आयोगले भन्यो- नागरिकता लिनेबित्तिक्कै यता आउनु

आयोगले भन्यो- नागरिकता लिनेबित्तिक्कै यता आउनु

निर्वाचन आयोगले नेपाली नागरिकता लिएर पनि मतदाता नामावलीमा नाम दर्ता नगराएकालाई तत्काल दर्ता गराउन आग्रह गरेको छ । नागरिकता लिएको सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा गएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरिएको हो ।

नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै आयोगले आ-आफ्नो नागरिकता प्राप्त गर्नेबित्तिक्कै जिल्ला निर्वाचन कार्यालयमा गएर फोटोसहितको नामावली दर्ता गर्न भनेको हो ।

‘नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको नामावलीमा नाम दर्ता गराउनु हुन हार्दिक अपिल गर्दछौँ’,आयोगले भनेको छ ।

आयोगले नागरिकता लिएर पनि मतदाता नामावलीमा नसमेटिएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सहजिकरण गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह पनि गरेको छ। त्यस्तै,राजनीतिक दलका स्थानीय संगठन र सदस्यहरुलाई प्रचारप्रसार र सहजिकरणको व्यवस्था मिलाइदिन पनि भनेको छ ।

मतदाता नामावली ऐन २०७३ ले फोटोसहितको मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने व्यवस्था मिलाएको छ ।

तर,जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने र मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय पुग्नुपर्ने झन्झटिलो व्यवस्थाका कारण प्रभावकारी बन्न नसकेको देखिन्छ । आयोगले भने मतदानका लागि मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वशर्त स्मरण गराएको छ ।

टिप्पणीहरू