कर्णालीका मुख्यमन्त्रीलाई कष्ट

कर्णालीका मुख्यमन्त्रीलाई कष्ट

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ। अहिले केहीबेरमा बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेले विश्वासको मत झिकेपछि संकटमा परेका मुख्यमन्त्री शाही विश्वासको मत जुटाएर सरकार जोगाउन कसरतरत हुनुहुन्छ । एमालेइतरका सबै दल मिल्दासमेत प्रदेशसभाको अंकगणित शाहीका लागि अनुकूल छैन ।

एक मत रहेको राप्रपाले तटस्थ रहने निर्णय गरेपछि शाहीलाई थप चुनौती बढेको छ । ६ मत भएको काँग्रेसले अहिलेसम्म निर्णय गरेको छैन । एमालेले शाहीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ ।

४० सदस्यीय प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्छ । तर,एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुन्छ ।

राप्रपाले साथ छोडेको र एमालेले ह्विप लगाएको अवस्थामा मुख्यमन्त्री शाहीको सरकार जोगिने सम्भावना कमजोर बनेको छ ।

टिप्पणीहरू