अपराधको ग्राफ किन बढिरहेको छ ?

अपराधको ग्राफ किन बढिरहेको छ ?

०७६ चैत ११ गतेदेखि कोरोनाको त्रास देखाउँदै लामो र पट्याीरलो लकडाउन गरियो । विश्वमा फैलिएको रोगको त्रासका कारण जनताले अनेकौं आर्थिक, सामाजिक तथा अन्य मानवीय समस्या भएर पनि त्यसलाई सहे । सोही लकडाउनको असरले गर्दा नेपाली समाजमा अहिले दुष्प्रभावका अनेकौं संकेत देखिन थालेका छन् ।

लकडाउनमा बढी चम्केको व्यापार, पेशा र गतिविधि भनेको इन्टरनेटसँग सम्बन्धित कार्य हुन् । मानिस चाहेर, नचाहेर वा बाध्यतामा परेर पनि अनलाइनमै झुम्मिन पुगे । सोही कारण बालबालिका, युवा, विद्यार्थी तथा शहरबजारमा रहने अनेक प्रकारका मानिस ठगिन पुगे ।

गत हप्ता मात्र काठमाडौंको नयाँबजार क्षेत्रमा भट्टी सञ्चालनको नाममा खुलेआम वेश्यावृत्ति गरिएको घटना सार्वजनिक भएको थियो । अर्काेतर्फ लागुऔषधको ओसार–पसार जस्तो गम्भीर अपराधमा बालबालिकालाई प्रयोग गरिएको खबर पनि आयो । नागरिक र जनताको आधारभूत अधिकार, हकहित र आर्थिक–सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने संवैधानिक भूमिका भएको सरकारबाट लकडाउन अवधिमा सामान्य श्रमिक र शहरिया गरिबको खाने–बस्ने आधारभूत आवश्यकताको समेत संबोधन हुन नसकेकाले समाजमा अनेकौं आर्थिक–सामाजिक अपराध बढेको विभिन्न अध्ययनले देखाएका छन् ।

मानिस र नागरिकको बाँच्न पाउने आधारभूत अधिकारको सरकारले उचित सुरक्षा गर्न नसक्दा सामाजिक समस्या विकराल बन्दै गएको देखिन्छ । विश्वका विभिन्न मुलुकमा लकडाउन भए पनि उनीहरूले आफ्ना नागरिकलाई न्यूनतम आर्थिक सुविधा र सहुलियत दिएका थिए । जस्तो क्यानाडाका प्रधानमन्त्री टुडोले त्यहाँ बसोबास गर्ने गैरनागरिकलाई समेत मासिक २ हजार डलर राहत दिएका थिए । अमेरिकामा पनि बेरोजगारको लागि आर्थिक सुविधा दिइएको थियो । युरोपका सबैजसो मुलुकले लकडाउनको अवधिमा बाँच्न पुग्ने गरी आर्थिक सुुविधा दिएकै हुन् । नेपालमा त्यो तर्फ सोचिएन वा सोच्ने फुर्सद भएन वा सरकारको क्षमता नै थिएन । जे होस् गत वर्षकै लकडाउनको आर्थिक दुष्प्रभाव र असरको कारण नेपाली समाजमा आज पनि अनेकौं सामाजिक विकृति र अपराधका घटना बढिरहेका छन् । अर्काेतर्फ मानिस यस्ता आर्थिक बाध्यताको फाइदा उठाउन पल्केका कारण आर्थिक अपराधी र कालोबजारी गर्न पल्केकाहरूले अनेकौं तरिकाले नागरिक र मानिसलाई चुस्दै आएका छन् ।

आधारभूत दैनिक उपभोगका वस्तुको बजारभाउ पनि यति अकासिएको छ कि कुनै लेखाजोखा छैन । तरकारी, दाल–चामल, नुन–तेल र अन्य आवश्यक भान्छाका सामग्रीको भाउ सुन्दा सामान्य शहरिया गरिब र मजदुरको मुटु थर्कने अवस्था छ । गत वर्ष १ सय प्रतिकिलो वा लिटरको हाराहारीमा उपलब्ध हुने सामान्य दाल र तेलजस्ता खाद्य पदार्थको भाउ अहिले २ सय हाराहारीमा पुगेको छ । कोठा भाडामा लिएर शहर बजारमा बस्दै आएका श्रमिक, सामान्य कामदार र गरिब मानिसलाई बाँच्नै धौधौ छ । उता निजी स्कुल कलेजले लकडाउन अवधिको समेत पैसा असुलेका छन् ।

यस्ता अनेकौं आर्थिक–सामाजिक समस्याको कारण पनि शहर बजारमा मानवीय समस्या विकराल बन्दै छन् । अर्काेतर्फ सबैको अभिभावक सरकारलाई सामाजिक र आर्थिक मुद्दामा सोच्ने र आवश्यक कदम चाल्ने फुर्सद नै भएन वा हुन पाएन । राजनीतिक मुद्दा, सरकार टिक्ने वा नटिक्ने र पार्टीका आन्तरिक समस्याले गाँजेका कारण बजार अनुगमन, श्रमिक र गरिबका मुद्दाको संबोधन, सामाजिक र आर्थिक अपराध नियन्त्रण, सामाजिक चेतना, सूचना र कानुन कार्यान्वयन आदिमा गम्भीर हुनुपर्ने सरकार र उसका निकाय अन्धाजस्ता बन्दै छन् । सोही कारण सामाजिक, आर्थिक र अन्य अपराधको जालोले समाजलाई तुँवालोलेझँै ढाकेको देखिन्छ ।

प्रकृतिमा लागेको तुँवालो त केही दिनमा हट्यो । मुलुक र समाजमा लागेको सामाजिक र आर्थिक समस्याको तुवाँलो कहिले हट्ला र अपराध तथा आपराधिक क्रियाकलाप कम हुन सक्लान् नेपाली नागरिकले केही आशा र केही आशंकाको नजरले सरकारलाई नै हेरिरहेका छन् । कोरोनाको त्रास कम नभएको र फेरि डर पैदा भएको अवस्थामा फेरि सामाजिक र फौजदारी प्रकृतिका अपराधका घटना वृद्धि हुँदै जानुले नेपाली समाज र विशेषगरी शहरबजारमा अनेकौं समस्या थपिन सक्ने आकलन गरिएका छन् ।

टिप्पणीहरू