बालुवाटारमा टीका लगाउनेमा भारतीय पनि

बालुवाटारमा टीका लगाउनेमा भारतीय पनि

चैत पहिलो साता बालुवाटारमा रात्रीभोज र छलफलको निम्ति बोलाइएर एमाले पार्टी प्रवेश गर्नेमध्ये एक जना भारतीय नागरिक पनि भएको खबर छ ।

शुक्रबारको त्यो दिन दिउँसो व्यापारी र व्यवसायीलाई खबर गर्ने अरु कोही नभएर प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्व उध्योग,वाणिज्य राज्यमन्त्री मोतीलाल दुगड थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीहरूको गुनासो सुन्ने र छलफल गर्ने भन्दै बोलाइएका झण्डै डेढ सय व्यापारीहरूमध्ये ९० जना जतिले एमालेमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको हातबाट टीका र खादा लगाएका थिए । कार्यक्रममा सहभागी एकजना व्यवसायीले भने ‘मुठ्ठी कसेर रातो टीका लगाउनेहरूको हुलमा एक जना भारतीय व्यापारी समेत थिए । उनले समेत प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हातबाट टीका र खादा लगाए ।’

महेन्द्र अग्रवाल नाम गरेका ती व्यापारी भारतीय नागरिक भएको बताइन्छ । दुगडले बोलाएपछि उनी बालुवाटार पुगेर नेपालभित्र मात्रै होइन एमालेमै प्रवेश गरिदिए । यसरी घुमाई फिराई प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले भारतीयलाई पनि एमाले बनाएर पार्टी प्रवेश गर्नेको संख्या बढाइदिएका हुन् ।

एमाले प्रवेश गरेका मध्ये केहीलाई प्रधानमन्त्रीले टीका लगाइदिनुभएको थियो भने बाँकीलाई ईश्वरले टीका लगाउनुभएको थियो । स्रोतकाअनुसार अग्रवाल एक्सपोर्ट इम्पोर्टमा संलग्न व्यापारी हुन् ।

त्यसदिन बालुवाटारमा मुठी उचाल्नेमध्ये दुई तिहाई जति व्यवसायी व्यापारी समुदायमा परिचित नाम थिएन । हुन तः स्वयम् दुगडको विगत पनि व्यावसायिक पृष्ठभूमिको होइन भनिन्छ । उनले कुनैबेला बिराटनगरको जलजला सिनेमामा टिकट बिक्रीको काम गर्ने गरेको जानकारहरुले बताए ।

टिप्पणीहरू