कोरोनाले विश्वभर कतिको लग्यो ज्यान ?

कोरोनाले विश्वभर कतिको लग्यो ज्यान ?

कोभिड–१९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३० लाख नाघेको छ । शनिबार अबेरसम्म विश्वभर कोरोनाका कारण ३० लाख २६ हजार ३ सय ६७ जनाको ज्यान गएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना महामारीबाट ज्यान गुमाउनेको उक्त संख्या अधिकांश पहिलो लहरको संक्रमणबाट भएको बताइन्छ ।

हाल विश्वमा कोरोना महामारीको दोस्रो लहर देखिएका मुलुकहरुमा अमेरिका,भारत र ब्राजिल प्रमुख छन् । अमेरिकामा हालसम्म ५ लाख ८० हजार ७ सय ५६ जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३ लाख ७१ हजार ८ सय ८९ जना पुगेको छ ।

कोरोना महामारीको दोस्रो लहरको निशानामा भने एशियाली मुलुकहरु पर्न थालेका छन् । पहिलो लहरमा एशियाली मुलुकहरुभन्दा पश्चिमा राष्ट्र बढी प्रभावित थिए । दोस्रो लहरबाट पश्चिमा राष्ट्रहरुलाई उछिनेर छिमेकी मुलुक भारत उच्च जोखिममा परेको देखिन्छ ।

अहिले भारत अमेरिकापछि दोस्रो धेरै कोरोना संक्रमित देश बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ४८ जना नयाँ संक्रमित फेला परेका छन् भने गत शनिबार १ हजार ४ सय ९५ जनाको मृत्यु भएको थियो ।

खुल्ला सीमाना,मानवीय लापरवाहीलगायतका कारणले गर्दा नेपाल पनि संक्रमणको उच्च जोखिममा परेको छ । आइतबार मात्रै नेपालमा ८ जनाले ज्यान गुमाएका छन् भने थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू