर्दैैन र भनेर सोधिएको जिज्ञासामा उहाँले सातै प्रदेशमा औद्योगिक क्षेत्रको शिलान्यास गरिएको बताउनुभएको छ । प्रधानमन्त्रीले सर्वत्र काम भइरहेको बताइरहँदा उता पार्टीभित्रैबाट आफूलाई तीन वर्षदेखि केही कामै गर्न नदिएर भाँजो हालेको आरोप लगाउँदै आउनुभएको सन्दर्भ भने बिर्सनुभएको देखिन्छ ।

पार्टी गतिविधिको सन्दर्भमा सोझै नभनेपनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाललगायत एकाध नेतालाई छाडिदिने र तलका नेता तथा कार्यकर्ता तान्ने योजना बुनेको देखिन्छ । स्रोत भन्छ-उहाँहरू ‘माथिका फाल्ने, तलबाट तान्ने’ फर्मुला लगाउँदै हुनुहुन्छ ।

भारतसँगको सम्बन्ध र चुच्चे नक्साको सन्दर्भमा प्रधानमन्त्रीले सम्बन्ध अच्छा रहेकोतर्फ इंगित गर्नुभएको छ । चुच्चे नक्साको सन्दर्भपछि पनि भारत बेखुशी नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘कुरो हाम्राले बिगारेका हुन्,भारतले होइन । सम्बन्ध बिगार्न खोज्ने हाम्रा हुन्,भारत होइन ।’

एमसीसीको बारेमा बोल्दै उहाँले यसअघि पार्टीभित्र एमसीसी संशोधनको निम्ति बनाइएको कार्यदल र त्यसको प्रतिवेदनको औचित्य नरहेको बताउनुभएको छ । उहाँको तर्क छ ‘एमसीसीको सन्दर्भमा पार्टीको कुरो पार्टीमा हुन्छ,सरकारको कुरो सरकारमा ।’

तर अन्तरवार्तामा उहाँले मधेशवादी पार्टी जसपासँगको सम्बन्ध र चुनावको बारेमा केही पनि उल्लेख गर्नुभएको छैन ।

टिप्पणीहरू