उद्घाटन खेलमै बलियो प्रतिद्वन्दी : पारस मैदान बाहिर

उद्घाटन खेलमै बलियो प्रतिद्वन्दी : पारस मैदान बाहिर

आजबाट त्रिकोणात्मक सिरिज शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि हुने त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नेदरल्याण्ड्ससँगै मलेसिया सहभागी त्रिदेशीय त्रिकोणत्मक प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा दिउँसो १ः१५ बजेबाट शुरु हुने क्यानले बताएको छ ।

कोभिड–१९ को दोस्रो लहरका बाबजुद पनि क्यानले दर्शकसहित खेल आयोजना गर्न लागेको हो । शुक्रबार ट्रफी सार्वजनिक गर्दै क्यानका जनरल म्यानेजर रौनक मल्लले सीमित संख्यामा दर्शकलाई प्रवेश दिने बताएका छन् ।

१४ महिनापछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालले त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ ।

यस्तै, नेपाली क्रिकेट जगतका हस्ती तथा पूर्वकप्तान पारस खड्काले भने सिरिज खेल्न नपाउने भएका छन् । प्रशिक्षणको क्रममा चोट लागेपछि पारस सिरिजबाट बाहिरिएका छन् । उनको स्थानमा सन्दिप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ ।

अहिलेसम्म बलियो मानिएको प्रतिद्वन्दी नेदरल्याण्ड पाएको नेपालले नेदरल्याण्ड्ससँग खेलेका ८ खेलमध्ये २ खेल मात्र आफ्नो पक्षमा पारेको छ । नेदरल्याण्ड्सले भने नेपाललाई ५ पटक पराजित गरिसकेको छ । एक खेल भने वर्षाका कारण प्रभाभित भएको थियो ।

टिप्पणीहरू