कांग्रेसले ठोक्ने, कम्युनिष्टले बोक्ने

कांग्रेसले ठोक्ने, कम्युनिष्टले बोक्ने

कुनै बेला माओवादीहरु भन्ने गर्थे, ‘प्रचण्डको आदेश पाए ज्यान दिन तयार छौँ  ।’ तर, अहिले कस्तो बेला आयो भने बरु हवल्दारका आदेश पुलिसले मान्लान्, प्रचण्डको आदेश टेर्न छाडे । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा यस्तो देखिएको हो ।

महासंघको केन्द्रीय सदस्यका एकजना उम्मेदवार र एउटा प्रदेशको अध्यक्ष पाउने कुरालाई लिएर माधव नेपालसँग भएको सहमतिअनुसार प्रचण्डले आदेश दिनुभयो । तर, उहाँको आदेश पालना नहुँदा माधवपक्षीय प्रेस चौतारीका नेताहरु माओवादीसँग फेरि एकता भएमा सँगै जान नसकिने निश्कर्षमा पुगेका छन् । यस्तो घटना भएको हो, गण्डकी र लुम्बिनी प्रदेशमा ।

केन्द्रीय समितिमा गण्डकी प्रदेशबाट निर्वाचित हुनुपर्ने विषयलाई लिएर प्रचण्ड र माधवबीच भएको सहमति कार्यान्वयन भएन । एक प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित हुने महासंघको विधानअनुसार गण्डकी प्रदेशको एउटा केन्द्रीय सदस्य कांग्रेसको भागमा र अर्को एमाले–माओवादीमध्ये एकको भागमा पारिएको थियो । उक्त प्रदेशको महासंघ अध्यक्ष रहेका माओवादीसम्बद्ध प्रेस संगठनका त्रिभुवन पौडेलले प्रदेश अध्यक्ष नै दोहो¥याउने भनेपछि त्यहाँबाट एमालेसम्बद्ध प्रेस चौतारीका नवराज सुवेदीले मनोनयन दर्ता गरे । तर, प्रदेश अध्यक्ष दोहोरिन्छु भन्ने त्रिभुवनले नवराजकै ठाउँमा मनोनयन दर्ता गरिदिए । भएका उम्मेदवारमध्ये सबैभन्दा पुराना थिए, नवराज । त्यसमाथि अदालतले नेकपाको एकता बदर गर्नुअघि एउटै संगठन भएर हिँड्नेहरु नै प्रतिस्पर्धी नहुन् भन्नका लागि प्रेस चौतारीले संगठनसँग आग्रह गर्दा माओवादीका पत्रकार नेताहरुले कुरा मिलाउन सकेनन् ।

त्यसपछि चौतारीको नेतृत्वमा रहेका विश्वमणि सुवेदी, नरेन्द्र साउद, राजेश राईहरु बिहानै कोटेश्वरस्थित माधव नेपालको घरमा पुगे । माधवले प्रचण्डलाई नवराजको उम्मेदवारी कायम राख्न अनुरोध गर्नुभयो । प्रचण्डले जवाफ दिनुभयो, ‘म नवराजलाई राम्रोसँग चिन्छु । उहाँले केन्द्रीय सदस्य हुन्छु भन्दाभन्दै त्रिभुवनले अड्डी कस्न मिल्दैन । म उहाँलाई अहिल्यै फोन गरेर उम्मेदवारी फिर्ता लिन भनिदिन्छु ।’ नभन्दै त्यो फोन ह्यान्ड्स फ्रिमा भएकै बेला प्रचण्डले अर्को फोनबाट त्रिभुवनलाई भन्नुभयो, ‘मलाई माधवजीले पनि भन्नुभयो । अरु थुप्रै साथीहरु, हाम्रै संगठनका साथीहरुको भनाइ पनि त्यही आयो, तपाईंले उम्मेदवारी फिर्ता लिएर नवराजका लागि सजिलो पारिदिनुस् ।’ यति भनेर प्रचण्डले फोन काट्नुभयो । फेरि माधवलाई भन्नुभयो, ‘सुन्नुभयो नि, मैले भनिसकेँ है ।’

यति कुरा सुनेर उत्साहित हुँदै चौतारीका नेताहरु कोटेश्वरबाट निस्किए तर उनीहरु बानेश्वर नपुग्दै त्रिभुवनले नवराजलाई फोन गरेर भने, ‘मलाई ठुल्ठूला ठाउँबाट फोन आइसक्यो तर म उम्मेदवारचाहिँ हुन्छु है, तपाईं भ्रममा नपर्नुस् ।’ एउटा राजनीतिक कार्यकर्ता, प्रचण्डकै नाममा खाइखेली गर्दै आएको पत्रकारले प्रचण्डको आदेश मान्दिनँ भनेर हाकाहाकी भनिसकेपछि नवराज आफैँ थाके । र, छोरा–नातिसमानका त्रिभुवनसँग चुनावमा उठेर हार्नुभन्दा उम्मेदवार नै बन्दिनँ भन्दै पोखरा फर्किए ।

यो घटना भएको पर्सिपल्ट फेरि पत्रकार महासंघकै लुम्बिनी प्रदेश समितिको कुरालाई लिएर प्रचण्डको आदेशलाई धोती लगाइयो । बरु, उहाँको पार्टीसम्बद्ध पत्रकार मौसम रोकाले प्रेस चौतारीको दुई कार्यकाल अध्यक्ष चलाएका बालकृष्ण चापागाईंमाथि भालुवाङमा दुव्र्यवहार नै गरिदिए । माओवादीसम्बद्ध प्रेस संगठनले चौतारीले पाउने भाग पनि आफैँले सहमति गरेर लिँदा लुम्बिनीमा समस्या आएको बताइन्छ । महासंघका आठ भौगोलिक प्रदेशमध्ये दुई प्रदेश माओवादी र एमाले पत्रकारका लागि दिने सहमति गर्दा माओवादी पत्रकारका नेतामात्रै थिए, एमाले चौतारीलाई थाहा दिइएन । सहमतिअनुसार, माओवादी र एमालेले पाएको दुई प्रदेश हो, लुम्बिनी र कर्णाली । त्यस्तो सहमति हुनुअघि नै कर्णाली प्रदेशमा माओवादीलाई नेतृत्व दिन प्रेस चौतारी सहमत भइसकेको थियो । त्यसपछि बाँकी रहेको लुम्बिनी आफ्नो भागमा परेको ठानेर चौतारीले कान्तिपुरका घनश्याम गौतमलाई अध्यक्ष बनाएर उम्मेदवारको सेट तयार पा¥यो । तर, माओवादीसम्बद्ध पत्रकारले मानेनन् ।

कहिल्यै पदका लागि नदौडिने एमाले उपमहासचिव घनश्याम भुषाल यो विवाद मिलाउन आफैँ कहिले प्रचण्डकहाँ, कहिले मीनेन्द्र रिजालकहाँ धाउने अवस्थामा पुग्नुभयो । चौतारीका तीनजना पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, बालकृष्ण चापागाँईं र गगन विष्ट लुम्बिनी नछाड्ने कुरामा निक्कै सक्रिय भए । संगठनबीचमै सहमति हुन नसकेपछि यसबारे कुरा राख्न फेरि चौतारीका नेता पुगे, माधव नेपालकहाँ । माधवले प्रचण्डसँग फेरि पनि कुरा गर्नुभयो । प्रचण्डले भन्नुपर्ने आफ्ना पत्रकार नेताहरु सबैलाई भनिदिनुभयो । तर, आदेश मान्नु त कहाँ हो कहाँ, ‘नेता लगाएर हामीलाई अप्ठेरो पार्छस्’ भन्दै माओवादी पत्रकारका नेता मौसम रोकाले भालुवाङमा बालकृष्ण चापागाईंलाई झम्टिन पुगेको गुनासो छ ।

प्रदेश १ बाट जित्नुपर्ने केन्द्रीय सदस्यमा यस्तै ज्यादती भयो । दुईमध्ये एउटा प्रेस युनियन र अर्को प्रेस चौतारीको भागमा परेको थियो । चौतारीले श्यामकृष्ण दाहाललाई उम्मेदवार बनायो । तर, माओवादीका तारामणि सापकोटा बागी बने । उनी फिर्ता भएनन्, बरु माओवादी र कांग्रेसका आधिकारिक उम्मेदवारसँगै भोट माग्न हिँडे, आधिकारिक उम्मेदवार श्यामकृष्णलाई सामेल गरिएन । फलतः न तारामणिले जिते, न श्यामले । यो झगडाले गर्दा जसपासम्बद्ध ओखलढुंगाका दीपेन्द्र रुम्दालीले जिते । त्यसो त चौतारीलाई कांग्रेसले पनि सिध्याउन बाँकी राखेन ।

चौतारीको सहमतिबेगर धादिङको नेतृत्व कांग्रेसले दावी ग¥यो । त्यसअघि चौतारीले दावी गरेको मकवानपुर छोडिदिने शर्तमा चौतारीका नवराज छत्कुली प्रदेश उपाध्यक्षमा आधिकारिक बनाइए । तर, चौतारीले धादिङ छाड्न नमानेबापत कांग्रेसले छत्कुलीलाई हराइछाड्यो । बाजुरामा कांग्रेस र ओली पक्ष मिल्दा बहुमतमा रहेको चौतारी पराजित भयो । बारामा पनि कांग्रेस र ओली मिल्दा चौतारीका गोकुल घोरसाइने पराजित भए । राजनीतिक संस्कारचाहिँ माओवादीभन्दा बढी कांग्रेसले देखायो । उसले केन्द्रमा बागी उम्मेदवार बनेका यम विरही, सुवोध गौतमसहित विभिन्न जिल्लाका बागीलाई समयमै निलम्बनदेखि बर्खास्तसम्म गरिदिनाले गठबन्धनमा क्षति हुन पाएन । तर, माओवादीले ‘गर्छौं–गर्छौं’ भन्दै कसैमाथि कारवाही नगर्दा त्यसको मारमा चौतारी पर्न गयो ।

उनीहरुले चौतारीको भागमा परेको रसुवाको अध्यक्ष अनेकन अत्तो थापेर खोसे, बाजुरामा पनि उम्मेदवार खडा गरेर समस्या उत्पन्न भयो । पछि महेश्वर दाहालको आदेशले उम्मेदवार त फिर्ता भए तर कांग्रेस गएर ओली गुटमा मिलिदियो ।

टिप्पणीहरू