शाहीलाई एमालेको भर, एमालेलाई ह्विपको डर

शाहीलाई एमालेको भर, एमालेलाई ह्विपको डर

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कर्णाली सरकारबारे आज फैसला हुँदैछ । एमालेले समर्थन झिकेपछि धर्मराएको प्रदेश सरकारको निरन्तरता या बहिर्गमनको निर्णय आजै अपरान्ह बस्ने प्रदेशसभा बैठकले गर्नेछ ।

एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन झिकेको थियो । बहुमत गुमाएको ठ्याक्कै ३० दिनका दिन आज अपरान्ह बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची छ।सरकारलाई समर्थन गरेको दलले साथ छाडेपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

माओवादी केन्द्र प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले विश्वासको मत दिन सबै दललाई अपिल गरेकी छन् । कर्णालीको विकास र सम्बृद्धि लागि सबै शक्ति एकतावद्ध हुनुपर्नेमा जोड दिँदै उनले विश्वासको मत पाउने विश्वास पनि व्यक्त गरिन् ।

यता,एमालेले भने मुख्यमन्त्री शाहीको विपक्षमा मत दिन आफ्ना सांसदहरुलाई ह्विप लगाएको छ । आफ्नै नेतृत्वमा सरकार गठनको कसरत गरिरहेको एमालेले शाहीको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यहरुलाईनिर्देशन दिएको बताइएको छ । काँग्रेसले भने अहिलेसम्म निर्णय गरेको छैन । केन्द्रको निर्णय पर्खेर बसेको काँग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मत दिने सम्भावना रहेको एक नेताले बताए ।

यसअघि माधव नेपाल पक्षका सांसदले साथ दिएकै कारण मुख्यमन्त्रीको पद जोगिएको थियो । अहिले त्यो सम्भावना न्यून छ । किनभने दलसम्बन्धी ऐनमा कुनै पनि सांसदले ह्विप तोडेर विपक्षी गठवन्धनमा गए उसको पद नै जाने व्यवस्था छ । त्यसैले नेपाल पक्षले आफ्नो पद धरापमा पारेर शाही नेतृत्वको सरकारलाई टेको दिने सम्भावना देखिंदैन ।

४० सदस्यीय प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्छ । तर, एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुन्छ । यस्तो अवस्थामा एमालेका संसदले मत नदिए मुख्यमन्त्री शाहीको सरकार जोगिने सम्भावना छैन ।

टिप्पणीहरू