डिएसपीकै घरभित्र फरार ‘पत्रकार’

काभ्रेपलाञ्चोक जिल्ला साविक श्यामपाटी गाविस–२ हाल नमोबुद्ध नगरपालिकामा स्थायी बसोबास भई भक्तपुर जिल्ला गठ्ठाघर हुँदै सानोठिमी नजिकै बसोबास गर्ने अरुणकुमार पाण्डे फरार अपराधी हुन् । ०५२ सालमा सञ्चालित एसएलसी परीक्षामा उनी नक्कली परीक्षार्थी बनी सहभागी भएका थिए । सरकारी कागज छाप दस्तखत किर्ते अभियोगमा पक्राउ परेका उनी केही दिन हिरासतमा बसेर निस्किए । तर तत्कालीन जिल्ला अदालत काभ्रेपलाञ्चोकले ०५२ पुस १२ गते ११ महिना ७ दिनको कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनायो ।
सोही मितिदेखि फरार अपराधीको सूचीमा छन् । प्रहरी चौकी श्यामपाटीलाई पठाइएको सूचीमा उनको नाम चौथो नम्बरमा छ । अदालतको नम्बर २४४ उल्लेख गरिएको छ ।

नेपाल सरकार वादी भएर चलाएको मुद्दाका दोषी २५ वर्षसम्म पक्राउ परेका छैनन् । उनको शान, मान र प्रभाव समाजमा उल्लेख्य छ । आफ्नै भाइ डिएसपी भएका कारण पनि हालसम्म पक्राउ नपरेका हुन् । प्रहरीलाई सूचना प्राप्त हुनेबित्तिकै लोकेसन लिन्छ तर भाइ डिएसपी भएकै कारण उनी पक्राउ पर्दैनन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको सदस्यसमेत रहेका पाण्डेलाई चैत २५ गते प्रहरीले समात्ने तयारी गरेको सूचना प्रहरीबाटै चुहियो । मतदान गर्न महासंघको कार्यालयछेउ आएका पाण्डे मतदान नै नगरी फरार भए । प्रहरीबाटै उनलाई भगाइएको सूचना छरपष्ट भयो । २०६१ साल मंसिर १० गते पत्रकार महासंघ काभ्रे शाखाको सदस्यता प्राप्त गरेका रहेछन् ।

पाण्डेजस्ता जिल्लामा १ हजार २ सय व्यक्ति फरार छन् । अदालतले सजायँँ र जरिवाना तोकेका व्यक्ति शानसँग हिँडिरहँदा समाजमा अपराध न्यूनीकरण नभई मौलाउँदै गएको पुष्टि हुन्छ । अपराध गरे पनि संरक्षण हुने, अदालतले फैसला गरे पनि कार्यान्वयन नहुने भएपछि व्यक्तिभित्र हुने डर र त्रास कम हुँदै जान्छ । कुनै न कुनै आडमा अपराधीहरू खुलेआम हिँडेपछि सर्वसाधारणले राज्यका कानुन कार्यान्वयन गर्ने निकायबारे समेत प्रश्न उठाउन थालेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री र उहाँको टोलीले काभ्रेपलाञ्चोक जिल्लालाई अपराधमुक्त बनाउने अभियानअन्तर्गत आक्रामक रूपले अदालतको फैसला कार्यान्वयन गर्न थालेको छ । माघ २ गते हाजिर भएका एसपी खत्रीको टोलीले तीन महिनामा ४८ जना फरार अपराधी पक्राउ गरेको छ । रौतहटमा प्रहरी प्रमुख हुँदा चर्चा कमाएका खत्री ‘लो प्रोफाइल’मा बसेर अपराध न्यूनीकरणमा सक्रिय छन् ।

टिप्पणीहरू