सरकार जोगाउन त्यता पनि त्यही सिको

सरकार जोगाउन त्यता पनि त्यही सिको

आफ्नो सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद अधिवेशन अन्त्य गरेको सिको टिप्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मध्यराति हाउस बन्द गर्नुभएको छ । आफूबिरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गुरुङले हतारमा राती १२ बजे संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

“यसले मुख्यमन्त्री अविश्वासको प्रस्ताव फेस गर्न नसकेर भाग्न खोज्नुभएको देखाउँछ । तर उहाँ कतिदिन भाग्न सक्नुहुन्छ र !”

गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रतिपक्षी दलको तयारी अन्तिम अवस्थामा पुगेका बेला हठात अधिवेशन अन्त्य गरिएको जसपाका सांसद हरिशरण आचार्यले बताउनुभयो । अविश्वासको प्रस्ताव छल्न यस्तो छलछाम गरिएको उहाँको भनाइ थियो ।

‘आजै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी थियो,तर बिना छलफल अधिवेशन अन्त्य गरियो । यसले मुख्यमन्त्री अविश्वासको प्रस्ताव फेस गर्न नसकेर भाग्न खोज्नुभएको देखाउँछ । तर उहाँ कतिदिन भाग्न सक्नुहुन्छ र ! हामी नयाँ ढंगले छलफल गर्दैछौँ’, उहाँले भन्नुभयो ।

माओवादी केन्द्र र जनमोर्चाले समर्थन फिर्ता लिने घोषणा गरेपछि स्पष्ट अल्पमतमा परेको गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद आवश्यक हुन्छ । एमालेसंग २७ सांसद छन् । एक जना स्वतन्त्र सांसद दिपक मनाङ्गे गुरुङको पक्षमा उभिँदा पनि उनलाई सरकार टिकाउन थप ३ जना पुग्दैन । तीन सिट रहेको जनमोर्चालाई फकाउन गरिएको अन्तिम प्रयास असफल भएपछि अधिवेशन नै अन्त्य गरिएको हो ।

सांसद आचार्यले भने विशेष अधिवेशन बोलाएर भएपनि सरकार फाल्ने चेतावनी दिनुभयो । ‘परिस्थिति अलिकति नयाँ ढंगले विकास हुने देखियो । हामी नयाँ ढंगले छलफल गर्छौँ । त्यो भनेको विशेष अधिवेशन माग गर्ने कुरा नै हो ।’

विपक्षी गठवन्धनले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी थालिसकेको थियो । ‘यो सरकार जानुपर्छ भन्नेमा हाम्रो सैद्धान्तिक सहमति हो । मुख्यमन्त्रीका रुपमा हामीले कृष्णचन्द्रजीलाई समर्थन गरेका छौँ । थप जिम्मेवारी बाँडफाडका कुरामा छलफल गर्दै जाने सहमति भएको छ’, आचार्यले भन्नुभयो ।

टिप्पणीहरू