गणतन्त्र ल्याउने, राजतन्त्र भएकाे देशमा नेपाली पठाउने ?

गणतन्त्र ल्याउने, राजतन्त्र भएकाे देशमा नेपाली पठाउने ?

लक्ष्मण पन्त, नेकपा केन्द्रीय सदस्य, सहइञ्चार्ज, प्रवास समन्वय समिति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्त हाल पार्टीको प्रवास समन्वय समितिको सहइञ्चार्ज हुनुहुन्छ । २०३० सालदेखि नै वाम आन्दोलनमा क्रियाशील पन्त राजनीतिज्ञका अतिरिक्त चिन्तक र लेखक पनि हुनुहुन्छ । उहाँका दुई कृति प्रकाशित छन् । पहिलो कृति नेपालको आधुनिक इतिहासः महत्वपूर्ण विषयहरूको समीक्षा २०१७ मा प्रकाशन भएको हो भने दोस्रो कृति नेपाल–भारत र छिमेक : चार दशकका मुख्य घटना २०१९ मा प्रकाशन भएको थियो । अंग्रेजी भाषामा लेखिएको उहाँको तेस्रो पुस्तक नेपाल एण्ड नेबर्स : मेमोरेबल इभेन्टस् अफ प्रिभियस डिकेड्स शीघ प्रकाशन हुँदै छ । मुलुकको वर्तमान लथालिंग राजनीतिक, आर्थिकलगायत समस्यामा केन्द्रित रहेर नेता पन्तसित लिइएको अन्तर्वार्ता :

मुलुकको पछिल्लो स्थितिलाई कसरी हेरिरहनुभएको छ ?
– राजतन्त्र फालेर गणतन्त्र ल्यायौं अनि मुलुकलाई धर्मनिरपेक्ष बनायौं भनेर हामीले जुन झुटा गर्व गरेका छौं तर गणतन्त्र नेपालका नागरिकहरूलाई उता राजाहरूले शासन गरेका युएई, कतार, मलेशिया आदि मुलुकमा लाखौंको संख्यामा रोजगारीका लागि पठाएका छौं । राजाको शासन हटेर जनताको शासन आउनु आफैँमा समाधान होइन रहेछ । कतारको कुनै कारखानामा काम गर्ने नेपाली मजदुरलाई सोध्नुस् कि तपाईं गणतान्त्रिक मुलुकको स्वाभिमानी नागरिक किन राजाले शासन गरेको मुलुकमा आएर आफ्नो श्रम बेच्नुभएको छ ? सायद त्यो मजदुरसित कुनै जवाफ पाइने छैन । हामीले धर्मनिरपेक्षताका राग अलापिरहेका छौँ । मुस्लिम पहिरन बुर्का आदिमा हाम्रा लाखौं नेपाली चेली अरबका शेखहरूको कोठीमा घरेलु कामदारको रूपमा जोतिएका छन् । यो अवस्थामा हामीले धर्मनिरपेक्ष मुलुकका नागरिक भनेर गर्व गरिरहनुको के नै अर्थ रहन्छ र ! समावेशिता र समानुपातिकबारे पनि हामीले ठुल्ठूला गफ गरिरहेका छौं । त्यो कोसिस त पञ्चायतले पनि गरेकै थियो । राजपरिषद् सदस्यमा थारु समुदायबाट समेत पर्शुनारायण चौधरीलाई नियुक्त गरेको थियो । दलित र महिला नेतामा त्यो बेला गोल्छे सार्की र नानीमैयाँ दाहाल तथा भद्राकुमारी घलेहरू निकै चर्चित थिए । मेरै गृहजिल्लाबाट जनजातिका सांसद चुनिएका थिए । विकासका लागि ५ क्षेत्र बनेका थिए । त्यसैले राजनीतिक रूपमा राजतन्त्रभन्दा एक कदम प्रगतिशील भए पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको राग ठूलो स्वरमा अलापिरहनुपर्ने आवश्यकता छैन । गणतन्त्रै नभएका जापान, नर्वे, बेलायतजस्ता मुलुक आज विश्वमै अग्रपंक्तिमा छन् भन्ने पनि बिर्सनु हुँदैन ।

 यसको अर्थ राजतन्त्रमा पनि मुलुकलाई समृद्ध र समुन्नत बनाउन सम्भव थियो भन्ने हो ?
– राजतन्त्र, लोकतन्त्र, जनवादी गणतन्त्र आदि विभिन्न मुलुकमा विभिन्न कालखण्डमा अवलम्बन गरिएका शासन प्रणाली हुन् । माथिको उदाहरणमा उल्लेख भएका मुलुक जापान, बेलायत, नर्वे आदिलाई हेर्दा नेपालमा पनि राजतन्त्रात्मक शासन प्रणालीअन्तर्गत विकास, समुन्नति सम्भव थियो भन्ने देखिन्छ । तर नेपालको सन्दर्भ त्यताको जस्तो होइन । यो एउटा अर्धऔपनिवेशक मुलुकका रूपमा रहिआएको छ । इतिहासमा उपनिवेश र अर्ध उपनिवेशहरू कहिल्यै पनि विकसित रहेनन् । नेपाल पनि त्यसको अपवाद भएन । त्यसैले राजतन्त्रको नभएर नेपालको मूल समस्या अर्धऔपनिवेशिकताको हो । राजतन्त्रले अर्धऔपनिवेशिकतालाई नै मलजल गर्ने ग¥यो । जनतालाई पनि लोकतान्त्रिक अधिकारबाट वञ्चित ग¥यो । त्यसैले नेपालको राजतन्त्रबाट आर्थिक, सामाजिक रूपान्तरण सम्भव थिएन । राजतन्त्र फालेर गणतन्त्र ल्याउन भूमिका खेलेका दलले पनि अर्धऔपनिवेशिकतालाई अझै सशक्त बनाउने काम गरे । त्यसलाई तोड्नेतिर लागेनन् ।

 हाम्रा दलहरू मुलुकको दशा र दिशा बदल्न असफल भएकै हुन् त ?
– नेपालमा सात दशकदेखि कांग्रेस र कम्युनिष्टको बर्चस्व छ । तीन दशकदेखि उनीहरू सत्ताको शीर्षमा पनि पुगे । ठुल्ठूला संघर्षहरूको नेतृत्व गरे । राजनीतिक परिवर्तनका संघर्षहरूको जसरी यी दलले कुशलतापूर्वक नेतृत्व गरे तर सत्ता सञ्चालन, जनतालाई डेलिभरी दिने, भ्रष्टाचार नियन्त्रण र सुशासनजस्ता कुरामा, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने कुरामा पूर्णतः असफल भए ।

दलहरूमा खास समस्या के हुन् भन्ने लाग्छ यहाँलाई ?
– नेका र कम्युनिष्टले ठुल्ठूला जागरण ल्याए । जस्तै : प्रजातन्त्र, समाजवाद, वैज्ञानिक समाजवाद, वर्गविहीन र शोषणविहीन समाज आदि । त्यसैगरी जनवाद, जनताको बहुदलीय जनवाद, क्रान्ति, आमूल परिवर्तनजस्ता अतिप्रिय शब्द प्रयोग भए । कम्युनिष्ट नेताले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्रमा कैयौं घण्टा प्रवचन दिन सक्ने क्षमता त विकास गरे । तर राष्ट्रियताको समस्या कसरी हल गर्ने, श्रम पलायन कसरी रोक्ने भन्ने विषयमा एक शब्द पनि खर्च गरेनन् । भोलिको शोषणविहीन समाजबारे ठुल्ठूला ठेली लेखे तर किसानलाई मलखाद कसरी उपलब्ध गराउने, कृषि उत्पादनका लागि बजार कसरी विकास गर्ने भन्ने चेतना जागेन । कांग्रेसले अमेरिकी प्रजातन्त्रदेखि गान्धीवादसम्मको व्याख्या प्रस्तुत ग¥यो तर देशमा उद्योगीकरणको जग कसरी बसाल्ने भन्ने बहस कहिल्यै गरेन ।

रुस, चीनमा जनताको मुक्तिका कथा त सुनाइए तर हाम्रो मुलुकमा किसान, मजदुरका समस्या समाधान कसरी गर्ने भन्नेमा कम्युनिष्टबीच बहस नै भएन । आज किसान र मजदुर तथा कामदार वर्गका कुरा कम्युनिष्टले गरिरहेका छैनन् । मात्र अमूर्त जातीय, क्षेत्रीय, लिंगीय उत्पीडन र मुक्तिका कुरा गरिरहेका छन् । सिंगो नेपाल र नेपालीको कुरा गरिरहेका छैनन् । मधेश, नेवा, भोटे, शेर्पा आदिको कुरा गरेर आफ्नो भोटबैंक सुरक्षित गरिरहेका छन् । समस्या के भयो भन्ने आज मानिस नेपाली बनेर सोच्नेभन्दा आफूलाई बाहुन, क्षेत्री, जाति, जनजाति, मधेशी आदिका रूपमा हेर्न थालेका छन् ।

यसको निकास के त ?
– मेरो विचारमा मुख्यतः अब दलहरूले तीन स अभियानमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । त्यो हो सबल, स्वाधीन र समुन्नत नेपाल निर्माण ।

पहिलो हो : सबल नेपालको निर्माण । यो कार्यभार नेपालमा बसोबास गर्ने एक सयभन्दा बढी जातजाति, भाषाभाषीबीचको अन्तरविरोध समाधान गर्दै बृहत् राष्ट्रिय एकता सुदृढ गरेर सबल नेपाल निर्माण गर्नुपर्छ । सामाजिक, सांस्कृतिक विभेद चर्काउने तत्वको भण्डाफोर गर्दै विभिन्न जातजाति, भाषाभाषीबीचको विभेदलाई क्रमशः अन्त्य गर्दै लैजाने नीति अवलम्बन गर्नुपर्छ । बृहत् राष्ट्रिय एकताको बलमा मात्र बाह्य उत्पीडन र थिचोमिचो अन्त्य गर्न सकिन्छ । जातीय पहिचान होइन, राष्ट्रिय पहिचान नेपालीका आधारमा यो अभियान सञ्चालन गर्नुपर्छ ।

दोस्रो मुख्य कार्यभार हो : स्वाधीन नेपालको निर्माण । हाम्रो मुलुकलाई स्वाधीन बनाउने कार्यभार अझै पूरा भएको छैन भन्ने कुराको प्रमाण हो हामीले आफूले चाहे अनुकूलको संविधान जारी गर्दा, नीति रणनीति तर्जुमा गर्दा विभिन्न प्रकारले हुने वैदेशिक हस्तक्षेप । चाहे त्यो सीमा अतिक्रमणको कुरा होस् वा विदेशीबाट हुने माइक्रोम्यानेज्मेन्टको कुरा । यी सबैबाट हाम्रो मुलुक अझै पनि अर्धऔपनिवेशिक चरणमा छ भन्ने प्रष्ट छ । त्यसैले दलहरूले मुलुकले भोगिरहनुपरेको यो अवस्था अन्त्य नगरी मुलुकलाई अगाडि लैजान सकिन्न ।

तेस्रो मुख्य कार्यभार हो : समुन्नत नेपालको निर्माण । समुन्नत नेपाल निर्माण हामी सबैको चाहना हो तर माथि उल्लेख गरिएका दुई शर्त पूरा गरेर मात्र समुन्नत नेपाल निर्माणको जग बसाल्न सकिन्न । आज समुन्नत नेपाल निर्माणका लागि सबैभन्दा ठूलो बाधा हो, हामीले अवलम्बन गर्दै आएको पश्चिमा पँुजीवादी विकासको मोडल जसको कारण हाम्रो पँुजी, हाम्रो श्रम, हाम्रो प्रतिभा सबै विदेश पलायन भएको छ । मुलुक चुर्लुम्मै ऋणमा डुबेको छ । सबैथोकमा हामी विदेश निर्भर छौं । उद्योग र कृषि टाट पल्टेका छन् । नेताहरूको चेतना कृषि विश्वविद्यालयको बहुमूल्य जमिन मासेर क्रिकेट स्टेडियम बनाउने, दशौं हजार डाँडा पहाडबाट सबै हिमालको दृश्य देख्न सकिने हुँदाहँुदै पनि भ्यु टावर निर्माणमा अर्बौं खर्च गर्ने चेतनाभन्दा माथि उठ्न सकेको छैन । त्यसैले पश्चिमा विकासको मोडेल होइन, आत्मनिर्भरतातिर उन्मुख गराउने विकासको मोडेल अवलम्बन गरेर मात्र समुन्नत नेपालको निर्माण गर्न सकिन्छ ।

टिप्पणीहरू