को घर गए,को राजदूत बन्ने दौडमा ?

को घर गए,को राजदूत बन्ने दौडमा ?

परराष्ट्र मन्त्रालयमा राजदूतको निम्ति दौड शुरु भएको छ । सरकारले किस्ताबन्दीमा खटाई खटाई राजदूत नियुक्त गरेको कारण सहसचिवहरूले पटक पटक दौडमा निस्कनुपरेको बताइन्छ ।

अहिले सरकारले राजदूत नियुक्ति प्रक्रिया अघि बढाएपछि छिट्टै अवकाश हुन लागेका दुई जना सहसचिवले राजदूतको आश गरेका हुन् । कन्सुलर महाशाखाका डिजी जीवन श्रेष्ठ र भारत तथा दक्षिण एशिया महाशाखा प्रमुख यज्ञबहादुर हमाल दुवैजना जेठको पहिलो र दोस्रो हप्तादेखि अवकाश हुँदैछन् ।

परराष्ट्र स्रोत भन्छ ‘श्रेष्ठलाई राजदूत बनाएर पठाउने सम्भावना पनि छ ।’ यसअघि अर्का सहसचिव कालिप्रसाद पोखरेलको पनि पुनः राजदूत बन्ने आशा थियो । तर,फागुनमा अवकाश हुने कारण देखाउँदै दौडबाट हटाइयो । र,युवा उमेरमै उनी घर गए ।

अहिले श्रेष्ठको पनि सेवा निवृत्तको मुखैमा पुगेको बेला भएकाले आशा बढेको बताइन्छ । गत फागुनमा सेवानिवृत्त भएका पोखरेललाई यसअघि क्यानाडामा राजदूत भइसकेकाले नदिने नीति बनाएको बताइन्छ । उनी क्यानाडाबाट फर्केपछि चीन तथा उत्तरपूर्वी एशिया डेस्क हेर्थे । पूर्वेली तथा प्रधानमन्त्री ओलीका निकट भएर पनि पोखरेलले राजदूत नपाउनुमा पछिल्लो नीति जिम्मेवार रहेको स्रोतको दाबी छ ।

नीतिमा एकपटक राजदूत भइसकेका सहसचिवलाई दोहोर्याएर नबनाउने उल्लेख गरिएको बताइन्छ । हमाल कुवेतमा राजदूत बनेर बसिसकेकाले उनको पुनर्नियुक्ति सम्भव छैन । श्रेष्ठ भने अहिलेसम्म राजदूत बनेका छैनन् ।

टिप्पणीहरू