कृषि क्याम्पसमा भएको हमला निन्दनीय : काँग्रेस

कृषि क्याम्पसमा भएको हमला निन्दनीय : काँग्रेस

नेपाली काँग्रेसले चितवनको रामपुरस्थित कृषि क्याम्पसमा भएको हमलाको भत्र्सना गरेको छ । काँग्रेस संसदीय दलले हिजो नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि हमला भएको भन्दै घटनाको निन्दा र भत्र्सना गरेको हाे ।

आज एक विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दलले शिक्षण संस्थाजस्तो पवित्र ठाउँमा हतियारसहित आक्रमण हुनु दुःखद् भएको बताएको छ । ‘शिक्षण संस्था भनेको ज्ञान आर्जन गर्ने थलो मात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र हो । शान्ति क्षेत्रमा नै हतियारसहित आक्रमण हुनु अत्यन्त दुःखद् पक्ष हो ।’

क्यामपसमा हातियारसहित विद्यार्थीमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बन्नु लज्जाको विषय भएको भन्दै विज्ञप्तिमा प्रशासनको लाचारीप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।

आक्रमणबाट नेविसंघका दिपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते भएका छन् । विज्ञप्तिमा उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्नको तत्काल खोजी गरी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

साथै, विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्नसक्ने संस्था बनाउन काँग्रेसले सरकारसँग माग गरेको छ ।

यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाको निन्दा गर्दै विज्ञप्ति निकालेका थिए ।

टिप्पणीहरू