‘३ गते जाने बादललाई ९ वर्षको बम्पर’

‘३ गते जाने बादललाई ९ वर्षको बम्पर’

गृहमन्त्री रामबहादुर थापा बादलको नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा सांसदको पद पर्सि ३ गते जाने भएको छ ।

तर,मन्त्री र सांसद पद धरापमा पारेर प्रधानमन्त्री ओलीतिर लागेको आलोचनालाई चक्मा दिने गरी उहाँ पुनः ६ वर्षको लागि सांसद भएर ९ वर्ष राष्ट्रिय सभामै अडिने रोडम्यापमा हुनुहुन्छ ।

संसद सचिवालय स्रोतका अनुसार माओवादी केन्द्रले लेखेको पत्रबमोजिम शुक्रबारदेखि बादल केन्द्रको सांसद रहनु हुने छैन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेनमा रहनुभएकाले उहाँको पद खुस्किन केही दिन ढिलो भएको हो । तिम्सिना आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ ।

बादल राष्ट्रिय सभाको सांसद बनेको ३ वर्ष भयो । अब फेरि जिताएर आगामी ६ वर्ष सांसद बनाउने सहमतिमा बादलले प्रधानमन्त्रीलाई साथ दिएको रहस्य बाहिर आएको हो । उहाँ माओवादीको तीन वर्षे छाडेर एमालेको ६ वर्षे सांसद बन्ने रोडम्यापमा हिँडेपछि ९ वर्षको चिठ्ठा पर्न लागेको हो । त्यसैले बालुवाटारमा भन्न थालिएको छ ‘३ गते खुस्किने बादललाई ९ वर्षको बम्पर !’
माओवादी केन्द्रले राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्काको विरुद्धमा भने अहिलेसम्म पत्र लेखेको छैन । अर्घाखाँचीका उनी मन्त्री टोपबहादुर रायमाझीनिकट मानिन्छन् ।

राष्ट्रियसभामा रिक्त हुने बादल लगायतका सांसदहरूको स्थानमा पैंतिस दिनभित्र उपचुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसको लागि गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,नगर प्रमुख, उपप्रमुख,प्रदेश सदस्य सबै ताँती लागेर चुनावमा होमिनुपर्ने हुन्छ । त्यसो गर्दा नसोचेको रकम खर्च हुने निश्चित छ ।

यता,प्रतिनिधिसभामा पनि माओवादीका चार जना प्रत्यक्ष निर्वाचित सांसदको पद खुस्केको छ । त्यसका लागि दुई महिनामा उपचुनाव गराउन सकिने निर्वाचन आयोगले अनौपचारिक धारणा दिइसकेको छ । तर,सरकारले स्पष्ट धारणा नजनाएकाले उपचुनावको बारेमा यसै गर्ने भन्ने बारेमा आफूहरूलाई अन्योलग्रस्त भएको आयोगका एकजना आयुक्तले बताएका छन् ।

ती आयुक्त भन्छन् ‘सरकार पाएसम्म मङ्गसिरमै मध्यावधि चुनावमा जाने तयारी गरिरहेको छ । त्यसैले चार पाँच महिनाको लागि उपचुनाव गर्नुको कुनै अर्थ नहुने भएकाले हामीले मुख खोलेका छैनौं ।’

टिप्पणीहरू