जनमोर्चाले हात झिक्यो,सरकार संकटमा

जनमोर्चाले हात झिक्यो,सरकार संकटमा

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । अध्यक्ष चित्रबहादुर केसीले आज वक्तव्य जारी गर्दै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

जनमोर्चाले सरकारविरुद्ध आउने अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णयसमेत गरेको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी भनेको जनमोर्चाले गण्डकी सरकार ओलीको देखिएकाले समर्थन फिर्ता लिनुपरेको बताएको छ ।

जनमोर्चाले यसअघि सिंगो नेकपालाई समर्थन गरेको प्रष्ट पार्दै पार्टी फुटेपछि एमालेलाई समर्थन नगरेको पनि बताएको छ । विपक्षी गठवन्धनलाई समर्थन गरेपनि सरकारमा भने सहभागी नहुने जनमोर्चाले बताएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णयपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकार संकटमा परेको छ । यसअघि माओवादी केन्द्रले समर्थन झिक्दा जनमोर्चाकै टेकोमा अडिएको गण्डकी सरकार अब नजोगिने भएको हो ।

गण्डकीमा सरकार टिकाउन वा अर्को बनाउन जनमोर्चा निर्णायक छ । प्रदेशसभामा ३ सिट रहेको जनमोर्चाले जता समर्थन गर्यो त्यतै सरकार बन्ने अंकगणित छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । एमालेसँग २७ सांसद छन् । मनाङ ‘ख’ बाट स्वतन्त्रमा निर्वाचित दीपक मनाङेले एमालेलाई समर्थन गर्ने निर्णय गरेका छन् । योसहित सरकार टिकाउन मुख्यमन्त्री गुरुङलाई थप ३ सांसद आवश्यक हुन्छ ।

कांग्रेस र माओवादी केन्द्रले गुरुङ नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरिसकेकाले एमालेलाई जनमोर्चाकै भर थियो । तर,जनमोर्चाले विपक्षी गठवन्धनलाई सघाउने औपचारिक निर्णय गरेकाले अब जसपाले टिकाएको अवस्थाबाहेक गण्डकी सरकार ढल्ने लगभग निश्चित भएको छ ।

गण्डकीमा काँग्रेसका १५ र माओवादी केन्द्रका १२ सांसद छन् । जनता समाजवादी पार्टीका दुई सांसदसमेत विपक्षी गठवन्धनमा खुलेकाले एमालेइतरको नयाँ सरकारको ढोका खुलेको हो ।

टिप्पणीहरू