प्रधानमन्त्रीलाई गिरीको जवाफ : दोश्रो पासा नफाल्नु

प्रधानमन्त्रीलाई गिरीको जवाफ : दोश्रो पासा नफाल्नु

फेरि संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको चेतावनीलाई लिएर संसद बैठकमा प्रश्न उठेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले दोश्रो पटक पनि संसद भंग गर्ने चेतावनी दिनुभएका प्रधानमन्त्री ओलीलाई दोस्रो पटक सकुनीको पासा नफ्याँक्न सुझाव दिनुभयो ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजिए ‘सकुनीका गोटी’ फ्याँक्ने बताउनुभएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि टिप्पणी गर्दै गिरीले संसद विघटनको बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले सकुनीले जस्तो दोश्रो पटक पासा फ्याकेर संसद विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझावसमेत दिनुभयो । ‘जालझेल गरेर सकुनीले दुई पटक पासा फ्याँकेका थिए । एकपटकको पासालाई द्रौपतिको प्रतिउत्तरले निरस्त्र गरेको थियो । दुबारा पासा फ्याँकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद विघटन गर्ने दिशामा कृपया नगईदिनोस्’, उहाँले भन्नुभयो ।

सांसद गिरीले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था आएको बताउँदै जुहारीबाट देश नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो संकट एकदिनमा आएको होइन, संकट क्रमश: आएका छन् । मुख्यतः प्रधानमन्त्रीका कारण आएका छन् । दिनप्रतिदिनको विवाद, दिन प्रतिदिनको भ्रष्टाचारको कथा हाम्रो संसदको भनाभन र जुहारीबाट हल हुँदैन । हामी जुहारीमा व्यस्त छौँ । किन हामी यहाँ आईपुग्यौ ? किन ४७ सालको संविधान असफल भयो ? अब हामी यसपटक अर्को बाटो जान चाहन्छौ भने को जिम्मेदार छ ? जिम्मेदार खोजिन्छ ।’

व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटीलाई व्यक्तिले सहि नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद नै भंग गरेको उहाँले टिप्पणी गर्नुभयो । अरुलाई दोषारोपण गर्नुभन्दा आफैभित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा गिरीले जोड दिनुभयो ।

‘म मेरै गोरुको बार्है टक्का भन्ने पक्षमा छैन । तर मलाई शंका छ, हाम्रा शीर्षस्थ मानिस, मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठीक छु, मेरा कुरा सबै तिमीहरुले मान’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले राजनीतिक असन्तुष्टीहरु थपिँदै जाँदा चरम राजनीतिक संकट देखापरेको टिप्पणी गर्नुभयो । अरुलाई दोषारोपण गर्नुभन्दा आफै भित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नयाँ संविधानलाई चुच्चे नक्सा तथा २०४७ सालको संविधान जस्तो नबनाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

टिप्पणीहरू