गणतन्त्रको योध्दा गुम्दा शाक्यको शोक

गणतन्त्रको योध्दा गुम्दा शाक्यको शोक

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कीर्तिपुर नगरपालिका- ७ का वडाध्यक्ष राजकुमार मालीको निधनप्रति दु:ख व्यक्त गरेको छ । सो पक्षको कीर्तिपुर नगर कमिटीले आज आयोजना गरेको श्रध्दाञ्जली सभामा बोल्दै बागमती प्रदेशकी ईन्चार्ज अष्ट लक्ष्मी शाक्यले मालीको निधनले लोकतन्त्र र गणतन्त्रको योद्धा गुमाउनु परेको बताउनुभयो ।

मृतक मालीको निवास कीर्तिपुर नगरपालिका-७ भाजङ्गलमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले मालीको निधनले सिङ्गो समाज र नगरपालिका शोकमा डुबेको बताउनुभयो । ‘राजकुमार मालीले बोकेको सपनालाई अत्मसात गर्दै अगाडि बढ्नुपर्नेछ । लोकतन्त्र र गणतन्त्रका लागि लडेको योध्दाका लागि पार्टीले निरन्तर सहयोग गर्नपर्छ’, शाक्यले भन्नुभयो ।

निरङकुश पञ्चायतविरुद्ध गीतसंगीतका माध्यमबाट निरन्तर संघर्ष गरेका मालीको योगदानको सम्मान गर्दै लोकतन्त्र र गणतन्त्रमाथि धावा बोलिएको अहिलेको अवस्थामा सबै एक भएर लड्नुपर्ने शाक्यको भनाइ छ । लोकतन्त्र र गणतन्त्रका लागि लडेका मालीले देखेको सपनामाथि अहिले आक्रमण भएकाले त्यसलाई रोक्न सक्नु नै सच्चा श्रध्दाञ्जली हुने उहाँले बताउनुभयो ।

नेपाल पक्षका केन्द्रीय सदस्य सुरेन्द्र महर्जन,सुरेन्द्रनारायण महर्जन,काठमाण्डौँ जिल्ला सदस्य बटुकष्ण थापा,कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन,उप-प्रमुख सरस्वती खड्का,नगर अध्यक्ष विकास महर्जनलगायतले मालीप्रति श्रध्दाञ्जली दिएका थिए ।

वडाध्यक्ष मालीको केही दिनअघि मस्तिष्कघातका कारण मृत्यु भएको थियो । गत स्थानीय तहको निर्वाचनमा उनी एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू