चिया छियाछिया, कहाँ मिल्ला शुद्ध खाना ?

चिया छियाछिया, कहाँ मिल्ला शुद्ध खाना ?

चिया नपिउने सायदै हौंला । प्रायः सबैको दिनको सुरुवात् नै बिहानको चियाबाट हुन्छ । आजकल दूधको गुणस्तर त सबैलाई थाहै छ, पानी कति ठोकिन्छ भन्ने  त्यसमाथि चिनी र चियापत्तीसमेतमा अशुद्धि भएपछि कस्तो होला हामीले पिउने चिया ? खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भरतपुरमा चिनी र चियापत्तीको पनि मुद्दा छ ।

यस आ.व. न्यून गुणस्तरको चिनीको प्रारम्भिक अनुसन्धानपछि सर्लाही फाइल पठाइएको कार्यालयले जनाएको छ । न्यून गुणस्तरका चियापत्तीमा अनुसन्धान जारी रहेको कार्यालयले बतायो । थुप्रै नमूना परीक्षणमध्ये रसायन बढी पाइएको चिनीमा कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन प्रमुख घननाथ अधिकारीले जानकारी दिए । चिनी कारखानाहरूले रंग सेतो बनाउन एकथरी रासायनिक पदार्थ हाल्ने र त्यो बढी भएमा स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछन् ।

दूषित ह्वीस्की र कुुखुराको दानाको मुद्दामा पनि अनुसन्धान चलिरहेको जनाइएको छ । कुखुराको दूषित दाना उत्पादन गर्ने भरतपुर–२१ स्थित आर. आर. फार्म प्रा.लि. माथि गत फागुन ५ गते जिल्ला प्रशासनमा मुद्दा दायर भएको छ । पुस २४ मा लेवल नभएको भिनेगर उत्पादन गर्ने रत्ननगर–३ को आचार्य फुड्स उद्योगमाथि मुद्दा दायर भएको थियो । खाद्य ऐन २०२३ अनुसार लेवल नभएको मुद्दामा १० हजारसम्म जरिवाना हुने व्यवस्था छ । दाना पदार्थ ऐन २०३३ मा दूषित दाना उत्पादन गर्ने व्यक्तिलाई २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैदसमेत हुने प्रावधान छ ।

खाद्य स्वच्छता परीक्षणका लागि डिभिजन कार्यालयले केही ठाउँबाट खुल्लादूध, दही, पनिर, घिउ, चीज र मिठाइको नमूना संकलन तथा परीक्षण गरेको आफ्नो चौमासिक प्रगतिमा जनाएको छ । २५ वटा खुल्ला दूधको नमुना परीक्षण भएकोमा ९ वटामा कैफियत भेटिएको, जसमा साल्ट, सुगरलगायत रसायन पाइएको डिभिजन प्रमुखले जानकारी दिए । यसबीच गुणस्तरहीन भेटिएका चामलको पिठो, मकैको पिठो, गहुँको पीठो, दालमोठ, कोक, स्प्राइटलगायत तोरीका तेल नष्ट÷रोक्का गरिएका छन् । न्यून गुणस्तर पाइएको सूर्यमुखी तेलको पनि प्रारम्भिक अनुसन्धानपश्चात् नेपालगन्ज फाइल पठाइएको अधिकारीले बताए ।

यसरी पहिल्यै अशुद्ध, अखाद्य तथा गुणस्तरहीन भएका खाद्यपदार्थहरू किनेर लगेर पकाउने व्यापारीहरूले अझ चलाखी तथा लापरबाही गर्दा आम उपभोक्ताको स्वास्थ्य र विश्वासमा ठूलै चोट पुगिरहेको छ । सबै मानिस उस्तै नभएपनि पैसाको लोभमा कतिपय व्यक्ति कति हदसम्म गिर्छन् भन्ने चितवनकै एउटा होटलको प्रसंगले बताउँछ । केही अघि राजमार्गको होटलमा यस्तो समेत भेटिएको थियो कि ग्राहकले खाएर बाँकी रहेको जुठो मासु तथा हड्डी धोइपखाली फेरि ताजा मासुमा मिसाएर पकाउने गरिएको । त्यसैले बसमा यात्रा गर्दा बाहिर होटलमा माछामासु नखाएकै राम्रो हुने प्रत्यक्ष जानकारको सुझाव छ ।

टिप्पणीहरू