दोहोरिने भयो पत्रकारको चुनाव

दोहोरिने भयो पत्रकारको चुनाव

गत चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघकाे चुनाव नुवाकोटमा दोहोरिने भएको छ । त्रुटिपूर्ण मतपत्रमा मतदान गराइएको, धाँदली भएकोलगायतका उजुरी परेपछि केन्द्रीय निर्वाचन समितिले त्रुटि सच्याएर एक साताभित्र पुनः निर्वाचन गराउन जिल्लालाई निर्देशन दिएको हो ।

२५ गतेको निर्वाचनमा संकेत नम्बर भएका मतपत्र प्रयोग भएको, ती मतपत्र गणना गरी एकपक्षीय नतिजा घोषणा गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको थियो । सम्भव भए एक साताभित्र निर्वाचन गर्ने अन्यथा निर्वाचनको मितिका लागि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गर्न निर्देशन दिएको समितिका संयोजक कपिल काफ्लेले बताउनुभयो ।

जिल्ला अध्यक्ष पदका प्रत्यासी नारायण नेपाल, उपाध्यक्षमा प्रत्यासी रुपा अर्याल लगायतले दिएको उजुरीमा २५ गतेको निर्वाचन रद्द गर्ने माग थियो ।

नेपाल प्रेस युनियन नुवाकोटले पनि निर्वाचन रद्दको माग गरेको थियो । निर्वाचन नै विवादित भएपछि केन्द्रीय निर्वाचन समितिले मतपेटिका काठमाडौँ झिकाएर अनुसन्धान थालेको हो । संकेत नं भएका मतपत्र प्रयोग हुनु गम्भीर त्रुटि भएको निर्वाचन समितिको ठहर छ ।

टिप्पणीहरू