यस्तो हुन्छ कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ?

अर्थमन्त्रीसङ्गको बैठकमा सहभागी सांसदहरुले कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सरकार उदासिन देखिएको टिप्पणी गरेका छन् । चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि मुस्किलले २९ प्रतिशत मात्रै विकास खर्च हुनु बिडम्बनापूर्ण भएको पनि सांसदहरुको ठहर छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि सिलिङ दिएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटको तयारीबारे छलफल गर्न मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेटको सिलिङ निर्धारण गरिएको बताउनुभयो ।

बजेटको सिलिङ र मन्त्रालयहरुको मागबीच भिन्नता भएपनि त्यसलाई बढाउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ । सिलिङ निर्धारण गर्दा १५औं योजना,दिगो विकासका लक्ष्य र अति कम विकसित मुलुकबाट माथि जाने कुराहरुलाई रणनीतिक रुपमा समावेश गरिएको पनि उहाँले बताउनुभयो ।

बजेट कार्यान्वयनका लागि अनुगमन प्रणालीमा सुधार आवश्यक भएको र पूँजीगत खर्च कमजोर हुनुमा संघ,प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र अनुगमन नहुनु नै प्रमुख कारण देखिएको ,त्यसलाई नीतिगत रुपमै समाधान गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

टिप्पणीहरू