के अफगानिस्तानबाट अमेरिकी सेना फर्केला ?

के अफगानिस्तानबाट अमेरिकी सेना फर्केला ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना हटाउने घोषणा गर्नुभएको छ ।

सेप्टेम्बर ११ को नामले चर्चित अमेरिकाको न्यूयोर्कस्थित ट्वीन टावरमा भएको आतंकवादी विमान आक्रमणको २० औं वार्षिकोत्सव पारेर अफगानिस्तानबाट सबै सेना फिर्ता गर्ने घोषणापछि ‘अमेरिकाको सबैभन्दा लामो लडाई’ समाप्त हुने अड्कल गरिएको छ ।

अफगानिस्तानमा आतंकवादी समूह अलकायदासँग भएको लडार्ईं संयुक्त राज्य अमेरिकाको हालसम्म चलिरहेको र सबैभन्दा लामो युद्ध हो ।

न्यूयोर्कको ट्वीन टावर र वासिङ्गटनस्थित रक्षा मन्त्रालय रहेको पेन्टागनमा भएको आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानस्थित आतंकवादी समूह अलकायदामाथि आक्रमण आदेश दिएको २० वर्षपछि यो भनाई बाहिर आएको हो ।

यसअघि ट्रम्प प्रशासनले आगामी मे १ भित्र आफ्नो सेनाले अफगानिस्तान छाड्ने गरी तालिवानसँग सहमति जनाएको थियो । हाल अफगानिस्तानमा २ हजार ५ सय अमेरिकी सैनिक तैनाथ छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले अझै पनि आफ्ना सेना पूर्ण रुपमा भने हटाउने छैन । केही सैन्य महत्वका स्थान र कूटनीतिक निकायको सुरक्षार्थ अझै केही सय सैनिक भने काबुलमा रहनेछन् ।

राष्ट्रपति बाइडेनको पछिल्लो घोषणालाई लिएर रिपब्लिकनहरूले भने गम्भीर गल्ती भनेका छन् । उनीहरूका अनुसार अमेरिकाको पछिल्लो निर्णयले तालिबानलाई प्रोत्साहित गर्ने र अफगानिस्तानमा थप हिंसा निम्तिनसक्ने छ ।

टिप्पणीहरू