चोरीका मोटरसाइकल बल्ल फिर्ता

चोरीका मोटरसाइकल बल्ल फिर्ता

प्रहरीले दुई दर्जन भन्दाबढी चोरीका सवारी साधन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । चोरीका सवारी साधन नियन्त्रण अभियानलाई तीब्रता दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर गरी २६ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाएको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा धादिङ,चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका उक्त सवारी साधन खोजतलास गरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन् ।

एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिइएको बताए । उनले भने, ‘अधिकांश मोटरसाइकल एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाईएको छ । चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्रको आधारमा बेचबिखन गर्ने गरेको देखिन्छ ।’

प्रहरीले आफ्नो सवारी साधन सुरक्षा निम्ति सवारी धनी र चालक स्वयम् सचेत हुनुपर्नेमा जोड दिएको छ । सवारी धनीले सवारी साधन चोरी हुनसक्छ भनी सावधानी नअपनाउँदा चोरी भइरहेकाले सम्बन्धित सवारी धनी र चालक जिम्मेवार भई पार्किङ्ग गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरू अपनाउनुुपर्ने भट्टराईले सुझाव दिए ।

ट्राफिक प्रहरीले विशेष सूचना संकलन गरी अपरेसनबाट मोटरसाइकलहरू बरामद गर्ने गर्छ भने चोरीमा संलग्नहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गर्छ ।

थप अनुसन्धानपश्चात् फेला परेका र बरामद भएका मोटरसाइकलकहरू सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ ।

टिप्पणीहरू