पत्रकारको चुनावले राजनीतिमा देखाएको संकेत

पत्रकारको चुनावले राजनीतिमा देखाएको संकेत

नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट विपुल पोखरेलको नेतृत्वको प्रजातान्त्रिक, वाम र पेशागत मोर्चाले विजय हासिल गरेको छ । प्रेस चौतारीको प्रधानमन्त्री ओली समर्थन निकट समूहले भने नराम्रो हार भएको छ । मुुलुकको चौथो अंगको रूपमा चिनिने पत्रकार महासंघको देशव्यापी प्रत्यक्ष निर्वाचनलाई धेरै दृष्टिकोणले महŒवसाथ हेरिएको थियो ।

निर्वाचन भनेको व्यक्ति र समूहको विगत र वर्तमानका कामको मूल्यांकन र भविष्यको अनुमान गर्ने एउटा प्रजातान्त्रिक विधि र प्रक्रिया पनि हो । यस्तो प्रक्रियामा सबैले आफ्नो समूहलाई विजयी गराउन विभिन्न समीकरण गर्ने कुरालाई प्रजातान्त्रिक निर्वाचनमा स्वाभाविकै मान्नुपर्ने हुन्छ । ०४७ को आम चुनाव र स्थानीय निर्वाचनमा पनि त्यस्तै भएको थियो । कुनै ठूलो शक्ति वा अहंकारी शक्ति वा अन्य समूहको अस्तित्वलाई तिरस्कार गर्नेलाई गठबन्धन गरी हराउने प्रचलन छ । यसरी यो पटक संविधानले अधिकारै नदिएको संसद् विघटन गरी एकलौटी सत्ता सञ्चालन गर्दै आएको ओली सरकारप्रति राजनीतिक तथा पेशागत संगठनमा एक खालको प्रतिस्पर्धा तथा प्रतिशोध पनि थियो । चुनावमा सोही भावनाले पनि काम गरेको अनुमान लगाउन सकिन्छ ।

पत्रकार महासंघको निर्वाचनबाट नेपाली राजनीति पाठ सिक्ने हो भने आगामी संघीय र अन्य निर्वाचनमा पनि शक्ति, समूह र व्यक्तिबीच विभिन्न राजनीतिक समीकरण हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ । राजनीतिमा राजनीतिक समीकरण सुन्दर पक्ष हो । त्यस्तो समीकरण विगतमा भारतीय राजनीतिमा बढी प्रचलित थियो । भारतीय कांग्रेसको प्रोगेसिभ एलायन्स र भारतीय जनता पार्टीको बिजेपी (एनडिए) अलायन्स नामका दुई गठबन्धन अस्तित्वमा थिए र तिनले निर्वाचनमा भाग लिन्थे । मोदी निर्वाचित भएपछि भने त्यो अलायन्सको खेल केन्द्रमा खत्तम भएको छ । हालै भारतीय राज्य बिहार, पश्चिमबंगाललगायतमा भएका विधानसभा निर्वाचनमा पनि त्यस्तो समीकरणका अभ्यास भएका थिए । यसरी राजनीतिमा एउटा खेमाले अर्काे दलीय समूहलाई कमजोर बनाएर निर्वाचनमा जित हासिल गर्न त्यस्तो समीकरण हुने गर्छन् ।
२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । एमाले र राप्रपाबीच काठमाडौंको मेयर, उपमेयर र झापामा तालमेल भएकै हो । तर, काठमाडौंमा तालमेलको विपरीत कांग्रेसले जित हासिल ग¥यो । अर्थात् राप्रपाको तालमेललाई राजधानीवासीले पटक्कै मन पराएनन् ।

अब नेपाली राजनीतिमा राजनीतिक समीकरणको औचित्य अरू बढेको छ । गत संघीय निर्वाचन पनि वाम एकताको नाराअन्तर्गत माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । वर्तमान एमालेको हकमा झलनाथ खनाल र माधवकुमार नेपाल एमाले नै भएर फेरि अर्काे दलसँग चुनावी तालमेल कसरी गर्ने भन्ने एउटा जटिल राजनीतिक बहसको विषय हुँदाहुँदै पनि त्यो नहोला भन्न सकिन्न । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओलीले टिकट नदिए हामी आफँै दिन्छौं भन्ने उद्घोषसमेत गरिसकेको अवस्थाले अबको निर्वाचनमा एमाले, माओवादी केन्द्र वा अन्य पार्टीसँग पनि तालमेल हुने कुरातर्फ संकेत गरिरहेको छ । यस्तो अवस्था आएको खण्डमा एमाले अध्यक्ष ओलीको टिकटबाट चुनाव लड्ने सूर्य चिह्नवाला उम्मेदवारको अवस्था धरापमा पनि पर्ने अवस्था बन्न पुग्छ । पत्रकार महासंघमा भएको चुनावी तालमेल र विजयको परिणामले सोही कुरातर्फ संकेत पनि गरेको छ ।

चुनाव मूलतः जित्ने उद्देश्यले गरिन्छ । चुनावमा तालमेल, समीकरण र शक्तिको लेनदेन गरिन्छ । पत्रकारको निर्वाचन परिणामले तालमेलको सार्थकता अरू बढाएको छ । व्यक्ति जति नै सक्षम, योग्य र लोकप्रिय भए पनि तालमेलले समूह पक्षधरताप्रति विश्वास गर्ने भएकाले सामान्यतयाः तालमेलवालाले जित्ने अवस्था हुन्छ । यस दृष्टिकोणबाट आगामी निर्वाचन नेपाली राजनीतिक इतिहासमा नौलो अभ्यास हुन पुग्ने देखिन्छ । अर्थात् एमाले कानुनी दृष्टिले एउटै दल भए पनि भावनात्मक, व्यावहारिक, नैतिक र सांगठानिक हिसाबले दुईवटा भइसकेको अवस्था छ । यस्तो अवस्थामा एमालेको खनाल–नेपाल समूहले आफूलाई कसरी प्रस्तुत गर्ने हो त्यसैमा तालमेलको परिणाम आउने देखिन्छ । प्रधानमन्त्री माधव समूहसँग झुक्ने र विवाद मिलाउने मुड (सुर) मा देखिन्न । यसैले यस्तो अवस्थामा मर्ता क्या नहीँ करता भनेजस्तो यो समूहले अर्काे पार्टीसँग चुनावी तालमेल नै गर्नुपर्ने राजनीतिक र व्यावहारिक बाध्यता नआउला भन्न सकिन्न । जे होस्, तालमेलले जित्ने सम्भावना भएकोलाई हराउने र हार्ने अवस्थाकोलाई जित्ने अवस्थामा लैजाने पक्का छ । यस्तो अवस्थामा नेपाल पत्रकार महासंघको निर्वाचन परिणामबाट पनि शिक्षा लिने हो भने आगामी दिनमा राजनीतिक समीकरणबाट निर्वाचन हुने संकेत प्रष्ट छ । जनता र नागरिकलाई सूचित र सचेत गराउने भूमिका रहेका पत्रकारको निर्वाचन परिणामले देशको राजनीतिमा एक प्रकारको नयाँ सम्भावनाको सन्देश दिएको छ ।

टिप्पणीहरू