बिराटनगरमा पनि रोकियो संसद

बिराटनगरमा पनि रोकियो संसद

आज बोलाइएको प्रदेश नम्बर १ को संसद बैठक चलिरहेको बेला प्रतिपक्षी दलहरूको अवरोधकाबीच अकस्मात हिउँदे अधिवेशन अन्त्य गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएर संसद बैठक अवरोध गर्दै आएका प्रतिपक्षी दलका सांसदहरूले आजको बैठक पनि अवरोध जारी राखेका थिए । तर, सभामुख प्रदिपकुमार भण्डारीले अवरोधकाबीच एकाएक हिउँदे अधिवेशन अन्त भएको घोषणा गरिदिएका छन् ।

‘हामीले नाराबाजी गरिरहेको बेला सभामुखले प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै हिउँदे अधिवेशन अन्त भएको घोषणा गर्नुभयो’ माओवादी केन्द्रका एकजना सांसदले जनआस्थालाई बताए।

सभामुख भण्डारीले प्रदेश प्रमुखको पत्र पढेर सुनाउन थालेपछि प्रतिपक्षी सांसदहरूले संसद अधिवेशन अन्त गर्न पाईंदैन भन्दै चर्को नाराबाजी गरेका थिए ।


बैठकमा सभामुखले मुख्यमन्त्री राईलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदले झन् चर्को नारा लगाए । नाराबाजीबीच उनीहरूले विपक्षी दलसँग सहमति नगरेसम्म मुख्यमन्त्रीलाई बोल्न नदिने अडान लिएका थिए । त्यसबीच सभामुखले प्रदेश प्रमुखको पत्र भन्दै संसद अधिवेशन अन्त्य भएको घोषणा गरिदिएका हुन् ।

बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र,जनता समाजवादी,राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले मुख्यमन्त्री राईको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।

चालु आर्थिक वर्ष विनियोजित कार्यक्रमको निम्ति अझै बजेट निकासा नभएको,गौरवका आयोजनाहरू अलपत्र परेको, बजेट निर्माण र खर्चमा पारदर्शीता नदेखिएको लगायतका आरोप राईमाथि लाग्दै आएको छ ।

मुख्यमन्त्री राईविरुद्ध यसअघि परेको अविश्वासको प्रस्ताव फिर्ता भएपछि चैत २६ ,२७ र ३० गते बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएपछि आजलाई बोलाइएको थियो ।

टिप्पणीहरू