ललितपुरमा हाकिम दुई, कुर्सीमा बस्ने कोही न कोही

ललितपुरमा हाकिम दुई, कुर्सीमा बस्ने कोही न कोही

ललितपुर महानगरपालिकामा सोमबार दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेको देखिए पनि कुर्सीमा बस्ने एक जना पनि भएनन् । आज कुर्सीमा न मन्त्रालयबाट सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल बसे,न सरुवा भएका तर रमाना नलिइसकेका विष्णुप्रसाद कोइराला नै झुल्किए ।

महानगरपालिका स्रोतका अनुसार केही दिनअघि मात्र सरुवा भएका र आज कार्यालयमा आएका अर्याललाई स्वागत र दाङको तुलसीपुर सरुवा भएका विष्णुप्रसाद कोइरालाई विदाई गर्नुपर्ने थियो । तर,कोइराला बिहानैदेखि मोबाइल स्वीच अफ गरेर बसेपछि महानगरलाई आपत परेको छ ।

त्यसपछि १० बजे अगावै कार्यालय आइपुगेका नयाँ अधिकृत अर्यालले पनि मेयर चिरिबाबु महर्जनलाई भेटेर आफू बैशाख २ गते बिहीबारदेखि मात्रै हाजिर हुने जानकारी दिई हिँडेपछि हाकिमको कुर्सी पर्सिसम्म रित्तै भएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले सेवाग्राही मर्कामा परेको जिज्ञासा राख्दा अर्यालले “कोइराला अति नै मिल्ने साथी रहेको बताउँदै उहाँबाट यस्तो अपेक्षा नगरेको’ बताए ।

मेयर महर्जनले भने आज आफू महानगरपालिका नै नगएको बताए । अर्यालले भने मेयरलाई महानगरपालिकामै भेटेर कुरा गरी आफू फर्किएको बताएका छन् । मेयरले आफूले अर्याललाई भेट्दै नभेटेको दाबी गरेका छन् । जनआस्थाले अर्का प्रमुख प्रशासकीय अधिकृत कोइरालाको बारेमा सोधिएको जिज्ञासामा मेयरले आफू महत्वपूर्ण बैठकमा रहेको बताउँदै मोबाइल सम्पर्क विच्छेद गरे ।

तर,दुई जना प्रमुख प्रशासकीय अधिकृत हुँदासमेत ललितपुर महानगरमा भने बैशाख २ गतेसम्म हाकिमको कुर्सीमा बस्ने कोही नदेखिनु अनौठो भएको त्यहाँका कर्मचारीले बताएका छन् ।

स्रोतका अनुसार तुलसीपुर सरुवा गरिएका यसअघिका अधिकृत कोइराला सरुवा रोक्काको लागि बालुवाटार पुगेकाले मोबाइल अफ भएको हो ।

टिप्पणीहरू