विद्यालय बन्द गर्ने अधिकार स्थानीय सरकारलाई

विद्यालय बन्द गर्ने अधिकार स्थानीय सरकारलाई

कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई भएको शिक्षा मन्त्रालयले बताएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँ विशेषको अवस्था हेरेर विद्यालय सञ्चालन अथवा बन्द गर्ने निर्णय स्थानीय तहलाई नै भएको आज प्रस्ट्याएको हो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयद्वारा जारी मापदण्ड पालना गरेर स्थानीय परिवेशअनुसार भौतिक अथवा वैकल्पिक रुपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कोभिड संक्रमणको पुनः बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरिसकेपछि हाम्रो यसमा गम्भिर ध्यानाकर्षण भएको छ । यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्नसक्ने विभिन्न असरबारे विभिन्न कोणबाट छलफल गरेका छौँ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र कुनैपनि सभा, समारोह,वार्षिकोत्सवजस्ता भीडभाड हुने प्रकृतिका कुनैपनि कार्यक्रमहरू आयोजना नगर्नु, नगराउनुहुन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छौँ ।’

मन्त्रालयले विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अवलम्वन गरेर, प्रतिकूल परिस्थितिमा पनि सिकाईलाई निरन्तरता दिन अभिभावक,शिक्षक,सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू