विदेशीले हामीविरुद्ध हतियार बनाइरहेका छन्

विदेशीले हामीविरुद्ध हतियार बनाइरहेका छन्

– रामप्रसाद सापकोटा दीपशिखा

एमाले र माओवादी केन्द्रको एकतापछि युवा संघ नेपाल र वाइसिएल मिलेर राष्ट्रिय युवा संघ गठन भयो । तर, साविकका दल भिन्नभिन्न पार्ने अदालती फैसलासँगै फेरि युवा संघ र वाइसिएल ब्युँतिए । रामप्रसाद सापकोटा (दीपशिखा) वाइसिएलदेखि राष्ट्रिय युवा संघसम्मका नेतृत्वकर्ता थिए । अहिले फेरि वाइसिएल अध्यक्षका रूपमा क्रियाशील छन् । युद्धताका सैन्य फाँटमा काम गरेका, प्रचण्डको सुरक्षादस्तामा रहेर अगाडि बढेका उनी लेखनमा पनि उत्तिकै सक्रिय छन् ।

 वाइसिएल अब कसरी जान्छ ?
– खासगरी अहिले हामी संगठनात्मक सुदृढीकरणको योजनामा लागेका छौं । भर्खर सम्पन्न केन्द्रीय समिति बैठकले जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । त्यो स्थानीयदेखि केन्द्रीय तहसम्म सम्पन्न्न हुनेछ । तिनीहरूले कमिटी गठन, पुनर्गठनको काम गर्नेछन् र नयाँ जिउँदो जाग्दो कमिटी बन्नेछ । एक निर्वाचन क्षेत्रमा एक हजार नयाँ सदस्यता नवीकरण गर्नेछौं । पुरानो सदस्यता नवीकरण र नयाँ वितरण गर्नेछौं । जेठ अन्तिम साताभित्र नयाँ वाइसिएल निर्माण हुनेछ ।

अहिलेसम्म के–कति काम भए ?
– ५ वटा प्रदेशको बैठक सम्पन्न भएका छन् । सामग्रीहरू प्रदेशतिर पठाइसकेका छौं । वैशाखभित्र स्थानीय तहदेखि जिल्लासम्मको काम सम्पन्न हुनेछ ।

 पहिला युवासंघ, वाइसिएललगायत संगठन थिए । यिनले पार्टी गलत ट्र्याकमा हिँडे सडकबाटै चेतावनी दिन्थे । अहिलेका संगठन बेकारजस्ता भए । किन यस्तो ?
– पार्टी एकताले मर्ज भइसकेको, सहकार्य भइसकेको वा अन्तरघुलित भइसकेको संगठन बन्न सकेन । अब नयाँ ढंगले जाने हो ।

 हिजोको लडाकु दस्ताको अवस्था आज दयनीय देखिन्छ । उनीहरूकै बुइ चढेर नेताहरूले सत्ता र शक्ति भोग गरे तर उनीहरूको जीवनस्तर उठाउने विषयमा किन चिन्तन गरेनन् वा सोच्न सकेनन् ?
– हामीले गणतन्त्र ल्याउन लड्यौं, भिड्यौं, रगतको खोलो बगायौं । गणतन्त्र प्राप्त भयो, संघीयता आयो । यसरी लड्नेहरूले के पाए ? पहिलो पटक माओवादी सरकारमा पुग्यो, ९ महिना सिक्दैमा सकियो । माओवादी सत्तासीन त भयो तर निर्णायक ठाउँमा पुगेन । सत्तामा भएकाहरूलाई चाहिँ के लाग्यो भने यी प्रचण्डका कार्यकर्ता हुन्, उनीहरूको अझै बिजोग बनाइदिनुपर्छ ।

 तपाईंहरू त तल्लो तहमा जनतामाझ गएर भिज्नुभएको छ । के प्रतिक्रिया पाउनुहुन्छ ?
– हामीमाथि केही प्रश्न छन् विशेषगरी पार्टीमाथि । केही अपेक्षा पनि छन् । अबको नेकपा माओवादी कसरी अघि बढ्छ ? त्यसमा हाम्रो भूमिका के हुन्छ ? हिजो हामीले एकता गर्दा प्रशस्त छलफल गरेनौं भनेर प्रश्न पनि उठेका छन् ।

माथि फुटको असर तल के पाउनुभएको छ ?
– तल्लो तह त केपी ओलीसँग छुटेकोमा खुशी छ । हिजो सामाजिक, आर्थिक रूपमा बेग्लै खालका मुद्दा थिए । आज विकास र रोजगारी प्राथमिकतामा छन् । फेजमा ती मुद्दा छन् । पहिलो प्राथमिकता राजनीतिक काम गर्दछौं । दोस्रो सामाजिक क्षेत्रमा देखिने विकृति विसंगति र भ्रष्टचारविरुद्ध काम गर्छाैं ।

अहिले युवा संघ जागेको छ ?
– हामी कसैलाई टसल दिनेभन्दा पनि हाम्रो काम गर्छाैं । हाम्रो मुद्दा राजनीतिक, सांगठनिक हुनेछ । भ्रष्टाचारीविरुद्ध लड्छौं । हिजो जसरी भ्रष्टाचारीको मुटु थरथर पार्ने संस्थाको रूपमा वाइसिएल थियो । सोही रूपमा वाइसिएल उदाउनेछ ।

 हिजो युथफोर्ससँग भिडेको शक्ति आज किन छिन्नभिन्न भयो ?
– छिन्न–भिन्न छैन । एकता गर्दा युथफोर्सको मातृसंगठन राष्ट्रिय युवा संघसँगै एकता सम्पन्न भएको थियो । सँगै काम गरिरहेका थियौं । सर्वाेच्च अदालतको फैसलासँगै पुनःस्थापित भएको मात्र हो ।

नयाँ विद्यार्थी र युवालाई राजनीतिमा तान्ने के कार्यक्रम छन् ?
– राजनीतिक र संगठनात्मक रूपमा विकृति, विसंगतिसँग लड्नेछौं । हामी कसैलाई आकर्षित वा विकर्षित गर्नेभन्दा पनि सामाजिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नेछौं ।

ढुंगा, गिट्टी, बालुवामा लागेर व्यक्तिगत फाइदा लिने संगठनलाई वास्ता नगर्ने किन ?
– अरू युवा संघठनमा होला, म जान्दिनँ तर हाम्रो संगठनमा त्यस्तो छैन ।

 माधव, प्रचण्डहरू यो स्थितिबाट कसरी माथि उठ्नुहोला ?
– केपी ओलीमा जुन सनक छ । त्यसले सबैको दिमाग खराब गरिरहेको छ । यो चाँडै ध्वस्त हुन्छ ।

नेकपा बदरविरुद्ध प्रचण्ड सर्वाेच्च अदालत पुग्नुभयो तर न्याय मिलेन । यो घटनाक्रमलाई कसरी लिनुहुन्छ ?
– केपी ओली तानाशाह हुन् । ओलीको तानाशाही, निरंशकुता र सन्कीपनसँग देशको प्रमुख संवैधानिक अंगका प्रमुखहरू डराएको, हिचकिचाएको अवस्था छ । यसलाई संक्रमणकालको रूपमा लिनुपर्छ । यो तानाशाही धेरै दिन टिक्दैन । डोनाल्ड ट्रम्पले पनि अमेरिकामा चुनाव जितेका हुन् । हिटलर पनि जननिर्वाचित प्रतिनिधि नै हुन् उनी विस्तारै तानाशाह बन्दै गए । केपी ओलीले कति समय देशको स्थायी संयन्त्र कर्मचारीलाई प्रभावित पार्न सक्छन् भन्न सकिन्न तर चाँडै यसको अन्त्य हुन्छ ।

निर्वाचन आयोगको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?
– यी सबै संवैधानिक आयोग केपी ओलीको तानाशाही पनसँग कि डराएका छन् कि कुरै नगरौं । कुनै पनि संवैधानिक निकाय स्वतन्त्र छैनन् । यदि स्वतन्त्र हुन्थे भने सर्वाेच्च अदालतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर फैसला गथ्र्याे ? मुलुक एक हिसाबले सेटिङमा चलिरहेको छ ।

यो सेटिङ भत्काउन तपाईंहरूजस्ता युवाको भूमिका के हुन्छ ?
– एउटै आधार जनमत हो । हामी जनमत निर्माणमा काम गरिरहेका छौं । केपी ओलीको तानाशाही लामो समय चल्दैन ।

 नेपालको कम्युनिष्ट धार किन भुत्ते भयो ? किन टिक्दैन वाम एकता ?
– कम्युनिष्ट आन्दोलन हामीले कुन चरित्रका नेता बनाइरहेका छौं गम्भीर समीक्षा गर्नुपर्छ । उनीहरू कांग्रेस वा अन्य राजनीतिक शक्तिबाट आएका होइनन्, कम्युनिष्टभित्रैबाट आएका हुन् । यी किन यसरी तानाशाह भए भन्ने सन्दर्भमा हामीले हाम्रो मेकानिज्ममाथि पुनर्विचार गर्नुपर्छ । केपी ओलीलाई विदेशी शक्तिराष्ट्रले हतियारको रूपमा प्रयोग गरिरहेका छन् । नेपालको परिवर्तनलाई नरुचाउने दक्षिणी शक्ति र अमेरिकालगायत मुलुकले केपी ओलीलाई प्रयोग गरिरहेका छन् ।

टिप्पणीहरू