स्वामीले सेनालाई आचारसंहिता सिकाउँदै

स्वामीले सेनालाई आचारसंहिता सिकाउँदै

नेपाली सेनाले आफ्ना कर्मचारीलाई अनुशासित र मर्यादित बनाउन आचारसंहिता कक्षा शुरु गरेको छ । एक साता लामो ‘नेपाली सैनिक आचार संहिता सप्ताह’को आज शुरुवात गरिएको सेनाले जनाएको छ ।

चैत ९ गतेसम्म चल्ने कार्यक्रमको आज विशेष समारोहबीच जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आगामी भदौ २५ पछिका प्रधान सेनापति प्रभुराम शर्माले शुभारम्भ गर्नुभएको हो । जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक कर्मचारीले आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी अनुशासित,आचरणयुक्त र जिम्मेवारपूर्ण बनाउने उद्देश्यले आचारसंहिता सिकाउन लागिएको बताएको छ ।

कार्यक्रम थाल्दै बलाधिकृत शर्माले गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता,बफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राख्दै नेपाली जनताको विश्वासको केन्द्रविन्दु बन्‍न सफल भएको बताउनुभयो । उहाँले अनवरत निस्वार्थ सेवा गर्ने भूतपूर्व तथा बहालवाला सिपाही र समग्र संस्थालाई यसको श्रेय जाने पनि उल्लेख गर्नुभयो ।

संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच वहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान,चरित्रवान,पेशेवर, उर्जाशील बनाउन अपरिहार्य रहेको बताउँदै शर्माले आफ्नो आचरण मर्यादित र नैतिकवान बनाउन कार्यक्रमले सघाउ पुग्ने विश्वास लिनुभएको थियो ।

उहाँले सैनिक सदस्यहरु सबैले स्वतस्फूर्त अनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रही कार्यसम्पादन गर्न आवश्यक रहेकोमा पनि जोड दिनुभएको थियो ।

निर्देशनालयका अनुसार कार्यक्रममा मानवीय आचरण तथा मूल्य मान्यता सम्बन्धमा महन्त श्री १०८ स्वामी पुरुषोत्तम महाराजबाट अभिप्रेरणात्मक प्रवचन भएको थियो। त्यस्तै,सैनिक आचार संहितासम्बन्धी डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो ।

टिप्पणीहरू