सडकको निम्ति सडक ठप्प

सडकको निम्ति सडक ठप्प

सगरमाथाको द्वारको रुपमा चिनिने सिध्दिचरण राजमार्ग स्तरोन्नतिको माग राख्दै सर्वसाधारणहरू आन्दोलित हुने भएका छन् ।

राजमार्गमा यात्रा गर्दा यात्रुको ज्यान जोखिममा परेको र सवारी साधनको दुर्घटना हुने सम्भावना बढेपछि आन्दोलन गर्न बाध्य भएको राजमार्ग स्तरोन्नति संघर्ष समितिका संयोजक दिपक बुढा क्षेत्रीले बताए ।

आन्दोलनकारीहरूले सार्वजनिक गरेको कार्यक्रमअनुसार बैशाख ६ गतेदेखि राजमार्ग अनिश्चितकालीन समयका लागि बन्द गरिने छ ।

संघीय तथा प्रादेशिक प्राथमिकता र पहुँचमा नपरेको उक्त राजमार्गमा करिब १५ वर्षअघि कालोपत्रे गरिएको थियो । तर त्यसपछि मर्मत सम्भार र स्तरोन्नतिको काम हुन नसकेको बताइन्छ ।

उदयपुरमा करिब ४४ किलोमिटर सडक खण्ड रहेको उक्त राजमार्गका अधिकांश ठाउँमा निकै ठूला खाल्डा छन् । जसले गर्दा यात्रुहरूको ज्यान जोखिममा र सवारी साधनका पार्टसहरू भाँचिएर बाटैमा बिग्रिने गरेको स्थानीय बलबहादुर खत्रीले बताए ।

केही दिनअघि संघर्षको कार्यक्रम सार्वजनिक गरे पनि अहिलेसम्म सडक विभाग,स्थानीय प्रशासनले समस्याको शान्तिपूर्ण समाधानको निम्ति पहल नगरेको समितिका संयोजक क्षेत्रीले जनआस्थालाई बताए ।

आन्दोलनले गर्दा दैनिक रुपमा चल्ने बस,बोलेरो जीप,पीकअप भ्यानलगातका करिब डेढ दर्जन यात्रुबाहक सवारी साधनहरू ठप्प हुनेछन् । त्यसैगरी एक दर्जन मालवाहक सवारी साधनहरू बन्द हुनेछन् । यसबाट दैनिक ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार प्रभावित हुने बताइन्छ ।

सिरहाको मिर्चैयादेखि उदयपुरको प्रमुख बजार कटारी,घुर्मी हुँदै ओखलढुङ्गासम्म पुग्ने उक्त सडक खण्ड पहाडी राजमार्ग हो । यसले उदयपुरको पश्चिमोत्तर,खोटाङ, ओखलढुङगा र सोलुखुम्बुबासीलाई यातायात सेवा पुर्याउँदै आएको छ ।

टिप्पणीहरू