पूर्वराजालाई भित्र्याउन भव्य तयारी

पूर्वराजालाई भित्र्याउन भव्य तयारी

भारतको धार्मिक भ्रमणबाट फर्किन लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा भव्य स्वागतको तयारी गरिएको छ । पूर्वराजा शाह आज आइतबार नेपाल फर्किने कार्यक्रम छ । नयाँ दिल्लीबाट काठमाडौँ विमानस्थलमा उत्रिँदा शाहलाई उहाँका समर्थकहरुले भव्य स्वागतको तयारी गरेका हुन् ।

वीर गोर्खाली नामक संस्थाले ‘श्री ५ महाराजधिराज सरकारको फिर्ती सवारी भव्य रुपले सफल पारौँ’ भन्दै मोटरसाइकल र्यालीमा सहभागी हुन आव्हान गरेको छ । आव्हानमा भनिएको छ, ‘वैशाख ५ गते आइतबार दिउँसो २ बजे बनकाली गौशाला जाऔं । श्री ५ महाराजधिराज सरकारको फिर्ती सवारी भब्य रुपले सफल पारौं । वीर गोर्खाली न झुक्छौ न रोकिन्छौ नै ।’

त्यस्तै, जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन-२०७७ ले पनि पूर्वराजाको स्वदेश फिर्तालाई भव्य बनाउन भन्दै सर्वसाधारण तथा राजावादीहरूलाई सहभागी हुन आह्वान गरेका छन् ।

भारतको हरिद्वारामा आयोजित महाकुम्भ मेलामा सहभागी हुन् त्यहाँ पुग्नुभएका शाहलाई भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्नुभएको थियो ।

भारतमा भव्य सम्मान पाउनुभएका पूर्वराजालाई उहाँका समर्थकहरुले एअरपोर्टदेखि नै र्यालीसहित स्वागतको तयारी गरेका हुन् ।

टिप्पणीहरू