पत्रकार महासंघको चुनाव : गठवन्धन निर्माणदेखि मतपरिणामसम्मका नालीबेली

पत्रकार महासंघको चुनाव : गठवन्धन निर्माणदेखि मतपरिणामसम्मका नालीबेली

नेपाल पत्रकार महासंघको २५ चैतमा सम्पन्न निर्वाचनमा कांग्रेससम्बद्ध प्रेस युनियनका विपुल पोखरेलले नेतृत्व गरेको प्यानलले देशभर वर्चस्व कायम गर्यो । महासंघको इतिहासमा पहिलोपटक केन्द्र,प्रदेश र जिल्ला नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनमा नेकपाको विभाजन र एमालेभित्रको अन्तरकलहको प्रत्यक्ष फाइदा प्रेस युनियनले उठाएको प्रष्ट छ ।

प्रतिनिधिसभा बिघटनपछि राजनीतिक ध्रुवीकरण बढेका बेला भएको चुनावलाई दलहरुले ठूलो प्रतिष्ठाको विषय बनाएका थिए । मिनी संसदीय निर्वाचनका रुपमा समेत चर्चा गरिएको महासंघको नेतृत्वमा एउटा वामपन्थीले अर्को वामपन्थी समर्थकलाई रोक्ने रणनीति अपनाएकै कारण नेतृत्व युनियनको पोल्टामा पुगेको विश्लेषण धेरैले गरेका छन् ।

चौतारीमा दशकसम्म अवसरबिहिन भोटो फटाएका उनलाई ओली सरकारले चैते, धुपौरेभन्दा तल राखेर पोहोर नायब सुब्बासरह प्रवल जनसेवाश्री पाँचौ तहको तक्मा दिएको थियो ।

गत संसदीय निर्वाचनमा एमाले र माओवादीबीच गठन्धन बनेकै कारण वामपन्थीहरुको झन्डै दुई तिहाइ मत आएको थियो । दुई वटा प्रमुख शक्तिको मिलन जता हुन्छ त्यतै परिणाम जाने दलीय निर्वाचनमा जस्तै स्थिति पत्रकार महासंघमा पनि छ । दुबै समूहको चौतारी र प्रेस संगठनको गरी महासंघमा झन्डै आठ हजार सदस्य रहेको बताइन्छ । मतदाता संख्याका हिसाबले प्रेस युनियन पहिलो संगठन भएपनि वामपन्थी मतदाता एकजुट हुँदा चुनाव जित्न उसका लागि असम्भवजस्तै थियो । तर,करिव ५ हजार सदस्य रहेको युनियनले वामपन्थीहरु विभाजन भएको मौकामा चौका हान्यो र महासंघमा एकछत्र कब्जा जमायो ।

यसचोटि प्रेस युनियन (कांग्रेस), प्रेस संगठन (माओवादी केन्द्र), प्रेस चौतारी (एमाले-माधव समूह) र प्रगतिशील पत्रकार संगठन (जनमोर्चा) सहितका ११ संगठनबीच भएको गठबन्धनसँग प्रतिस्पर्धा गर्न सरकारपक्षीय प्रेस चौतारीले पनि जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च र विप्लव नेकपासम्बद्ध पत्रकार अनि राप्रपासहित ९ संगठनसँग गठबन्धन गरेको थियो ।

सरकारपक्षीय प्यानलले तीन हजारको अन्तरमा चुनाव हारेको छ । उक्त गठबन्धनले केही जिल्ला अध्यक्ष र केन्द्रमा दुई सदस्य जिताएको छ ।
वामपन्थी समर्थकको किल्ला मानिएका कतिपय जिल्लामा पहिलो पटक बाजी मार्दा युनियनले देशभर ४३ जिल्लामा अध्यक्ष जित्यो । अधिकांश प्रदेशमा अध्यक्ष पाएको युनियनले केन्द्रमा पनि बहुमत पदाधिकारी हात पारेको छ ।

तारानाथ दाहाल नेतृत्वको फ्रिडम फोरम,साप फाल्चातिर यस किसिमको तयारीका सूचना चुहिन थालेपछि कांग्रेस नेतृत्वलाई चुनावनिम्ति २२ लाख जुटाइदिन तातो लाग्यो ।

मिलेर चुनाव लडेको भए अपबादबाहेक सबै ठाउँमा जित्ने अवस्था हुँदाहुँदै पनि वामपन्थी समर्थक संगठनहरु भने नराम्ररी पच्छारिएका छन् । सरकारपक्षीय चौतारीले तीन जिल्लामा अध्यक्ष जितेको बताइन्छ । अर्कोपक्षीय चौतारीले ९ जिल्लामा अध्यक्ष जित्दा प्रेस संगठनले पनि १०/१२ जिल्लामा अध्यक्ष जितेको बताइएको छ ।

यस्तो थियो स्थिति

निर्वाचन परिणामअनुसार गणेश बस्नेत नेतृत्वको चौतारीसँग करिव २७ सय मत देखिएको छ भने बाँकी २३ सय मत विश्वमणि नेतृत्वको चौतारीले पाएको छ । सरकारी प्यानलको चौतारीले गठबन्धन गरेको प्रेस मञ्चसँग देशभर सात सय र विप्लव नेकपाका पत्रकारहरु दुई सयको हाराहारीमा छन् । उक्त प्यानलबाट पराजित भएका उम्मेदवारमध्ये अध्यक्षकी प्रत्यासी निर्मला शर्माले पाएको ३९ सय १५ भोट सबैभन्दा बढी हो । लामो समयदेखि पत्रकार महिलाको पक्षमा काम गर्दै आएका कारण उनीसँग करिव ८–९ सय व्यक्तिगत मत रहेको बताइन्छ । तर,उनले पनि चार हजार मत पुर्याउन सकिनन् र तीन हजार २७ मतान्तरमा पराजित भएकी हुन् ।

निर्मलापछि बढी भोट ल्याउने सचिव (महिला) की उम्मेदवार निमा काफ्ले हुन् । चार हजार ८९ मत ल्याएकी उनलाई जित्ने सिर्जना अर्यालले ६ हजार पाँच सय ८०,अर्थात् २४ सय ९१ मतले पराजित गरिन् । सरकारी चौतारीको मत संख्यालाई वरिष्ठ उपाध्यक्षमा पराजित माधव नेपाल र महिला उपाध्यक्षमा पराजित दाना केसी (सुवेदी) को मतले पुष्टि गर्छ । चौतारीमा दशकसम्म अवसरबिहिन भोटो फटाएका उनलाई ओली सरकारले चैते, धुपौरेभन्दा तल राखेर पोहोर नायब सुब्बासरह प्रवल जनसेवाश्री पाँचौ तहको तक्मा दिएको थियो । त्यसमध्ये माधवसँग उपत्यकाभित्रका केही व्यक्तिगत मत थिए । उनले ३७ सय ८१ मत पाएका छन् ।

केन्द्रबाट व्यक्तिगत मत शून्यप्रायः अवस्थामा रहेकी दाना केसीले गठबन्धनको मात्रै मत पाएको विश्वास गर्ने हो भने उक्त गठनबन्धनमा जसपा (प्रेस मञ्च) को ६ सय र विप्लव पक्षको दुई सय मत जोड्दा सरकारी चौतारीको मत २७ सय २८ देखिन्छ । उनले कूल ३५ सय २८ मत ल्याएकी थिइन् । उनी विप्लवसम्बद्ध पत्रकार संगठनकी उम्मेदवार थिइन् । यदि यो तथ्यांक सही हो भने एमालेको माधव समूहको चौतारीसँग २३ सय मत पुष्टि हुन्छ । यद्यपि,उनीहरु आफूहरुसँग २६ सय मत भएको दावी गर्छन् ।

त्यस्तै मसालनिकट र दाङ्गबार समावेशी उपाध्यक्ष उदय जिएमले ६ हजार १ सय १७ मत पाएका छन् । प्रेस युनियनसँग देशभर चार हजार मतदाता छन् । त्यसमध्ये युनियनका २५ सय,चौतारी (विश्वमणि) का २ हजार,प्रेस संगठनका २२ सय र जनमोर्चा सम्बद्ध ३ सय पत्रकार मतदानमा सरिक भएको अनुमान छ । यो हिसाबले ७ हजार मतसहित विपुल पोखरेल प्यानल निर्वाचनमा सहभागी थियो । तर,७ हजार भोट कुनै पनि उम्मेदवारले पाएनन् । अर्थात्, गठबन्धनभित्रको समस्याका कारण क्रस भोटिङ हुँदा जित्ने उम्मेदवारले पनि प्यानलको सबै भोट पाएनन् । त्यसमाथि विश्वमणि नेतृत्वको चौतारीका केही मतदाताले गठबन्धनमा आफूहरुले नपाएका पदाधिकारीमा सरकारी चौतारीका उम्मेदवारलाई मतदान गरेको आशंका अन्य संगठनले गर्दै आएका छन् । उनीहरुमध्ये केही मतदाताले माधव नेपाल र बालकृष्ण बस्नेतलाई मतदान गरेको शंका गरिएको हो ।

आपसमै घात

दलीयस्तरमा भएको सहमतिअनुसार निर्माण भएको विपुल पोखरेलपक्षीय गठबन्धनभित्र अनेकौं आन्तरिक समस्या थिए । पहिला सरकारी प्रेस चौतारीसँग मिलेर चुनावमा जाने गरी प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल तयारी गरिरहेका थिए । उनीहरुको सहमतिअनुसार महासंघको अध्यक्षमा स्वयं बद्री सिग्देल र महासचिवमा सरकारी चौतारीका अध्यक्ष गणेश बस्नेत भन्ने थियो । त्यसो गर्दा युनियनका महासचिव अजयबाबु शिवाकोटी संगठनको अध्यक्ष बन्ने पक्कापक्की हुँदा उनी पनि यस्तो गठबन्धन बनाउन निक्कै सक्रिय भए ।

बद्री सिग्देलहरुको उठबस सरकारी चौतारीसँग बढेपछि अर्को चौतारीका नेताहरु विश्वमणि सुवेदी,नरेन्द्र साउद,राजेश राईहरु महेश्वर दाहालसहित प्रेस युनियनको अर्को समूहसँग वार्ता र सहमतिमा अग्रसर भइरहेको थियो । त्यो खेमाबाट अध्यक्षमा उठाइने उम्मेदवारमा विपुल पोखरेल, रामजी दाहालमध्ये एक थिए भने महासचिवमा रामप्रसाद दाहाल थिए । त्यही समूहले रमेश बिष्टलाई वरिष्ठ उपाध्यक्षका लागि तयार पारेको थियो । यस्तो गठबन्धनमा चौतारी र प्रेस संगठनले महिला उपाध्यक्ष, सचिवमा खुला,महिलासहित कोषाध्यक्ष पद पाउने गरी वार्ता अगाडि बढाएको थियो ।

तारानाथ दाहाल नेतृत्वको फ्रिडम फोरम,साप फाल्चातिर यस किसिमको तयारीका सूचना चुहिन थालेपछि कांग्रेस नेतृत्वलाई चुनावनिम्ति २२ लाख जुटाइदिन तातो लाग्यो । तीन कार्यकालदेखि गुमेको महासंघको विरासत फर्किने स्वर्णिम मौका कांग्रेसले गुमाउने खतरा देखेपछि पार्टीस्तरमा निर्णय गरेर ‘प्रतिगमनविरोधी मोर्चाको नेतृत्व गर्ने’ गरी प्रेस युनियन एकजुट भएको थियो । तर,बद्री सिग्देलहरु पार्टी निर्णयको बाध्यतामा परेर मुखमा आएको अध्यक्ष खोसिँदा पाइला पाइलामा असन्तुष्टि राख्दै अगाडि बढेको बताइन्छ ।

अफर खारेज

सरकारपक्षीय प्रेस चौतारीलाई एमालेको माधव नेपाल निकट प्रेस चौतारीले चुनावभन्दा केही साताअघि एउटा अफर पठायो । अफर थियो, ‘दुबै चौतारीसहित प्रेस संगठन पनि मिलेर चुनावमा जाने । शम्भु श्रेष्ठ,गगन बिष्ट, बालकृष्ण चापागाईं,ओम शर्मामध्ये अध्यक्ष स्वीकारेर जाने ।’ तर,सरकारी चौतारीले आफ्नै संगठनका पूर्वअध्यक्ष शम्भु,गगन, बालकृष्णलाई कुनै हालतमा नस्वीकार्ने जवाफ पठायो । यसपछि भनियो, ‘राजेन्द्र अर्याल, निर्मला शर्मा वा सरकारी चौतारीबाट दिइने अध्यक्षका उम्मेदवार पनि हामी स्वीकार्छौं,तर चुनावमा मिलेर जाऔँ ।’ तर, त्यताबाट यसमा पनि सकारात्मक जवाफ आएन । जब,कांग्रेसले विपुल पोखरेललाई अध्यक्षको साझा उम्मेदवार बनाएर अगाडि सार्यो र ११ संगठनबीच सम्झौता भयो,त्यसपछि सरकारी पक्षका चौतारीहरु माधव नेपाल समूहसँग भेट्न र कुरा गर्न अग्रसर भयो । तर, त्यो समूहले सरकारी समूहलाई त्यसपछि वास्ता गरेन ।

-हरि गजुरेलबाट

टिप्पणीहरू