निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक

निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक

नेपाल निजामती कर्मचारी युनियनले (संघ) राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ ।

मंगलबार युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनबाट पारित काठमाडौं घोषणापत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भोलाप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन लोकतन्त्रविरोधी रहेको बताए । ऐनले संविधानलाई नै उल्लंघन गरेको तथा कर्मचारीहरुको सेवा सुविधा,वृत्ति विकासलगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

राष्ट्रिय भेलाले ऐनविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकूलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले आरोप लगाए ।

युनियनका उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । ऐनले श्रेणीबिहिन कर्मचारीको वृत्ति विकासको व्यवस्थालाई कुण्ठित गरिएको उनले दाबी गरे ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको भन्दै उपाध्यक्ष कटुवालले ट्रेड युनियनको अधिकारका निम्ति जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

टिप्पणीहरू