कोरोना भर्सेज सरकार : तयारी शून्य रहेको विपक्षीको आरोप

कोरोना भर्सेज सरकार : तयारी शून्य रहेको विपक्षीको आरोप

-शिव अधिकारी

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारण त्रासमा छन् । केही दिन यता नेपालमा पनि नयाँ भेरियेन्टको भाइरसको संक्रमणदर बढिरहेको छ भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

पहिलो चरण अर्थात लहरको कोभिड–१९ बाट बच्न सरकारले लामो लकडाउन त गर्यो तर,दोस्रो लहर आउला भन्नेतर्फ ध्यान दिन सकेन । यसको अर्थ सकारले लकडाउन गरेर केही समय कोरोना न्यूनीकरण गरे तापनि दोस्रो लहरतर्फ ध्यान दिन सकेन ।

राजनीतिक जमघट,र्याली, भीडभाड गरेर कोरोनाको दोस्रो लहरलाई सहर्ष आमन्त्रण गरियो ।
अहिले नयाँ भेरियन्टको कोभिडले लकडाउन गर्ने,विद्यालय बन्द गर्ने कि नगर्ने ? भन्ने विषयमा सरकारकै टाउको दुख्न थालेको छ

लामो लकडाउन भएकै समयमा नेपाली राजनीतिमा उथलपुथलको उग्र रुप पनि देखियो । परिणामस्वरुप राजनीतिक जमघट,र्याली, भीडभाड गरेर कोरोनाको दोस्रो लहरलाई सहर्ष आमन्त्रण गरियो ।

अहिले नयाँ भेरियन्टको कोभिडले लकडाउन गर्ने,विद्यालय बन्द गर्ने कि नगर्ने ? भन्ने विषयमा सरकारकै टाउको दुख्न थालेको छ । लामो समयको लकडाउनमा पिल्सिएको अर्थतन्त्रले पनि लकडाउन नहोस् भन्दै सरकारको गोडा समाइरहेको छ ।

प्रतिपक्षी दलहरू भन्छन् ‘आमन्त्रित भेरियन्टले सरकारलाई ज्वरो आउने दिन नजिकिँदै जानुको कारण स्वयम् सरकार नै हो ।’ करिब ८–९ महिनाको अवधिमा सरकारले कोरोनाबाट कसरी बच्ने भनेर सोच्न त सकेन नै सामान्य सचेतनामूलक कार्यक्रम समेत गर्न नसकेको आरोप विपक्षीहरूले सरकारमाथि लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाको विषयमा धेरै प्रश्न उठाएको जनाएको छ । गत चैत ३१ गते बसेको नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को अस्तव्यस्त व्यवस्थापन,चरम आर्थिक दुरुपयोग,स्वास्थ्य सामग्री खरिदमा भएको व्यापक भ्रष्टाचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको जनाएको छ ।

कोभिड—१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुनसक्ने र विश्वको अन्य देशमा देखिएका कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको लापरवाहीका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलँदो रुपमा रहेको नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ रोकथामका लागि नेपाली काँग्रेसले गम्भीर अवस्थाका बिरामीहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरू र सीमा नाकाबाट आउनेहरूलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरूलाई लक्षित गरी पीसीआर परिक्षण दायरालाई व्यापक बनाउन सरकारसँग माग गरेको छ ।

त्यस्तै,कोभिड—१९ विरुद्धको खोप आमजनतासमक्ष पुर्याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाउन,खोप आपूर्ति सुनिश्चितताको लागि उच्च कूटनैतिक पहल गर्न, स्वास्थ्यकर्मीहरूको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको समेत काँग्रेसले भर्त्सना गरेको छ ।

तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गरेको नेपाली कांग्रेसले देशले फेरि लकडाउनको अवस्था धान्नसक्ने अवस्था नरहेको बताउँदै यस्तो परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने, अनुगमनलाई मजबुत तुल्याउने र कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएको सह–महामन्त्री तथा कोभिड–१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले बताएका छन् ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पछिल्लो समयमा सरकार लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योलग्रस्त बनेको बताउनुभएको छ । आमनागरिकले लकडाउन नचाहेको बेलामा सरकारले लकडाउ गर्न नहुने धारणा राख्दै उहाँले भन्नुभएको छ ‘लकडाउन र विद्यालय बन्दसम्बन्धी निर्णय सरकारले गर्ने भएकाले आफूहरूले कुनै टिप्पणी गर्न मिल्दैन ।’ बरु उहाँले नागरिक आफैँ सचेत भएमा महामारीको त्रास कम हुने बताउनुभयो ।

टिप्पणीहरू