तान्त्रिक काममा महिलाको हत्या

तान्त्रिक काममा महिलाको हत्या

तान्त्रिक प्रयोजनको लागि मानिसको हत्या गरी शरिरका अंगहरू बेचबिखन गर्ने एक गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जिल्लाको शुध्दोधन गाउँपालिका २ का नन्दबहादुर बस्नेत,सोही स्थानका बेलाल अहमद मुसलमान,अब्दुल कलाम मुसलमान,वडा नम्बर ५ का रामहव यादव,रुपन्देही बनकट्टाका कर्णबहादुर सुनार,पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–७ का खेमबहादुर मल्लसहित ६ जना रहेका छन् ।

३९ देखि ६७ वर्ष उमेरका उनीहरूले मानिसको औंला काटेर बेचेमा प्रति औंला ८० लाख रुपैयाँसम्म पाइने भ्रम र प्रलोभन छर्दै आएका थिए । अधिकारीका अनुसार त्यसरी छरिएको भ्रमबाट विश्वास दिलाइएकामध्ये पछिल्लो रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ५ मा बस्दै आएकी सरजहाँ दर्जीको चैत १२ गते हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उक्त गिरोहले मृतक दर्जीलाई चैत १२ गते ललाई–फकाइ कपिलवस्तु शुध्दोधन गाउँपालिका–३ हर्दिहवामा बोलाएर हत्या गरी दुबै हातका औंलाहरू काटी लाश बोरामा हालेर बेतिया नदीमा फालिदिएका थिए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू