प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव,प्रधानमन्त्री जसपाले आफ्नै बनाउने

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव,प्रधानमन्त्री जसपाले आफ्नै बनाउने

नयाँ सरकार गठनका लागि निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टी (जसपा) ले आफ्नै नेतृत्वमा सरकार गठनको तयारी थालेको छ । आइतबार र सोमबार दुई दिनसम्म चलेको पार्टीको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न शीर्ष नेताहरु सहमत भएका हुन् ।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री ओली नेतृत्वको एमाले र काँग्रेस-माओवादीसँग समानान्तर छलफल चलाइरहेको जसपाले अन्तत: आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक सहमति जुटाएको हो । बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रस्तावले बैठकमा प्रवेश पाएको र उक्त प्रस्तावमा सबै नेता सहमत भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । ‘सकारात्मक ढंगले छलफल अगाडि बढेको छ । हाम्रै नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा लगभग सहमति जुटेको छ’, उहाँले भन्नुभयो।

त्यसोभए प्रधानमन्त्रीका रुपमा कसलाई अगाडि सार्छ त भन्ने जनआस्थाको प्रश्नमा अध्यक्ष यादवले त्यसबारे निर्णय नभएको बताउनुभयो । छलफल जारी रहेकाले अहिले व्यक्तिका बारेमा टुंगो नलागेको उहाँको भनाइ छ । ‘छलफल चलिरहेको छ । अहिले व्यक्तिका बारेमा टुंगो लागेको छैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीमा यादवसहित अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको चर्चा चलेका बेला उहाँले आफ्नो दावी नरहेको बताउनुभयो । प्रधानमन्त्रीमा आफ्नो दावी नरहेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीका लागि हाम्रो पार्टीमा एक से एक नेता हुनुहुन्छ । जो कोहीले दाबी गर्न सक्नुहुन्छ । म चैं अहिले त्यता छैन । मबाहेक अरु जो कोहीका नाममा सहमति हुनसक्छ ।’

दुई दिनसम्म चलेको बैठक नेताहरुको कार्यव्यस्तताका कारण फेरी बस्ने गरि स्थगित भएको छ । अध्यक्ष ठाकुर उपत्यका बाहिर गएका कारण बैठक स्थगित भएको र केही दिनमै बैठक बसेर निर्णय गर्ने यादवले बताउनुभयो ।

भावी सत्ता समीकरणलाई लिएर पार्टीभित्रैबाट फरक-फरक धारणा आइरहेका बेला अन्तत: आफ्नै नेतृत्वमा सरकार बनाउन जसपाका शीर्ष नेता एकमत भएका हुन् । संसदमा ३२ सिट रहेको जसपा नयाँ सरकार गठनमा निर्णायक शक्तिका रुपमा रहेको छ । तर, अहिलेकै सरकारलाई समर्थन गरेर जाने कि वैकल्पिक सरकार बनाउन काँग्रेस र माओवादी केन्द्रसंग सहकार्य गर्ने भन्नेमा जसपा विवाद छ ।

अध्यक्ष यादव र डा. भट्टराई वैकल्पिक सरकार गठनका लागि पार्टीले पहल गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महत्तो ओली नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गरेर जानुपर्ने पक्षमा रहेको चर्चा छ ।

टिप्पणीहरू