विद्यार्थी हुन्,रास्ट्रको कुरा आउँदा खबरदारी गरिरहन्छन्

विद्यार्थी हुन्,रास्ट्रको कुरा आउँदा खबरदारी गरिरहन्छन्

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति वितरण गरेको पदकमा नेपालको नक्साको गुमेको भाग छुटेको भन्दै नेकपा एमाले (माधव नेपाल) पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा विद्यार्थीहरुले नयाँ नक्सासहित प्रदर्शन गरेका थिए ।

ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीलाई अनेरास्ववियुका अध्यक्ष सुदिप पराजुली र महासचिव आरती लामाले सम्बोधन गरेका थिए । सम्बोधन क्रममा अध्यक्ष पराजुलीले राष्ट्रियताको प्रश्नमा अनेरास्ववियुले कुनै सम्झौता नगर्ने बताए । अनेरास्ववियुले शैक्षिक र जनजीविकाका साथै राष्ट्रियताको आन्दोलनको गर्विलो इतिहास बोकेको भन्दै उनले राष्ट्रियतामाथि खेलबाड गर्ने कसैलाई नछाड्ने चेतावनी दिए ।

उनले भने, ‘जबजब शासकहरुले राष्ट्रियता कमजोर बनाउने गरी यस्ता निर्णय गर्छन्, तबतब अनेरास्ववियु जुरुक्क उठ्छ । हामी यो निर्णय नसच्चिदासम्म निरन्तर आन्दोलन गर्छौँ ।’

अध्यक्ष पराजुलीले एकीकृत पार्टी हुँदै नयाँ नक्सा प्रकाशित भएको र पार्टी विभाजित भएपछि प्रधानमन्त्री ओलीले पुरानै नक्सा प्रयोगमा ल्याउन खोजेको पनि दाबी गरे । ‘नेकपा छँदै पार्टीको दबाबमा प्रधानमन्त्री ओली नयाँ नक्सा छाप्न बाध्य भएका हुन् । अहिले उनलाई त्यस्तो दबाब नभएपछि नक्सामा थपिएको भाग जानाजान हटाइएको हो’, उनले भने ।

उनले पदक लिनेहरुलाई राष्ट्रपतिको आँगनमा लगेर फिर्ता गर्न आग्रह पनि गरे । पदक फिर्ता गर्ने पत्रकार लक्ष्मी पुनलाई कार्यक्रममै धन्यवाद दिए ।

त्यस्तै,अनेरास्ववियुकी महासचिव आरती लामाले राष्ट्रियताको सवालमा जुनसुकै लडाई लड्न तयार रहेको बताइन् । ‘जबजब कालापानी,महेशपुर र सुस्ताको माटो दुखाउने काम हुन्छ, आरआरमा पढ्ने विद्यार्थीको मुटु दुख्छ । राष्ट्रियताको रक्षा गर्ने तिनै विद्यार्थीहरुले हो’, उनले भनिन् ।

२०७६ सालमै घोषणा गरिएका पदक कोरोनाका कारण अहिले वितरण गरिएको र त्यतिबेलै प्रिन्ट भैसकेकाले पुरानै नक्सा राखिएको सरकारको भनाइको अनेरास्ववियुका सचिव नरेश न्यौपानेले खण्डन गरे । ‘मुलुकमा भैरहेको संसद विघटन गरेर नयाँ निर्वाचनमा जाँदा खर्चको कुरा नहुने,पदकमा नक्सा हाल्दा यति सानो खर्च हुन्छ भन्नु बहानाबाजी हो’, उनले भने, ‘यस्तो भ्रष्ट सरकारले पदकमा खर्च जोगाउन पुरानै पदक बाँड्नु हास्यास्पद कुरा हो ।’

शुक्रबार वितरण गरिएको पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्सा नभई नेपालको पुरानै नक्सा राखिएको थियो । यसै विषयलाई लिएर आक्रोशित नेपालसम्बद्ध युवा संघ नेपालले पनि विरोध प्रदर्शन गरेको थियो ।

टिप्पणीहरू