काठमाडौंमा एमाले खनाल–नेपाल पक्षका इञ्चार्जहरु

काठमाडौंमा एमाले खनाल–नेपाल पक्षका इञ्चार्जहरु

नेकपा एमाले खनाल–नेपाल पक्षले २ सय २५ सदस्यीय काठमाडौँ जिल्ला कमिटी घोषणा गरेको छ ।

बैठकले जिल्लाका १० वटै निर्वाचन क्षेत्र र १ सय ३८ वटै वडामा कमिटी विस्तार गर्ने भनेको छ । बैठकमा अध्यक्ष बसन्त मानन्धरले आगामी वैशाख २० गतेभित्र नगरस्तरका सबै सङ्गठन ब्यवस्थित गरिसक्ने र बैशाख मसान्तसम्म वडा तहका कमिटी विस्तार गर्ने कार्ययोजना पेश गरेका थिए ।

त्यस्तै,बैशाख मसान्तसम्ममा जिल्ला कमिटीअन्तर्गतका सबै काम चुस्त बनाउने र पार्टी सदस्यता व्यवस्थित गर्ने मानन्धरले बताए । बैशाख ९ गते दिउँसो प्रज्ञा भवनमा एमाले स्थापना दिवस मनाउने जानकारी दिँदै उनले प्रत्येक क्षेत्रबाट कम्तिमा १ सय जना उपस्थित गराउन सम्बन्धित कमिटीलाई निर्देशनसमेत दिएका छन् ।

त्यसका लागि उक्त पक्षले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा व्यवस्थापन समिति गठन गरेको छ । त्यसैगरी वैशाख १३ गते मनमोहन अधिकारीको २२ औँ स्मृति दिवस र जेठ ३० गते मदन–आश्रित स्मृति दिवस मनाउने निर्णय छ ।

शुक्रबार बल्खुस्थित सिध्दि गणेश पार्टी भेन्युमा आयोजित काठमाडौँ जिल्ला कमिटीका पदाधिकारीहरूको शपथग्रहण तथा पहिलो पूर्ण बैठकमा क्षेत्रीय संयोजक र नगरकमिटी इञ्चार्जहरूको नाम सार्वजनिक गरिएको छ ।

जसअनुसार क्षेत्र नं. १ संयोजकको जिम्मा ओमकुमार श्रेष्ठलाई दिइएको छ भने क्षेत्र नं २ को संयोजक रुद्र चापागाईंलाई बनाइएको छ । क्षेत्र नं ३ मा विमल अर्याल,४ मा ध्रुवराज न्यौपाने र ५ मा आरती सेढाईंले संयोजकको जिम्मेवारी पाएका छन् । त्यस्तै, क्षेत्र नं ६ मा ईश्वर बिडारी र क्षेत्र नं १० को संयोजकमा बटुकृष्ण थापा तोकिएका छन् ।

सो पक्षले नगरकमिटी इञ्चार्ज पनि तोकेको छ । दक्षिणकाली नगरपालिकामा श्याम केसी, कीर्तिपुर नगरपालिकामा राजेन्द्र महर्जन,गोकर्णेश्वर नगरपालिकामा गोकुल धिमाल र तारकेश्वर नगरपालिकामा लब बस्नेतलाई इञ्चार्ज बनाइएको छ ।

त्यसैगरी,नागार्जुन नगरपालिकामा कृष्णहरि खत्री,चन्द्रागिरी नगरपालिकामा भाइकृष्ण बलामी र टोखा नगरकमिटी इञ्चार्जमा जेपी नेपालले जिम्मेवारी पाएका छन् । कागेश्वरी–मनोहरा नगरकमिटीमा डा.रमेश ढकाल र बूढानीलकण्ठ नगरपालिकामा हरिराम ढुङ्गाना नगरकमिटी इञ्चार्ज तोकिएका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै असन्तुष्ट नेपाल पक्षले समानान्तर कमिटी विस्तार गरिरहेको छ । वडास्तरसम्म समानान्तर कमिटी गठनको अभियान नै शुरु गरेको सो पक्षले काठमाडौँ जिल्लामा पनि छुट्टै कमिटी बनाएको हो ।

टिप्पणीहरू